१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रम गन्तव्यमा युएई पहिलो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४९२ युवा श्रमका लागि युएई पुगेका छन्। यसमा ७ हजार १५ महिला र ३० हजार ४७७ पुरुष छन्।

वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्यांकले देखाएको छ। यस तथ्यांकमा श्रम स्वीकृति नलिएका महिलाको गणना छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन्।

अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशमध्ये एक हो। यसको तीव्र रूपमा बढेको आर्थिक गतिविधिले नेपालीलाई श्रमका निम्ति स्वागत गर्ने गरेको छ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार युएई एसियाली र अफ्रिकी नागरिकहरूका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो। ‘युएईमा विदेशी कामदारमध्ये सबैभन्दा धेरै भारतीय छन्,’ उप्रेतीले भने, ‘त्यसपछि पाकिस्तानी, बंगलादेशी, फिलिपिनो, इरानी, इजिप्टियन, नेपाली, श्रीलंकाली र चिनियाँ छन्। धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। त्यही विविधताले उनीहरूलाई त्यहाँ पु¥याउने गरेको छ।’

नेपाली महिलाहरू कारखाना, सरसफाइ र घरेलु कामदारका रूपमा युएई जाने गरेका छन्। महिलाहरू म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा पनि विदेश जाने गरेको उप्रेती बताउँछन्। ‘बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकका लागि युएई पहिलो रोजाइ बनेको छ,’ उनले भने, ‘युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्य पूर्वको व्यापार केन्द्र पनि हो। त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेका छन्। दुबईमा उच्च जनसंख्या वृद्धिदरका लागि धेरै कारक छन्, तीमध्ये सबैभन्दा महत्वपूर्ण विश्वव्यापी दृष्टिकोण हो। जसका कारण धेरै विदेशी नागरिक यस क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको छ।’

उनले थपे, ‘पर्यटकीय हिसाबले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ। युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवामा सन्तुष्टि पाउने गरेका छौं। नेपालीले चाहेअनुसारको काम युएईमा पाइन्छ। त्यहाँका कम्पनीहरू श्रमिकले चाहेअनुसारका छन्। युएईबाट प्रायः नेपालीको युरोप छिर्ने ठुलो उद्देश्य समेत हुन्छ।’

वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकलाई मध्यनजर गर्दै आफ्नो परिवारसहित नेपाली युवा युएई जाने गरेका छन्।

राजनीतिक र आर्थिक स्थिरताका कारण तुलनात्मक रूपमा विश्वभरका लगानीकर्ताहरूले युएईमा व्यापार खोल्न सस्तो र दिगो ठान्ने गरेको विभागका सूचना अधिकारी उप्रेतीले बताए। ‘स्वतन्त्र राष्ट्र बनेदेखि युएईले लाखौं आप्रवासीलाई आश्रय दिएको छ। युएईले तेल र पूर्वाधार गतिविधि सञ्चालन गर्दा रोजगारी र लगानीका अवसरको खोजीमा रहेका नेपालीले युएईलाई प्रमुख गन्तव्य मानेका छन्,’ उप्रेतीले भने।

यकिन तथ्यांक उपलब्ध नभए पनि भारत, पाकिस्तान, बंगलादेश, नेपाल, अफगानिस्तान, फिलिपिन्स र केही अफ्रिकी देशहरूबाट हजारौं मानिस हरेक महिना रोजगारीको खोजीमा युएई जाने गरेका उनले बताए। ‘नेपाली आप्रवासीले काम गर्न र बस्न रोज्ने पाँच प्रमुख गन्तव्य देशमध्ये युएई एक हो,’ उनले भने, ‘अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्यका रूपमा रहेको छ।

सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको यहाँ ठुलो माग छ। नेपालले यो देशमा अर्धदक्ष र दक्ष जनशक्तिलाई तालिम दिएर पठाउने हो भने धेरै फाइदा लिन सकिन्छ।’

नेपाली भन्नेबित्तिकै राम्रो काम गर्ने, लगनशील, इमानदार र उत्कृष्ट प्रदर्शन गर्ने भनेर हरेक देशमा चिनिने गरेका विभागका सूचना अधिकारी उपे्रतीको भनाइ छ। ‘तर पछिल्लो समय नेपालीहरू मादक पदार्थ र दुर्व्यसनका कारण समयमा ड्युटी नजाने, जिम्मेवारीपूर्वक काम नगर्ने र मोबाइल बन्द गरेर बस्ने आदि कारणले धेरै विस्थापित पनि भइरहेका छन्,’ उनले भने, ‘युएईलाई पहिलो गन्तव्य मुलुक बनाउँदै त्यहाँको केही वर्षको बसाइपछि थप अवसरका लागि साथै बढ्दो आर्थिक लाभ र गतिलो गन्तव्य खोज्दै युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा रोजगार स्थानान्तरण तथा पलायन भइरहेको अवस्था पनि छ।’

आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिई १ लाख १६ हजार १५९ जना युएई पुगेका थिए। जसमध्ये श्रम स्वीकृति लिनेमा २४ हजार महिला र ९२ हजार ६८ पुरुष छन्।

सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि अधिकांश महिला सीपविहीन अवस्थामा विदेश पुग्ने गरेको उप्रेतीले बताए। युएईमा एक अवधि काम गरेर स्वदेश फर्किएकाहरू राम्रो अवसर भएकाले फेरि युएई फर्किने गरेका उनले बताए।

 ‘थोरैका लागि मात्रै वैदेशिक रोजगार युएई रहर हुन सक्छ तर धेरैका लागि त यो बाध्यता नै भएको छ,’ उप्रेतीले भने, ‘सबैभन्दा बढी नेपाली मधेसबाट बिदेसिएका छन्। मधेसका युवा गाउँका एजेन्टका भरमा विदेश जान्छन्। कतिपय म्यानपावरद्वारा गएका हुन्छन्। युएईमा नेपाली युवा राम्रो कम्पनीमा पर्ने गरेका हुन्छन् भने कतिपय नराम्रोमा पनि पर्नेगरेका छन्,’ उनी भन्छन्, ‘अहिले युवाहरूको प्रमुख गन्तव्य मुलुक युएई, साउदी अरेबिया, कतार, मलेसियाजस्ता देश छन्।’

वैदेशिक रोजगारीका लागि नेपाली महिलाहरू सबैभन्दा धेरै खाडी मुलुक जाने गरेको विभागका अधिकारीहरूले बताए।

‘समग्रमा विदेश जाने महिलाको संख्या बढेसँगै युएई जानेको संख्या पनि उकालो लागेको छ। नेपालबाट महिलाहरूलाई रोजगारीका लागि विदेश जान सबै मुलुकमा भने खुला छैन। महिलाहरू अवैध बाटोबाट पनि विदेश जाने गरेका छन्,’ उप्रेतीले भने। नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीका लागि बन्देज लगाइएका देशमा पनि काम गर्न भनेर जाने गरेको सरकारी अधिकारीहरू बताउँछन्।

प्रकाशित: २ मंसिर २०८० ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App