२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राज्यलाई धान्ने विद्युत् कर्णालीबाट उत्पादन गर्न सकिन्छ: निर्देशक घिसिङ

राज्यलाई धान्न सक्ने विद्युत् कर्णालीमै उत्पादन गर्न सकिने सम्भावना रहेको नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताएका छन्।

१ सय ३२ केभि राष्ट्रिय प्रसारण लाइन विस्तारको अध्ययन तथा अवलोकन गर्न जुम्लामा पुगेका घिसिङले यस्तो बताएका हुन्।

उनले कर्णाली प्रदेश जल, जमिन र जडीबुटीको धनी प्रदेश भएको पनि बताए। उनले कर्णालीका सबै जिल्लामा विद्युतिकरण गर्ने सरकारको अभियान रहेको पनि बताए। ३३ केभिको विद्युत् भरपर्दो नभएकाले १ सय ३२ केभिको प्रसारण लाइन विस्तारमा प्राधिकरणको ध्यान केन्द्रित भएको उनको भनाइ छ।

नेपालगन्जको कोहोलपुर देखि कालिकोटको मान्मा सम्म ३३ केभिको लाइन पुगिसकेको उनले बताए। ११ केभिको लाइन जुम्ला हुँदै मुगुसम्म जोडिएको र हुम्ला जिल्ला प्रसारण लाइनमा भने जोडन बाँकी रहेको उनले बताए।

लामो दुरी भएकाले सुर्खेतमा प्राविधिक समस्या आउने बित्तिकै पुरै कर्णाली अँध्यारो हुने पनि उनको भनाइ छ। त्यसको अब छिटै समाधान हुने पनि उनले बताए।

कर्णालीका १० वटा जिल्ला मध्ये सुर्खेतमा ७९, सल्यानमा ७४, दैलेखमा ७३, जाजरकोटमा ३५, कालिकोटमा ६५, रुकुममा ९२, जुम्लामा ५० प्रतिशत विद्युतिकरण भएको भएको छ। यस्तै, डोल्पामा २५, हुम्लामा ३२ र मुगुमा ३० प्रतिशत गरी जम्मा कर्णालीमा प्रसारण लाइनबाट ६७ प्रतिशत विद्युतिकरण भएको घिसिङले स्पष्ट पारे।

कर्णालीमा विद्युतिकरणका लागि अहिले १३ अर्बको काम भइरहेको उनको भनाइ छ। त्यस मध्ये झण्डै २ अर्ब जतिको काम जुम्लामा मात्रै हुने उनले बताए। कोहोलोपुरदेखि दैलेखसम्मको करिब ६ अर्ब बराबरको काम विद्युत् प्राधिकरणले आफै गरी रहेको छ। दैलेखको चुप्रा देखि जुम्ला सम्मको ट्रान्समिसन लाइनका लागि ५ अर्बको अनुमान छ।  १३ अर्बको वितरण लाइन र अन्य गरी २५ अर्ब जतिको परियोजना कर्णालीमा चली रहेको निर्देशक घिसिङको भनाइ छ।

प्रकाशित: १३ मंसिर २०८० १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App