चर्चित अंग्रेजी भनाइ छ-कुनै पनि जोडीको विवाह स्वर्गमै तय हुन्छ। तर अबदेखि विवाहको निश्चय नेपालमा हुनेछ। नेपाललाई विवाह गन्तव्य बनाउने पूर्वाधार तयार भइसकेको छ।
सपनाको राजकुमार वा राजकुमारीलाई विपनामै पाएर रम्दै संसार चहार्न स्थान, परम्परा र संस्कृति तपाईंका लागि सहयोगी हुन सक्छ। विवाह गर्ने कुन परम्परा, संस्कृति र स्थानले तपाईंलाई आकर्षित गरेको छ? अथवा विवाह गरिने स्थान र क्षणलाई स्मरणीय बनाउन तपाईं के गर्दै हुनुहुन्छ? अब नेपालको ‘डेस्टिनेसन वेडिङ’ अर्थात् ‘विवाह गन्तव्य’ यसको विकल्प हुन सक्छ। सेलिब्रेटी, उच्च घरानिया, युवामा विवाह कुन ठाउँमा र कुन संस्कृतिअनुसार गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ। थुप्रै जोडीले यसबारे रुचि राखेको पाइन्छ। उनीहरूमा विवाह गर्ने स्थान छनोट गर्नेबारे विशेष चासो देखिन्छ। यसैलाई ‘डेस्टिनेसन वेडिङ’ भनेर बुझिन्छ।
यस्ता वैवाहिक गन्तव्यमा भारतको जयपुर (संस्कृतिको खानी), जोधपुर (मरुभूमिको सहर), हैदराबाद (पर्लको सहर), केरला (भगवान्को सहर), आग्रा (मायाको सहर), ऋषिकेश (आध्यात्मिक सहर), गोवा (मनोरञ्जनको सहर) लगायतका स्थान विश्वव्यापी रूपमा चर्चित छन्।
विश्वको सबैभन्दा महँगो विवाह भनेर मानिएको भानिसा मित्तल र अमित भाटियाको ‘डेस्टिनेसन वेडिङ’ फ्रान्सको प्यालेस अफ भर्साइल्स थियो। यस्तै इटाली, थाइल्यान्ड, हवाई, ग्रिस, बाहामास लगायत सहर पनि संसारकै सुन्दर ‘डेस्टिनेसन वेडिङ’ का रूपमा चिनिन्छन्।
पछिल्लो समय नेपाल पनि ‘डेस्टिनेसन वेडिङ’ का लागि छनोट हुन थालेको छ। केही समयअघि पाटन संग्रहालयमा भारतीय टिभी अभिनेत्री दिलजित कौरको विवाह प्रस्ताव समारोह भएको थियो। जुन निकै गुपचुप ढंगले सम्पन्न भएको थियो।
यस्तै उच्च हिमाली क्षेत्रअन्तर्गत पर्ने सगरमाथा आधार शिविरमा पनि धेरै विदेशी जोडीले विवाह गरेका छन्। भारतको पन्जाबबाट आएका उच्च घरानाका जोडीले ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा विवाह समारोह आयोजना गरेका थिए।
विदेशमा बस्ने नेपाली मूलका प्रायः धेरैले ‘डेस्टिनेसन वेडिङ’ गरेको वेडिङ ड्रिम्स नेपालकी सुजाता ढुंगेलले बताइन्। उनका अनुसार जीवनको सबैभन्दा महत्वपूर्ण समारोह भएकाले पनि अहिलेका मानिसले विवाहलाई प्राथमिकतामा राखेर ‘डेस्टिनेसन वेडिङ’ मार्फत रमाइरहेको बताइन्।
‘डेस्टिनेसन वेडिङ’ का लागि जोडीहरूले राम्रो लोकेसन, सजावट, ड्रेस कोड, फोटो तथा भिडियो आदि अपेक्षा गर्ने बताउँदै उनले हाल विवाह गर्न आएकामध्ये २० प्रतिशतले ‘डेस्टिनेसन वेडिङ’ का माग गरेको बताइन्।
नेपालका काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन, लुम्बिनी, जनकपुर लगायतका सहर ‘डेस्टिनेसन वेडिङ’ बन्दै गएका छन्।
पछिल्लो समय उच्च हिमाली क्षेत्र सगरमाथा आधार शिविर पनि ‘डेस्टिनेसन वेडिङ’ बन्दै गएको छ।
वातावरणीय, आध्यात्मिक, प्राकृतिक सुन्दरता लगायत विषेशताले धनी भएकाले नेपाल पनि ‘डेस्टिनेसन वेडिङ’ मा पर्दै आएको छ। बहुसंस्कृति, परम्परा मूल्यमान्यता, विभिन्न परिकार परम्परा लगायतले नेपाललाई ‘डेस्टिनेसन वेडिङ’ का रूपमा छनोट गर्न थालिएको छ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल ‘डेस्टिनेसन वेडिङ’ का लागि राम्रो सम्भावना भएको मुलुक भएको बताए। पछिल्लो समय आफ्नो सहर र देशभन्दा अर्को सहर र देशमा गएर विवाह गर्ने प्रचलन बढेको उनले बताए। उनका अनुसार नेपाल वातावरणीय, धार्मिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक रूपले समृद्ध भएको हुँदा ‘डेस्टिनेसन वेडिङ’ बन्दै गएको छ।
उनी भन्छन्, ‘हामीसँग डेस्टिनेसन वेडिङलाई चाहिने सबैखाले पूर्वाधार छन्। सांस्कृतिक, प्राकृतिक र भौतिक सबै प्रकारका सेवा सुविधा उपलब्ध छन्। नेपालमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा तुलनात्मक रूपमा सजिलो र सस्तो पनि छ।’
उनले भारतीयका लागि नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ बनाउन तुलनात्मक रूपमा सजिलो भएको बताउँदै भने, ‘खानापिन होस्, वा संस्कृति भारतसँग हाम्रा धेरै कुरा मिल्छन्। भारतीयको वैवाहिक गन्तव्य नेपालमा बनाउन सके त्यसले पर्यटन विकास पनि सघाउँछ।’
बोर्डले मुलुकलाई विवाह गन्तव्यका रूपमा स्थापित गराउन आवश्यक पहल गरिरहेको निर्देशक लामिछानेले बताए।
होटेल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालका होटेलहरू विभिन्न खालका ‘मेघा इभेन्ट’ गर्न सक्षम रहेको बताए। ‘डेस्टिनेसन वेडिङ’ का लागि नेपालमा प्रशस्त सम्भावना भएको बताउँदै उनी भन्छन्, ‘हामी पूर्णरूपमा तयार छौं। पाहुनाले माग गर्ने जुनसुकै स्तरको सेवा सुविधा दिन हामी सक्षम छौं।’
वैवाहिक समारोहको सौन्दर्य वृद्धि गर्न हरेक दृष्टिले हामी समृद्ध र सक्षम भएको हुँदा अपेक्षित सहयोग गर्न हान तयार रहेको उनले बताए।
उनले ‘डेस्टिनेसन वेडिङ’ अहिलेको नयाँ लहर भएका कारण छिमेकी मुलुक भारतबाट केही वर्षमा धेरै कार्यक्रम पाउन सक्ने बताए। नेपाल नीतिगत, भौतिक तथा कानुनी संरचना लगायत सम्पूर्ण दृष्टिले पूर्ण रूपमा तयार भएको बताउँदै उनले ‘वैवाहिक पर्यटन’ उकास्न सहज नीति लिनुपर्नेमा जोड दिए। कला, संस्कृति, खानपान, भूवनोट लगायतका कारण नेपालले ‘डेस्टिनेसन वेडिङ’ का रूपमा फड्को मार्न सक्ने सम्भावना प्रशस्त रहेको उनको बुझाइ छ।
यही कुरालाई मनन गर्दै पहिलोपटक काठमाडौंमा यही कात्तिक १७ र १८ गते ‘इन्डो नेपाल वेडिङ समिट २०२३’ सम्पन्न भएको छ। सम्मेलनमा नेपाल पनि ‘डेस्टिनेसन वेडिङ’ का पर्याप्त सम्भावना बोकेको मुुलुक भएको धारणा सहभागीले राखेका थिए।
विवाहलाई पर्यटनसँग सम्बन्धित उद्योगका रूपमा पुनः परिभाषित गर्ने र नेपाललाई एक प्रमुख वैवाहिक गन्तव्य स्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ भएको समिटमा भारतका शीर्ष ३० भन्दा बढी ‘वेडिङ विजनेस प्लानर’ को सहभागिता थियो।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विदेशीले नेपालमा गर्ने विवाह गर्न चाहे विभागबाट गर्नुपर्ने सहजीकरणका लागि आफू तयार रहेको बताए।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले सुन तथा अन्य सामग्री ल्याउन, लैजान छुट्टै प्रावधान रहेको जनाउँदै आवश्यक सहजीकरण गर्न सकिने बताएका थिए।
नेपाललाई विवाह गन्तव्य बनाउन सके अर्को फाइदा पनि छ-भविष्यमा तिनका सन्तानले आफ्ना मातापिताको विवाह भएको सुन्दर देश नेपालसँग भावनात्मक साइनो राखिरहने छन्।
प्रकाशित: २६ कार्तिक २०८० ०१:२१ आइतबार