१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुरु भयो १५ दिने ‘मैनी मेला’

क्याप्सनः मैनी मैलामा सजाइएको मनोरञ्जनमुलक सामग्रीहरु। तस्विरः महेश्वर

उदयपुरको कटारी नगरपालिकामा १५ दिने मैनी मेला आजबाट सुरु भएको छ। वर्षौँ पुरानो र ऐतिहासिक महिमा बोकेको उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित त्रिवेणीमा लाग्दै आएको मैनी मेला यसवर्ष पनि सुरु भएको हो।

उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।

‘मकर मेला’को रुपमा पनि परिचित त्रिवेणीमा आउने भक्तजनहरु कमला नदीको चिसो पानीमा नुहाएर पाठा, परेवा र हाँसको बलि दिएर पुजा आराधना गर्ने गर्दछन्। चिसो पानीमा नुहाएर बलि दिई पुजा गर्दा मनोकामना पुरा हुने जनविश्वास रहिआएको हुनोले यो ठाउँको धार्मिक महत्व उत्तिकै बढी छ। धार्मिकसँगै सांस्कृतिक, सामाजिक र व्यापारिक गतिबिधिका लागि पनि यो मेला प्रसिद्ध छ।

मेलामा मधेस, खोँच र पहाडी भेगका सर्वसाधारणको बाक्लो जमघट हुने गरेको हुनाले व्यापारिक दृष्टिकोणले पनि यसको महत्व उत्तिकै रहेको छ। मधेस प्रदेशको तराईसँग जोडिएको छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट पनि भक्तजन र व्यापारीहरु त्रिबेणी आउने गरेको स्थानीय व्यापारी सुशील श्रेष्ठले बताए। उनका अनुसार टाढाटाढाका भक्तजन र व्यापारीको बाक्लो आउजाउ हुने भएकाले मैनी मेला धार्मिक, पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ।

स्थानीय राजनीतिकर्मी केपी बरालका अनुसार पछिल्लो समय १५ दिन लाग्ने मेला नेकपा (माओवादी)को तत्कालीन जनयुद्धताका भने बन्द भएको थियो। माओवादीका केन्द्रीय सदस्यसमेत रहेका बरालका अनुसार तत्कालीन प्रशासनले असुरक्षाको कारण देखाउँदै मेला लगाउन रोक लगाएका कारण झण्डै १ दशक त्रिवेणी सुनसान थियो। तर, माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएसँगै मेला व्युँतिएर अहिले धार्मिक पर्यटन विकासमा योगदान गर्न थालेको बरालले बताए। स्थानीयतह पुनर्संरचनापछि बिगतमा भन्दा फरक र व्यवस्थित ढंगले मेला लाग्न थालेको पनि बरालले बताए।

पछिल्लो समय कटारी नगरपालिकाले व्यवस्थित, सुररक्षित र भव्य रुपमा सञ्चालन गर्न ‘त्रिवेणी मेला व्यवस्थापन समिति’ गठन गरेर जिम्मेवारी दिदै आएको छ। नगरपालिले नै गठन गर्ने समितिको रेखदेखमा ठेक्का प्रणालीमार्फत मेला सञ्चालनको जिम्मेबारी दिन थालिएको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। मेयर श्रेष्ठका यसवर्षको मेला सञ्चालन गर्न पौडेल निर्माण सेवा कटारीले ९ लाख ४० हजारमा जिम्मा लिएको छ।

मेला व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर बुढाथोकीले यसवर्ष २ सय ५० वटा स्टल बनाइएको तथा पुजा आराधनाका लागि त्रिवेणी नदीको घाट माथिदेखि तलसम्म खुल्ला गरिएको बताए। नगरपालिकाबाट स्वीकृति लिएर निर्माण गरिएको स्टलमा नुन, मसला, घरेलु कपडा, फेन्सी, खाद्यान्न, कृषि उपजदेखि सुनचाँदीसम्मको व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइएको छ। गतवर्षभन्दा यो मेलामा जनसहभागिता पनि बढ्ने अपेक्षा गरिएको समितिका सदस्य कृष्ण बुढाथोकीले बताए।

मेलालाई सुरक्षित र व्यवस्थित बनाउँदै भक्तजन र व्यापारी व्यवसायीलाई सहजीकरण गर्न प्रहरी बिट स्थापना गरी सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ। व्यापारिक स्टल, पुजा घाट निर्माण र सरसफाईका काम गरेर मेला सञ्चालनमा ल्याइएको अर्का सदस्य सानुभाइ कार्कीले बताए। उनका अनुसार भक्तजन पर्यटकहरुलाई पुजा आराधना र व्यापार व्यवसाय गर्न सहज बनाउने गरी मेला व्यवस्थित बनाइएको छ।

कटारी नगरपालिका २ का वडाध्यक्ष प्रेमबहादुर थापाले मेला व्यवस्थित र सुरक्षित रुपमा लगाउने व्यवस्था मिलाइएको बताएका छन्। विगतका वर्षहरुभन्दा सुरक्षित, सहज, सरसफाईयुक्त र व्यवस्थित तरिकाले मेला लाग्ने व्यवस्था मिलाइएकाले पर्यटक र भक्तजन आगन्तुकलाई सहज हुने वडाध्यक्ष थापाले बताए। सोमबार बिहान आयोजित कार्यक्रममा कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीमप्रसाद भट्टराईलगायतले मकर नुहाएर मेला उद्घाटन गरे। 

प्रकाशित: २ माघ २०८० ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App