५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा लागू औषध नियन्त्रण गर्न ‘एमडिआई’ अभियान

पत्रकार सम्मेलनमा जानकारी दिदै एसपी थापालगायत प्रहरी अधिकृत । तस्विरः महेश्वर

बढ्दो लागुऔषध नियन्त्रणका लागि उदयपुर प्रहरीले मिसन ड्रग्स इन्टरसेप्सन (एमडिआई) अभियान सञ्चालन गरेको छ । यो अभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ पर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रमेश थापाले उदयपुरमा लागूऔषध कारोबार धेरै हुने गरेको पाइएको तर, मुख्य दोषीहरु उम्कने गरेका कारण उनीहरुलाई पनि पक्राउ गर्ने लक्ष्यका साथ एमडिआई अभियान थालिएको बताए। जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी एसपी थापाले जानकारी दिए अनुसार एमडिआई अभियान चलाउन थालेपछि लागूऔषधका अपराधी भकाभक पक्राउ पर्न थालेका छन्।उनका अनुसार स्थानीयदेखि विदेशीसम्मका लागूऔषधमा संलग्नहरु यो अभियानले नियन्त्रणमा लिन थालेको छ।

जस अनुसार छिमेकी मुलुक भारतदेखि नेपाल भित्र्याउदै गरेको अवस्थामा, भित्र्याई सकेपछि बिक्री बितरण गरिरहेको अवस्थामा अपराधी नियन्त्रणमा आउन थालेको एसपी थापाले बताए। पत्रकार सम्मेलनमा सदरमुकाम गाईघाटलगायत सहर बजारदेखि गाउँघरका कुनाकाप्चासम्मका लागूऔषध ओसारपसारकर्ता, प्रयोगकर्ता व्यवसायी, बिचौलीया र डिलरवालाहरु  यो अभियानले नियन्त्रणमा पर्न थालेको उनले बताए।

यसरी भकाभक समातिन थालेपछि अन्य कारोबारीहरुले पछिल्लो समय फरक शैली अपनाउन थालेको पनि एसपी थापाले बताए । पछिल्लो पटक गएको मंगलबार राति मात्र भारतीय नम्बरप्लेटको स्कारपियोमा प्रतिबन्धित लागुऔषध व्राउनसुगर बिक्री गर्न ल्याउने २ जना भारतीय नागरिकहरु पक्राउ परेका छन्। ती भारतीय नागरिकहरु काठमाण्डौँमा लागूऔषध विक्री गरेर बाँकी रहेको गाईघाटमा बिक्री गर्ने उदेश्यले आएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी थापाले बताए।

रातिको समयमा विआर ११ पीवि १३५५ नंबरको स्कारपियो त्रियुगा नगरपालिका १० कालीखोला नजिकै रोकिराखेको अवस्थामा फेला पारी चेकजाँच गर्दा २९ ग्राम लागुऔषध ब्राउनसुगर फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार जीपको गेयरबक्सभित्र लुकाएर राखेको अवस्थामा कालो प्लास्टीकको झोलाभित्र भेटिएको लागूऔषसहित १ लाख ५४ हजार नगदसमेत बरामद भएको छ । त्यसैगरी ब्राउनसुगर जोख्ने सानो डिजिटल तराजु १ थान र मोवाईल २ थानसहित भारतको बिहार राज्य सुपौल जिल्ला, भिमनगरथाना ८ का २७ वर्षीय  जसबिनकुमार मण्डल र वीररपुर थाना १२ का २७ वर्षीय सन्तोषकुमार महतो पक्राउ परेको डिएसपी चौधरीले बताए।

उनीहरुलाई जीप र बरामद सामानसहित पक्राउ गरी अदालतबाट १५ दिनको म्याद थपेर अनुसन्धान भईरहेको बताइएको छ । अनुसन्धानको क्रममा १ सय ७१ ग्राम काठमाडौँमा विक्री भएर बाँकी २९ ग्राम गाईघाटमा बिक्री गर्ने तयारी गर्दैगरेको विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिइयो। पत्रकार सम्मेलनमा मलद्वारभित्र लुकाएर लागूऔषध ओसारपसार गर्नेहरु पनि पक्राउ पर्ने गरेको जानकारी दिइयो।जस अनुसार गत बुधबार मात्र उदयपुरकै चौदण्डीगढी नगरपालिका ९ भिमास्थित मोहोरिया चौकबाट २ वटा प्लास्टिकमा व्राउनसुगर ८१ ग्रामसहित १ भारतीय नागरिकसहित २ जना पक्राउ परेका छन् । लागूऔषध मलद्वारभित्र लुकाएर ल्याउदै गरेको अवस्थामा भारतको विहार राज्य सुपौल जिल्ला भिमनगरथाना वडा १२ का मोटरपार्टस व्यवसायी ४८ वर्षीय प्रमोद गुप्ता र सुनसरीको इनरुवा नगरपालिका ६ का कवाडी सामान व्यवसायी ४५ वर्षीय सलिम मियाँ रहेको जानकारी डिएसपी चौधरीले दिए।

प्रहरीले उनीहरुलाई को  २८ प ४९६८ नम्बरको मोटरसाईकलबाट गाउँगाउँमा लागुऔषध विक्रीका लागि डुलिहिड्दै गरेको अवस्थामा पक्राउ परेको जानकारी उनले दिए । गुप्ता कोसी प्रदेशभरी र देशका अन्य सहरहरुमा लागूऔषध सप्लाई गर्ने डिरलवाला रहेको र मिँया उनलाई व्यापार गर्न प्रोत्साहन गर्ने सहयोगी रहेको अनुसन्धानबाट खुलेको उनले बताए । उनीहरुलाई २ साताको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसँग अनुसन्धान गर्दा धेरैजसोले चिनेका ग्राहक र पुरानो दुव्र्यसनीसँग डिल गर्ने, भारतीय नम्बरको ह्वाटसएपबाट कुरा गर्ने, नगद रकम पहिले नै भुक्तानी लिने, विश्वस्त नभए कारोबार नगर्ने गरेको खुलेको एसपी थापाले बताए।

उनीहरुले ब्राउनसुगर भारतमा प्रतिग्राम भारतीय रुपैँँया १ हजारमा खरिद गरेर उदयपुरमा प्रतिग्राम ५ हजारमा र काठमाडौँमा १२ हजार प्रतिग्रामका दरले बिक्री गर्ने गरेको खुलेको पनि एसपी थापाले बताए । छिटो र सजिलो पैसा कमाउने उद्देश्यबाट प्रेरित भएको हुनसक्ने अनुमान प्रहरीको छ।पत्रकार सम्मेलनमा जनाइए अनुसार असोज ८ गतेयता पक्राउ लागुऔषधका सबै कारोवारीहरुलाई सार्वजनिक गरिएस्को छ।अभियान अन्तर्गत लागुऔषध सेवनकर्तालाई घरमै पुगेर सचेतना फैलाउने, पुर्नस्थापना गर्नेजस्ता काम पनि गर्ने गरेको एसपी थापाले बताए।  

प्रकाशित: १७ कार्तिक २०८० १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App