२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

पाँचखाल औद्योगिक ग्राममा सम्झौता उलङ्घन भएकोमा एफवीनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले काभ्रेको पाँचखालमा शिलान्यास भएको महिला हरित औद्योगिक ग्रामको नेतृत्व आफूले पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरेको छ।

एफवीनका अध्यक्ष शोभा ज्ञवाली नेतृत्वको टोलीले आज प्रधानमन्त्रीलाई ‘महिला उद्यमी हरित औद्योगिक ग्राम’को बारेमा ध्यानाकर्षण पत्र बुझाउँदै नीति परिवर्तन गर्न आग्रह गरेका हुन्। सम्झौता उलङ्घन भएको भन्दै एफवीनले ध्यानाकर्षण गराएको हो।

२०७६ भाद्र २० गते पाँचखालमा महिला उद्यमी हरित औद्योगिक ग्राम बनाउनका लागि महिला उद्यमी महासङ्घले अग्रणी भूमिका खेलेर काभ्रे नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चको प्राविधिक सहकार्य गर्ने गरी त्रिपक्षीय सहमति भएको एफवीनले स्मरण गराएको छ। यो सम्झौतालाई बेवास्ता गर्दै पाँचखाल नगरपालिकाले दक्षिण एसियाली महिला विकास मञ्चसँगको सहकार्यमा मात्र औद्योगिक ग्राम शिलान्यास गरे पछि  सम्झौतालाई कार्यान्वयन गर्न माग गरेको हो।

दक्षिण एसियाली महिला विकास मञ्चले सम्झौता पत्रको उल्लङ्घन गर्दै प्राविधिक सहायता मात्र गर्ने पक्षले महिला उद्यमी महासङ्घबाट नेतृत्व भइरहेको कार्यमा महासङ्घलाई नै संलग्न नगराई अगाडि बढेको यो कार्य रोक्न एफवीनको माग छ।

एफवीनका अध्यक्ष ज्ञवालीले हस्ताक्षर गरी प्रधानमन्त्रीलाई बुझाएको पत्रमा आगामी दिनमा नीतिगत रूपमा पूर्ण रूपमा नै महिला उद्यमी महासङ्घको अग्रणी भूमिका रहने गरी उक्त हरित औद्योगिक ग्रामको नेतृत्व  गर्न पाउनुपर्ने माग अघि सारेको छ।

एफवीनले औद्योगिक ग्राम आफूले पाउनुपर्नेमा पाँच वटा तर्क अघि सारेको छ। विगत २० वर्षदेखि हरित महिला औद्योगिक ग्राम माग गर्दै आएकोमा सरकारले एफवीनलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको, महिला उद्यमी महासङ्घ नेपालले देशका ६१ जिल्लाहरूमा सञ्जाल विस्तार गरी देशभरका करिब ५ हजार २ सय ५० प्रत्यक्ष र करिब ५० हजार भन्दा बढी अप्रत्यक्ष उद्यमी महिलाहरूलाई आफ्नो छाताभित्र ल्याई उनीहरूका व्यावसायिक कार्यहरूमा सहयोग पु¥याउँदै आइरहेको जनाएको छ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिषंघ, एफएसिएआई, एफएचएएनमा आबद्ध महिलाहरु एफवीनमा आबद्ध रहेको, देशभरिको रोजगारीमा ७७ प्रतिशत योगदान रहेको साना तथा मझौला व्यवसायी महिलाहरूलाई सहयोग गरेको एफवीनको तर्क छ। स्थानीय स्रोत र साधन प्रयोग गरी  स्वदेशमै उत्पादित स्वदेशी बस्तुहरूको प्रदर्शन, प्रोफाईलिङ र बजारीकरणका गर्दै राज्यलाई आत्मनिर्भर बनाउन सहयोग गरेको जनाएको छ। 

महिला उद्यमी महासङ्घ नेपालमा कृषि, पर्यटन,हस्तकला, प्रविधि र सेवामुखी महिलाहरु आबद्ध रहेको, महिला उद्यमशीलता वृद्धि गर्नका निम्ति नीति नियम बनाउनका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुको पनि नेतृत्व महिला उद्यमी महासङ्घले गर्दै आएकाले पनि  हरित औद्योगिक ग्रामको नेतृत्व एफवीनले पाउनुपर्ने माग अघि सारेको हो।

महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै महिलालाई रोजगारी सिर्जना गर्न यो पार्क निर्माण अघि बढेको हो। सरकारले घोषणा गरेको औद्योगिक विकास ग्राम कार्यक्रमअन्तर्गत काभ्रेपलान्चोकको पाँचखालमा करिब एक अर्ब रुपैयाँको लगानीमा मुलुकमै पहिलो महिला औद्योगिक बनाउन लागिएको हो।

२०७६ फागुन २० गते पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ (एफविन) बीच सम्झौता कार्यान्वयनमा नआए पछि विवाद भएको हो।

महिला उद्यमी तयार गर्न काम गर्दै आएको एफवीनलाई राजनीतिक पहुँचको आधारमा बाहिर राखेर दक्षिण एसियाली महिला विकास मञ्चसँग साझेदारी गरेपछि एफवीनले असन्तुष्टि जनाउँदै आएको छ। स्रोतका अनुसार राजनीतिक पहुँच प्रयोग गरेर दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले एफवीनलाई बाहिर राखेर पार्क निर्माण कार्य अघि बढेको छ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेल मञ्चकी अध्यक्ष रिजालको बहिनी ज्वाइँ हुन्। खरेलले आफ्नो जेठी–सासुको योजनालाई साथ दिएर योजना अघि बढाएपछि विवाद भएको छ। महिलाहरूको उद्यमशीलता विकासमा सामूहिक प्रयत्न गर्नुपर्ने भए पनि रिजालले राजनीतिक पहुँच प्रयोग गरेको आरोप लागेको छ।

प्रकाशित: २९ मंसिर २०८० ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App