५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान

बराम्ची (सिन्धुपाल्चोक)- मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए । त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन् । राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो । आपसमा अबिर टीका र खादा पहि¥याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे ।

एकै डिजाइनका भुइँतले घरहरूले गाउँमा एकरूपता ल्याएको देख्न सकिन्छ । परिवार संख्याअनुसार दुईतीन कोठाका घर छन् । धेरै दुईकोठे छन् ।

न बिहे, व्रतबन्ध, न चाडपर्व, तैपनि तामाङ समुदाय बाहुल्य यो गाउँ आइतबार दिनभर सामूहिक भोजन र नाचगानमा झुम्यो । गाउँलेले खुसीयाली मनाउनुको खास कारण रहेछ, स्थानीय सक्रियतामा भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्नु । ‘हो हामीले गाउँ ठड्यायौं,’ मासु परिकार लुछ्दै ७० वर्षीया माया तामाङले भनिन्, ‘मेरा तीनभाइ छोराले घर बनाए । अरू सबै छरछिमेकीले समेत आफ्ना घर बनाई भ्याए ।’
भूकम्पले ढालेका साबिक बराम्ची–५ र ६ का सबै घर एकसाथ पुनर्निर्माण भएको अवसरमा भोज आयोजना गरेर गाउँलेले खुसी साटेका हुन् । स्थानीय सिंहलाल तामाङले साबिक दुइटा वडामा व्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न भएको बताए ।
उनका अनुसार यहाँ १ सय ४२ घर बनेका छन् । भूकम्पले तत्कालीन वडा नं. ५ मा ७५ र ६ मा ६७ घर ढालेको थियो । ‘अघिकांश गाउँले नयाँ घरमा छिरिसके,’ उनले भने, ‘केही घरमा मात्र रंगरोगनको काम भइरहेको छ ।’ एक वर्षअघि गाउँलेले आलोपालोमा घर बनाउने अभियान थालेका थिए ।
भूकम्पप्रतिरोधी घरहरू साना भए पनि आकर्षक छन् । नीलो, रातो जस्तापाताको छानो छाइएका घरहरूमा रंगरोगनले चिटिक्क पार्दा गाउँ नै रंगीन बनेको छ । प्रविधि अपनाई भत्केका घरका ढुंगामाटो, काठपात र स्थानीय सामग्री प्रयोग गरेर बनाइएका अधिकांश घरहरू सस्तोमै निर्माण भएका छन् । इँटा र सिमेन्ट जोडाइएका घरको लागत भने केही बढी रहेको स्थानीय बताउँछन् ।
आर्थिक तथा प्राविधिक सहयोग दिएर गाउँ पुनर्निर्माणको नेतृत्व लुथ्रन वल्र्ड फेडेरेसन र स्थानीय साझेदार संस्था ग्रामीण महिला सिर्जनशील परिवारले गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने ३ लाख रुपैयाँसहित प्राविधिक सहयोगसमेत उपलब्ध गराउने सम्झौता गरेर लुथ्रन र सिर्जनशील परिवार गाउँ आउँदा स्थानीयमा घर बनाउने कुनै सुरसार थिएन । आर्थिक अवस्था कमजोर भएका स्थानीय घर बनाउने तालिम प्राप्त कामदार नहुँदा अलमलमा थिए ।
सिर्जनशील परिवारले गाउँका २५ जनालाई डकर्मी तालिम दिएर अर्धदक्ष बनायो । लुथ्रनले तीन किस्तामा अनुदान दिने भएपछि गाउँले भत्किएको घर ठड्याउन कस्सिए । २०७३ असोज १ बाट आलोपालोमा घर बनाउन थालेका स्थानीयले १४ महिनामै सिंगो गाउँको पुनर्निर्माण सकेका हुन् ।
‘संस्थाले घच्घचाइरहे, हामी काममा जोतिइरह्यौं,’ स्थानीय पासाङ लामाले भने, ‘हेर्दाहेर्दै भत्किएका घरहरू ठडिए ।’ उनका अनुसार स्थानीय सामग्री प्रयोग गरेर आलोपालोमा काम गर्दा सस्तोमै घर बनेका छन् । धेरैले अनुदानमा आएको ३ लाख रुपैयाँबाटै घर बनाउन सकेका छन् । इँटा र सिमेन्ट जोडाइका घरसमेत ६ लाख रुपैयाँमै बनेको उनले बताए ।
एकै डिजाइनका भुइँतले घरहरूले गाउँमा एकरूपता ल्याएको देख्न सकिन्छ । परिवार संख्याअनुसार दुईतीन कोठाका घर छन् । धेरै दुईकोठे छन् । सहयोगी संस्थाले प्राविधिकसमेत दिएर काम गराउँदा पीडितले अनुदान किस्ता निकासामा प्रशासनिक झन्झट बेहोर्नु परेन ।
    ‘सोही कारण समयमै किस्ता निकासा हुँदा पुनर्निर्माणले तीव्रता पायो,’ सिर्जनशील परिवारकी कार्यकारी निर्देशक नानीमैयाँ थापाले भनिन् । उनका अनुसार अनुदानबाहेकको खर्च पीडितले नै बेहोरेका छन् । लुथ्रनले पुनर्निर्माणमा सरकारी अनुदानबराबर लाभग्राहीलाई ३ लाखका दरले ४ करोड २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थापाले जानकारी दिइन् । सबै लाभग्राहीले तेस्रो किस्ता पाइसकेका छन् ।
    पुनर्निर्माण सकेपछि गाउँका सबै एक ठाउँमा भेला भएर भोजभतेर र नाचगान गरेर खुसीयाली बनाउने गाउँलेको निर्णय थियो । सामूहिक भोजनका लागि घरधुरी ५ सय रुपैयाँ उठाएर उनीहरूले खुसीयालीलाई उत्सवकै रूपमा बनाए । गाउँलेको उत्साहमा साथ दिन सहयोगी संस्थाका अधिकारी गाउँमै आएका थिए । स्थानीयले उनीहरूलाई फूलमाला र खादाले सम्मान गर्दै अविस्मरणीय बिदाइसमेत गरे ।
    भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा साबिक वडा पुर्नर्निर्माण सम्पन्न भएको यो पहिलो गाउँ हो । यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले मेलम्ची नगरपालिकामा गिरानचौर एकीकृत नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित: ४ पुस २०७४ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App