१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आन्दोलनले गर्दा कार्यक्रममा हिँडेरै पुगे मन्त्री

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल एक सार्वजनिक कार्यक्रममा हिँडेर जाँदै। तस्बिर: नागरिक

तिन दिनदेखि भइरहेको आन्दोलनको असर कर्णाली प्रदेशमा देखिन थालेको छ। सरकारी सवारी साधन पूर्ण रुपमा बन्दसहितको आन्दोलनले कर्णाली प्रदेशका मन्त्रीहरु हिँडेरै कार्यक्रममा पुग्ने गरेका हुन्।

सोमबार सामाजिक मन्त्रालयका मन्त्री खड्क बहादुर पोखरेल हिँडेरै कार्यक्रमस्थल पुगेका छन्। सामाजिक विकास मन्त्री पोखरेल कर्णाली प्रदेश खेलकुद परिषद्को स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरेको तेस्रो वार्षिक उत्सव कार्यक्रममा सहभागी हुनका लागि मन्त्रालयबाट हिँडेर कार्यक्रम स्थल पुगेका हुन्।

सुर्खेतमा आन्दोलन भइरहेको र सरकारी गाडी चल्न नदिने भनेपछि म आफू हिँडेरै कार्यक्रमहरूमा जाने गरेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री पोखरेलले बताए। मन्त्री पोखरेल मात्रै होइन कर्णालीका अधिकांश मन्त्री र कर्मचारीहरू शुक्रवारदेखी सरकारी गाडी चढ्न सकेका छैनन्। उनीहरूको गाडी डियूटीमा खटिएका प्रहरीले अप्रिय घटना नहोस् भनेर सुरक्षा सावधानी अपनाउँदा चलेका छैनन्।

बन्दमा चलाएको भन्दै ठुला साना गरी ७७ वटाभन्दा बढी सरकारी गाडीहरू आन्दोलनकारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। आन्दोलन शान्तिपूर्ण भएकाले कर्णालीमा अप्रिय घटना घट्न पाएको छैन। मृतकका आफन्तहरूले सोमबार बिहानैदेखि सरकारी सवारी साधनहरू ठाउँ ठाउँमा बन्द गराएका छन्। जसका कारण कार्यालयमा हिँडेका कर्मचारीहरू बाटोमै रोकिनुपरेको छ। बिहान कार्यालय तर्फ आउँदै गर्दा बाटोमै मेरो सवारी नियन्त्रणमा लिएपछि सार्वजनिक गाडी चढेर कार्यालय आएको वीरेन्द्रनगर नगरपालिकाका एक कर्मचारीले बताए। त्यस्तै दैलेख बजार लगायतका कर्णालीका जिल्लाहरूमा युवाहरू सोमवार बिहानैदेखि आन्दोलन गरिरहेका छन्। दैलेख सुर्खेत सडक खण्डको ठाउँ ठाउँमा सडक अवरुद्ध पारिएको दैलेख प्रहरीले जनाएको छ। प्रहरीले सडक खुलाउने कार्य गरिरहेको जनाइएको छ।

सोमबार जिल्ला प्रशासन कार्यालय घेरा हालेर आन्दोलनकारीहरूले प्रदर्शन गरेका छन्। आन्दोलन संघर्ष समिति र युवा विद्रोह समूहले कर्णालिमा आन्दोलन जारी राखेको छ। शुक्रवार ललितपुरको बालकुमारीमा भएको आन्दोलनबाट दैलेख र अछाम गरी दुई जनाको मृत्यु भएपछि सुर्खेतमा सरकारी सवारी साधन बन्द गरिएको छ।

काठमाडौं बालकुमारीमा प्रदर्शनको क्रममा दुई युवक मारिएको घटनामा लिएर शनिवार र आइतबार सुर्खेत र दैलेखमा सरकारी गाडी चल्न लिइएको छैन। आन्दोलनको पहिलो निशाना सरकारी गाडी चल्न नदिने भएपछि सरकारी गाडीहरू जोखिम रहेका छन्। प्रहरी उचित सावधानीका कारण सरकारी गाडीमाथि कर्णालीमा क्षति हुन पाएको छैन। आन्दोलनमा प्रदर्शनकारीहरूले गृहमन्त्रीको राजीनामा, मृतकलाई सहिद घोषणा, परिवारका सदस्यलाई रोजगारीदेखि उचित क्षतीपूर्तीसमेत माग गर्दै आफन्तसहित युवाहरूले आन्दोलन गरेका हुन्। कर्णालीमा बन्दसहितका आन्दोलनहरू शान्तिपूर्ण रुपमा भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ९एसएसपी० वीरबहादुर ओलीले बताए।

प्रकाशित: १६ पुस २०८० १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App