मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउने मुलुकका सुरक्षा निकायमध्यको एक निकाय सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै उपभोक्ता ठगिएको तथ्य फेला परेको छ । केन्द्रीय अनुगमन टोलीले बुधबार गरेको अनुगमनका क्रममा सशस्त्रले काठमाडौंको स्वयम्भुमा सञ्चालन गरेको हलचोक फ्युल सेन्टरबाट उपभोक्ता ठगिने गरेको पाइएको हो ।
‘हलचोक फ्युलको नोजलबाट डिजल मापन गर्दा क्षम्य मात्राभन्दा कम नापिएर उपभोक्तालाई दिइने गरेको देखियो,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित हेलो सरकारबाट अनुगमनमा खटिएका सहसचिव प्रद्युम्न उपाध्यायले भने, ‘५/१० लिटरका दरले ६ पटकसम्म जाँच गर्दा पनि बराबर मात्रामा तेल भरिएर आएको देखिएन ।’ उनका अनुसार सशस्त्रको पेट्रोल पम्पमा तीनवटा नोजल थिए । जसमध्ये कैफियता भेटिएको एउटा नोजल सिल गरिएको छ ।
अनुगमनका क्रममा बुधबार निर्धारित मात्राभन्दा कम इन्धन उपलब्ध गराउँदै ठगी गरिरहेको थप अर्को पेट्रोल पम्पमा पनि सिल गरिएको छ । अनुगमन टोलीमा रहेकी आयल निगमकी बिन्नी श्रेष्ठले कलंकीको श्यामा आयल स्टोरमा पनि सिल गरिएको जानकारी दिइन । त्यहाँ पुग्दा त सबै नोजल बिग्रिएको र चुहिने पाइएको हेलो सरकारमा कार्यरत सहसचिव उपाध्यायले बताए ।
यसअघि मंगलबारको अनुगमनका क्रममा तीनकुने गैरीगाउँस्थित भ्याली बाबा सप्लायर्समा पनि कम मात्रामा इन्धन दिएर ठगी गर्ने गरेको पाइएपछि त्यहाँ पनि पम्प सिल गरिएको थियो । हेलो सरकारमा उपत्यकाका पेट्रोप पम्पबाट ठगी हुनेगरेको धेरै गुनासो आउन थालेपछि केन्द्रीय अनुगमन समितिले मंगलबारबाट अनुगमन थालेको हो ।
अनुगमनका क्रममा हेलो सरकार, प्रधानमन्त्री सचिवालय, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, वाणिज्य विभाग र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरिरहेको छ । जसअन्तर्गत मंगलबार तीन र बुधबार ६ वटा पम्पको अनुगमन गरिएको हेलो सरकारबाट अनुगमनमा खटिएका सहसचिव उपाध्यायले बताए । जसमा सबैजसो पम्पबाट लिटरभन्दा कम मात्रामा पेट्रोल÷डिजेल दिनेगरेको पाइएको उनले बताए ।
प्रकाशित: २ कार्तिक २०८० ००:४० बिहीबार