काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण व्यावसायिक फाइदाका लागि आपराधिक समूहका नाइकेसँगको साझेदारी रहेको निष्कर्ष निकालेको छ ।
शरदकुमार गौचनको हत्याका योजनाकार भनिएका समिरमानसिंह बस्नेतलाई भारतमा पक्राउ गरी नेपाल ल्याइयो ।
गौचनको हत्या असोज २३ मा भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि ७ जनालाई पक्राउ गरे पनि औपचारिक रुपमा हत्याको कारण खुलाएको थिएन । ब्युरोले हत्याका योजनाकार भनिएका समिरमानसिंह बस्नेतलाई पक्राउ गरेपछि मात्र ‘निर्माण व्यवसायमा संलग्न गौचन र संगठित अपराधमा सक्रिय कुमार श्रेष्ठ (घैंटे) बीचको व्यावसायिक साझेदारीको विवादका कारण हत्या भएको’ निष्कर्ष सार्वजनिक गरेको हो ।
२ वर्षदेखि भारतमा लुकेर बसेका बस्नेतलाई प्रहरीले तीन दिनअघि त्यहाँबाट पक्राउ गरी काठमाडौं ल्याएर आइतबार सार्वजनिक गरेको छ । बस्नेत पक्राउ परेपछि प्रहरीले औपचारिक रुपमा घैंटे र गौचनबीचको व्यावसायिक साझेदारी नै हत्याको कारण भएको निष्कर्ष सुनाएको हो ।
उपत्यकामा संगठित आपराधिक गतिविधिमा संलग्न घैंटे विदेशबाट फोटोकपी मेसिनलगायत सामग्री आयात गरी बिक्री गर्ने व्यापारमा संलग्न थिए । कांग्रेसका केही नेताको संरक्षणमा गजुरमुखी निर्माण सेवाका नाममा सडक ठेक्कापट्टामा लागेका घैंटेलाई गौचनले सहयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
गौचनको डाँफे कन्स्ट्रक्सनलाई ठेक्का दिलाउन आफ्नो समूहका सदस्य परिचालन गर्नेक्रममा दुवैबीच आर्थिक लेनदेन भएको र प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि उनीसँगको लेनदेन गौचनले अस्वीकार गरेपछि बस्नेतले हत्या गराएको अनुसन्धानमा खुलेको छ ।
ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा ‘मृतक शरदकुमार गौचनले सञ्चालन गरेको डाँफे कन्स्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार श्रेष्ठ घैंटेमार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको’ उल्लेख छ ।
प्रतिवेदनमा ‘गौचनलाई दिएको रकममध्ये घैंटे समूहका सदस्य रहेका बस्नेतको एक करोड थियो । २ वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखाको इन्काउन्टरमा घैंटे मारिएपछि बस्नेतले २ करोड ५० लाख रुपैयाँबराबरको डाँफेको २० प्रतिशत शेयर या रकम फिर्ता गर्न माग गर्दा गौचनले नदिएपछि हत्या गरेको’ उल्लेख छ ।
‘अनुसन्धानमा बस्नेतको बयानको आधारमा गौचन हत्याको पहिलो कारण गजुरमुखी र डाँफेबीचको शेयर विवाद देखियो,’ ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले भने, ‘घंैटेको मृत्युपछि गौचनले आफूलाई टेर्न छाडेकाले उनको हत्या गरेको बस्नेतले बयानमा सकारेका छन् ।’
प्रहरीले आफ्नो दाबी पुष्टिका लागि पत्रकार सम्मेलनमा अडियो सार्वजनिक गरेको थियो । १९ सेकेन्डको अडियोमा ‘दावा लामाको कान्ड र गौचन हत्याकान्ड मेरो योजनामा बनेको हो । फिल्डमा खटिने सेटिङ सबै लोप्साङ लामाले गरेको हो । मनोज पुन दुर्गा तिवारीको हत्याकान्डपछि अलग्गै भइसकेको हो । ऊ अहिले हाम्रो समूहमा छैन’ भनिएको छ । ब्युरोले सो अडियो बस्नेतको भएको दाबी गरेको छ ।
ब्युरोले महासंघका अध्यक्ष गौचनको हत्या गर्दा अन्य व्यवसायी तर्सिने र पैसा उठाउन बस्नेत समूहलाई सजिलो हुने भएकाले पनि हत्या गरिएको जनाएको छ । यसलाई ब्युरोले हत्योको दोस्रो कारणमा राखेको छ ।
२०७२ भदौ ३ मा घैंटे प्रहरीको इन्काउन्टरमा मारिएका थिए । त्यसपछि आफू भागेर भारत पुगेको र आर्थिक संकटमा परेकाले पैसा असुल्न गौचनको हत्या गराएको बयान बस्नेतले दिएको प्रहरी दाबी छ ।
डिआइजी कार्कीका अनुसार बस्नेतले गौचनसँग शेयरको पैसासँगै वीरगन्जदेखि विराटनगरसम्म जोड्ने हुलाकी मार्गको ठेक्काबापतको २ प्रतिशत कमिसनसमेत मागेका थिए ।
गौचनले केही ठेक्काबापत काठमाडौंमा रहेका गुन्डालाई १० करोड रुपैयाँ बाँडे पनि आफूलाई भाग नछुट्याएको र पुरानो पैसा पनि नदिएको झोकमा उनको हत्याको योजना बनाएर बस्नेतले समूहका सदस्यलाई नेपाल पठाएको ब्युरोको निष्कर्ष छ ।
ठेक्कामा गुन्डा प्रभाव
नेपालमा संगठित गुन्डागर्दीमा संलग्न समूहको आयस्रोत ढुंगागिटी र बालुवा खानीसँगै ठेक्कापट्टासमेत प्रमुख हो । व्यवसायीले आफ्नो निर्माण कम्पनिलाई ठेक्का हात पार्न प्रतिस्पर्धीलाई तर्साउन गुन्डाको प्रयोग गरिन्छ ।
ठेक्कापट्टामा मौलाएको गुन्डागर्दी र गुन्डा समूहको आर्थिक स्रोतबारे महानगरीय प्रहरी अपराध महाशाखालगायत प्रहरी कार्यालय गरेको अनुसन्धान र कारबाहीमा ठेक्कापट्टा कब्जाबापतको रकम मुख्य रहेको खुलेको छ ।
ठूलो रकमको ठेक्काका लागि ठेकेदार समूहले आपराधिक समूहमा संलग्न समूहका नाइकेलाई १० प्रतिशत कमिसन दिने प्रथा निर्माण व्यवसायीले नियमझंै बनाएका छन् ।
ठेकेदारसँगको सहकार्यमा आपराधिक समूहमा संलग्न गुन्डाले ढुंगा, बालुवा खानी र क्रसर चलाएको अनुसन्धानमा खुलेको छ । ठेकेदारसँगको सहकार्यमै गणेश लामा, दीपक मनाङे, राजु गोर्खाली, रमेश बाहुन, पर्शुराम बस्नेत, मिनकृष्ण महर्जन क्रसर उद्योगी र ठेकेदारका रुपमा स्थापित भएका हुन् । यीमध्ये लामा क्रसर, ढुंगाखानी, सडक निर्माणमा सबैभन्दा अगाडि बढे । उनी सडक निर्माणमा समेत संलग्न भए । गोर्खाली र मनाङे खानी सञ्चालकमै अड्किए ।
सडक ठेक्काबापतको कमिसन विवादमा गुन्डा समूहबीच पटकपटक झडप र आक्रमण हुनेगरेको छ । ३ वर्षअघि ललितपुरमा महर्जनमाथि बाहुनले गोली हानेका थिए । यो घटनाको अनुसन्धानमा महर्जनले ललितपुरको सडक ठेक्काबापत आएको रकमको बाँडफाँट विवाद कारण रहेको खुलेको थियो ।
ठेक्का कमिसनकै बलमा आपराधिक समूह बलियो बनेको निष्कर्ष निकाल्दै प्रहरीले पटकपटक निर्माण व्यवसायीलाई कमिसन नदिन आग्रह गरेका थिए । प्रहरी आग्रहमा उनीहरूले कमिसन नदिई कामै गर्न नसक्ने अवस्था रहेको बाध्यता सुनाउने गरेको एक प्रहरी अधिकारीले बताए ।
ठेक्कामा गुन्डा प्रभाव कम गर्न नसकेपछि प्रहरीले गुन्डाको सूची बनाएर इन्काउन्टरको रणनीति लिएको थियो । सो सूचीको पहिलो नम्बरमा बाहुन थिए । भारतमा लुकेर बसेका उनी पक्राउ पनि परे । तर इन्काउन्टर योजना कार्यान्वयन हुनुअघि नै उनी पक्राउ परेको सूचना चुहिँदा उनको ज्यान जोगियो ।
दोस्रो सूचीमा रहेका चरी (दिनेश अधिकारी) इन्काउन्टरमा मारिएपछि ठेक्कापट्टामा सक्रिय लामा, मनाङे, महर्जन लगायतका सुस्त भए । अधिकांश विदेश पलाएन भए, नेपालमै बसेका पनि सुस्ताए ।
जानकार प्रहरी अधिकारीका अनुसार यहीबीचमा काभ्रेली समूहका लामा र महर्जनले राजनीतिक संरक्षण लिएर धन्दा अघि बढाए । घैंटेको इन्टकाउन्टरपछि बस्नेत नेपालमा बस्न नसकेर भारत पलायन भएपछि सेटिङमा नेपालमै बस्ने वातावरण बनाउन सफल गुन्डा नाइकेहरूको ठेक्कापट्टामा प्रभाव बढेको थियो ।
‘प्रहरी र राजनीतिक दलका नेताको संरक्षण पाएकालाई मात्रै ठेकेदारले कमिसन दिने, प्रतिस्पर्धीलाई लखेट्ने रणनीतिले बस्नेतमा बदलाको भाव बढेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘नेपालमा बस्दा प्रहरीबाट जुनसुकै समय मारिनसक्ने भएपछि भारत पुगेका उनले यसैको बदलाका लागि समूह बनाएर असुली र हत्या योजना बनाएको देखियो ।’
बदला र असुलीले जन्माएको समूह
प्रहरी अनुसन्धानमा खुलेअनुसार घैंटेको मृत्युपछि बस्नेत भागेर भारतको बैंगलोर पुगे । बैंगलोरमा होटलमा बसेका उनी त्यहाँबाट गोवा पुगे, जहाँ उनको भेट मनोज पुनसँग भयो । दुवैजना गोवामा सँगै बसेका थिए । बस्नेत भागेर भारत पुगेपछि उनका प्रतिस्पर्धीको ठेक्कापट्टामा प्रभाव बढ्यो । नेपाल छाडेर भारतमा बस्दा आर्थिक रुपमा कमजोर भएका उनले पुरानै शैलीमा नेपालमा पैसा उठाउने योजना बनाए । भारतमा बसेर नेपालमा ठेक्कापट्टामा प्रभाव बढाउन उनले प्रतिस्पर्धी समूहका सदस्यलाई टार्गेट बनाए ।
बस्नेतको बयानअनुसार दावा लामाको हत्या प्रयास नेपालमा रहँदाका प्रतिस्पर्धी काभ्रेली र चक्रे मिलन समूहलाई कमजोर बनाउने रणनीति अनुसार भएको देखिन्छ ।
गत चैत २९ मा गौरीघाटस्थित दिव्या पार्टी प्यालेसमा एक्सरसाइज गर्न जानेक्रममा दावामाथि ३ राउन्ड गोली प्रहार भयो । उनी जोगिए । उनलाई तर्साउन गोली हानेको प्रहरीको निष्कर्ष छ । बस्नेतले भने ‘हत्या गर्नकै लागि गोली हानेको तर भाग्यले ऊ बाँचेको’ बयान दिएका छन् । ‘म सुध्रिइसकेको अवस्थामा प्रहरीले अन्य समूहको स्वार्थमा योजना बनाएर मलाई टार्गेट बनाएपछि भागेर भारत गएँ,’ स्रोतका अनुसार उनले बयानमा भनेका छन्, ‘लुक्नका लागि पैसा चाहियो तर अरु समूह बलियो भएसम्म भारतमा बसेर नेपालमा पैसा उठाउन गाह्रो भएपछि दावालाई मार्न गोली हान्न लगाएको हुँ ।’
अनुसन्धानमा खुलेअनुसार गोवामा बस्नेक्रममा पुनले रुपन्देहीका तिवारीका कारण आफू भागेर भारतमा बस्नुपरेको भन्दै बदला लिन सहयोग मागेका थिए ।
तिवारीको हत्यापछि आफ्नो बदला पनि पूरा हुने र व्यवसायीलाई तर्साएर पैसा पनि उठाउन सकिने योजनाअनुसार भारतबाटै समूह नेपाल पठाएर २०७३ पुस ४ गते उनको हत्या बस्नेतले गराएका थिए । तिवारी हत्यामा श्याम गोम्बे गुरुङले गोली हानेको प्रहरी निष्कर्ष छ ।
तिवारी हत्यापछि पुनलाई खोज्न नेपाल प्रहरीको एउटा टोली गोवा पुगेर २ महिनासम्म बसे पनि पक्राउ गर्न सकेनन् । पहिला एक घरमा फ्ल्याट लिएर बसेका उनीहरू प्रहरी गोवा पुगेको चाल पाएपछि भिन्दाभिन्दै स्थानमा बस्न थालेका थिए ।
आपराधिक यात्रामा पुन बस्नेतभन्दा जुनियर थिए । बस्नेतले सहयोगीको व्यवहार गर्न थालेपछि पुन छुट्टिएका थिए । पुन छुट्टिएपछि समूहमा रहेका लोप्साङ लामा, गुम्बे, गंगाप्रसाद लिङदेन, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापाले बस्नेतलाई साथ दिएका थिए ।
पुनको समूहका सदस्यको समेत साथ पाएपछि बस्नेतले दावाको हत्या योजना बनाएर सुटर काठमाडौं पठाएका थिए । दावामाथिको आक्रमण असफल भए पनि उनले गणेश लामा र चक्रे मिलनमाथि आक्रमण गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरी अधिकारीले बताए ।
गुन्डामाथि मात्र आक्रमण गर्दा पैसा नउठ्ने र समूह परिचालन गर्न आर्थिक समस्या भएपछि उनले गौचनसँग पैसा उठाउने प्रयास गरेको तर नपाएपछि हत्या गरेको खुलेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।
तीन महिनामा बल्ल फन्दामा
बस्नेत समूहअघि भारतमै बसेर मिलन लामाले सन्दिप पाठकको नाममा असुली गरेका थिए । उनले स्पाइडर समूह बनाएर भारतमा बसेर नेपालका चिकित्सक र निर्माण व्यवसायीमाथि आक्रमण गराएर रकम असुलेका थिए । अर्का अमर टन्डनले दिल्लीमा बसेर नेपालका चिकित्सक र व्यापारीको अपहरण शृंखला चलाएका थिए ।
यी दुवैले व्यापारी धम्क्याउन र रकम असुल्न ल्यान्डलाइन र मोबाइल फोनको प्रयोग गर्ने भएकाले सहजै पहिचान गरेर प्रहरीले पक्राउ गरेको थियो । यी दुवै अहिले नेपालको जेलमा छन् ।
बस्नेत समूहले पक्राउबाट जोगिन सूचना प्रविधिको दुरुपयोग गर्दै इन्टरनेट कलको मात्रै प्रयोग गर्दा उनलाई पहिल्याउनै प्रहरीलाई ३ महिना लाग्यो । प्रहरीले बस्नेत र पुनलाई खोज्न तीन महिनाअघि नेपालबाट एक टोली दिल्ली लगेर राखेको थियो । दिल्ली प्रहरीको सहयोगमा चार दिनअघि बल्ल बस्नेत दिल्लीकै एक फ्ल्याटमा फेलापरेका थिए ।
‘बस्नेत पक्राउ पर्दा उनको साथमा मोबाइल फोन, सिम कार्ड केही पनि थिएन,’ अनुसन्धानमा संलग्न प्रहरी स्रोतले भन्यो, ‘बस्नेत समूहले नेपालमा यसअघि देखिएका आपराधिक समूहले भन्दा भिन्न कार्यशैली अपनाएको र सूचना प्रविधिको उपयोगमा पोख्त देखियो ।’
प्रहरीले गौचन हत्या आरोपमा बस्नेतअघि वशन्त थेबे, धनराज योङहाङ, राजीव स्याङतान, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ । यी सबै बस्नेतका सहयोगी हुन् ।
समूहका मुख्य सुटर लोप्साङ, गोम्बे, अमरबहादुर राना मगर, रोशन बुढाथोकी, सन्तोष गुरुङ फरार छन् । बस्नेतको पक्राउपछि यो समूहका सदस्य फेरि मनोज पुनसँँग मिलेर आपराधिक घटना घटाउनसक्ने जोखिम उत्तिकै रहेको एक प्रहरी अधिकारीले बताए । फरारमध्ये लोप्साङ सबैभन्दा सक्रिय देखिएको प्रहरी अधिकारी बताउँछन् ।
‘आपराधिक समूह प्रविधिको प्रयोगमा अघि बढिसके तर नेपालमा प्रविधिमार्फत हुने अनुसन्धानमा अझै कमजोर नै छ,’ एक प्रहरी अधिकारीले भने, ‘तत्काल दोस्रो अप्रेसनमार्फत फरार रहेकालाई पक्राउ नगरे उनीहरू थप संगठित हुने जोखिम छ ।’
डिआइजी कार्कीले गौचन हत्या अनुसन्धानको नेतृत्व अब ब्युरोले गर्ने बताए ।
प्रकाशित: १८ मंसिर २०७४ ०२:२० सोमबार