२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाईघाट-दिक्तेल सडकको प्रगति: ३० वर्षसम्म ३३ प्रतिशत

तीन दशकअघि सुरु भए पनि निर्माण सम्पन्न नभएको गाईघाट–दिक्तेल सडक। तस्बिर: महेश्वर

उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने गरी निर्माणाधीन गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तीन दशक बित्न लाग्दासम्म एकतिहाई अंश मात्र काम भएको छ।

२०५० सालमा उदयपुर सदरमुकाम गाईघाटमा आयोजना कार्यालय खोलेर थालिएको काम ३० वर्षसम्म ३३ प्रतिशतभन्दा बढी हुन नसक्नुले नेपालको विकासे कामको प्रतिनिधित्व गर्छ। 

लोकमार्गकाे काम ढिला हुनुको मुख्य कारण ठेकेदार हो भने सहायक कारणहरुमा बजेट अभाव र राज्यको लापरबाही रहेकाे छ।

गाईघाटस्थित त्रियुगा बसपार्कदेखि उदयपुरकै रौतामाई गाउँपालिका-५ र खोटाङको खोटेहाङ गाउँपालिका-३ फोक्सिन्टारस्थित सुनकोसी नदी छिचोलेर बन्दै गरेको सडक उदयपुरतर्फ ५३ र खोटाङतर्फ ५१ किलोमिटर लम्बाइको छ। तर, दिक्तेलदेखि महुरेसम्म ३ किलोमिटर पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कालोपत्रे भइसकेकाले फोक्सिन्टार–महुरेगढी अब ४८ किलोमिटरमा छोटिएर खोटाङतर्फ १ सय १ किलोमिटर मात्र छ।

कालोपत्रेसहितको सडक निर्माणको जिम्मा पाएका फरक-फरक ठेकेदार कम्पनीले समयमा काम नगरेकै कारण अहिलेसम्म लोकमार्ग बन्न नसकेको हो। उदयपुरतर्फ भने झण्डै ४५ प्रतिशत हाराहारी सडक निर्माण भईसके पनि खोटाङतर्फ भने सर्लक्कै बाँकी छ। अधिकतर भाग भने ग्राभेलसम्म स्तरोन्नति भए पनि बाक्लो सवारी आवागमनका कारण वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको छ।

उदयपुरतर्फ गाईघाटदेखि साउने, रानीबास हुँदै अँधेरी खोला नजिक ३१ किलोमिटर खण्ड भने सर्फेस ट्रेसिङ प्रविधिको कालोपत्रे भइसकेको छ। अँधेरीदेखि फोक्सिन्टार पुलसम्म कति पय स-साना खण्डमा भने ग्राभेल र स्तरोन्नतिका कामहरु भइरहेकाले यातायात आउजाउमा उति समस्या छैन।

त्रियुगा बसपार्क–साउने खण्डको गाईघाट आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्मको ३.१ किलोमिटरमा अघिल्लो आर्थिकवर्ष अस्फाल्ट प्रविधिको कालोपत्रे निर्माण सम्पन्न भइसकेको छ। चालु वर्ष पनि बरुवा पुलदेखि साउने खण्डको केही किलोमिटर सडक आवधिक मर्मत अन्तर्गत कालोपत्रे गर्ने गरी प्रक्रिया अघि बढेको योजना कार्यालयले जनाएको छ।

योजना प्रमुख (डिई) सञ्जिव मिश्रका अनुसार सडक निर्माणको काममा ढिलाइ हुनुको प्रमुख कारण ठेकेदार कम्पनीको लापरबाही हो। उदयपुर र खोटाङतर्फ कालोपत्रे सहितको काम गर्ने जिम्मा लिएका ठेकेदारहरुलाई काम ढिला गरेको भन्दै कारबाहीसमेत गरिसकिएको मिश्रले बताए।

तीन वर्षमा सक्ने गरी जिम्मा लिएको काम ५ वर्षसम्म पनि नगरेको भन्दै खोटाङतर्फ ४८ किलोमिटर खण्डको ठेकेदार भारत/सिद्धि शाही जेवी र देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवीको ठेक्का तोडिसकिएको छ।

भारत/सिद्धि शाहीले खोटाङको महुरेदेखि राजापानीसम्म २२ किलोमिटर खण्ड ४ वर्षभित्र कालोपत्रेसहित निर्माण गर्नेगरी २०७३ असार ३० गते ४१ करोड ५० लाख लागतमा सम्झौता गरेको थियो।

०७७ असार २९ गतेभित्र निर्माण सकेर हस्तान्तरण गर्ने जिम्मा लिएको कम्पनीले ४१ प्रतिशत काम गरेको तर, कालोपत्रेको काम सुरुसम्म नगरेको भन्दै ठेक्का तोडिएको डिई मिश्रले बताए।

त्यस्तै खोटाङतर्फकै राजापानी–फोक्सिन्टार खण्डको २६ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको अर्को ठेकेदार कम्पनी देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवीसँग पनि ठेक्का सम्झौता तोडिएको छ।

योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर नारायण थापाका अनुसार ४ वर्षभित्र अर्थात् ०७७ साउन ११ गतेसम्मा कालोपत्रेसहितको काम सकेर हस्तान्तरण गर्ने जिम्मा लिएको मैनाचुलीले ०७३ साउन ११ गते ५५ करोड ८७ लाखमा ठेक्का लिएको थियो। तर, पटक पटक म्याद थपेर काम गर्ने अवसर पाउँदा पनि ६० प्रतिशत हाराहारी मात्र भएको छ भने कालोपत्रेको काम सुरु नै हुन सकेको छैन।

यसरी दुवै ठेक्काको म्याद पटक पटक थप्दा पनि काम नभएपछि बाध्य भएर सडक विभागले ठेक्का तोडेको इन्जिनियर थापाले बताए। ठेक्का तोड्नुअघि दुवै कम्पनीलाई सचेत गराउँदै योजना सञ्चालन (मोबिलाईजेसन) बापत दिइएको रकम साँवा व्याजसहित फिर्ता गराइएको थियो। तर, त्यतीले पनि काम नभएपछि ठेक्कै तोड्नु परेको थापाले बताएका छन्।

सो खण्डको फोक्सिन्टारस्थित सुनकोसीको पुल निर्माण सुरु भएको ११ वर्षमा केही समयअघि पुरा भएको छ। पुल बनाउन ढिला हुँदा सो ठाउँमा बर्सेनि बेलिब्रीज जडान र पुनर्जडान गर्नु पर्दा राज्यको लाखौँ अतिरिक्त लगानी खर्च हुँदै आएको थियो भने पुल नभएकैले निर्माण सामग्री लान नसकेको कारण देखाउँदै ठेकेदार कम्पनीले सडकको काम ढिला गर्ने बहाना गर्ने मौका पाएका थिए।

गत वर्ष पुल बनेर सञ्चालनमा आएपछि पनि सडकको काम सुचारु नभएपछि ठेक्का तोड्न सहज भएको कार्यालयले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८० ०९:५१ मंगलबार

गाईघाट दिक्तेल सडक