९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रसुवागढी क्षेत्रमा बजार अनुगमन : अधिकांश होटलबाट कुहेको मासु बिक्री

अनुगमनका क्रममा भेटिएका अखाद्य पदार्थ नस्ट गरिँदै। तस्विरः हिमनाथ

रसुवा— नेपाल र चीन जोड्ने रसुवागढी नाका तथा आसपासको क्षेत्रमा सञ्चालनमा रहेका होटलले उपभोक्तालाई कुहिएको मासु बिक्री गर्ने गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार बजार अनुगमन गरी सो क्षेत्रका होटलमा कुहेको मासु एवं अखाद्य पदार्थ बरामद गरी नष्ट गरेको छ।

अनुगमन क्रममा होटलहरुका भान्सा र कोठाहरु फोहोर भेटिएका थिए। होटलले फ्रिज राखे तापनि त्यसको वास्तविक उपयोग नगर्दा धेरै सामग्री फ्रिजभित्रै बिग्रिएको अवस्थामा अनुगमन टोलीले भेट्टाएको थियो। विद्युत् बिल चढ्छ भनेर अधिकांश समय फ्रिजमा बन्द गर्दा खाद्य सामग्री कुहिएर गन्हाउने अवस्थामा पुगेका थिए।

‘फ्रिज खोल्दा त्यहाँबाट आएको गन्धले होटलभित्र बस्न सक्ने अवस्था थिएन’, अनुगमन टोलीको नेतृत्व गरेकी सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले भनिन्, ‘होटलका कोठाहरु त्यस्तै फोहोर भेटिएपछि सफा गर्न निर्देशन दिएका छौं।’

विद्युत आपूर्तिबिनाको फ्रिज खोल्दा त्यहाँबाट आएको गन्धले होटलमा बस्न गाह्रो परेको थियो। होटलका कोठाभित्रका बेड महिनौदेखि सफा नगरी राखिएको पाइएपछि अनुगमन टोलीले सफा राख्न निर्देशन दिएको छ।

‘फ्रिज खोल्दा त्यहाँबाट आएको गन्धले होटलभित्र बस्न सक्ने अवस्था थिएन’, अनुगमन टोलीको नेतृत्व गरेकी सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले भनिन्, ‘होटलका कोठाहरु त्यस्तै फोहोर भेटिएपछि सफा गर्न निर्देशन दिएका छौं।’ उपभोक्तामाथि खेलवाड गर्ने हाेटल सञ्चालकहरुलाई पहिलो पटक चेतावनी दिएको र स्तर नसुधारे कारवाही गरिने उनले बताइन्।

ती होटलहरुका अधिकांश ग्राहक केरुङ रुटमा कन्टेनर चलाउने चालक र सहचालक हुन्। रसुवागढी नाका तथा अासपासको क्षेत्रमा मारकाट नगर्ने परम्परा छ। होटल व्यवसायीले बाहिरबाट मासु ल्याउने र लामो समयसम्म राखेर बेच्ने गरेका छन्।

कुनै होटल दर्ता छैनन्
टिमुरेमा सञ्चालनमा रहेका पसलहरु दर्ता नभएको पाइएको छ। होटल, मासु पसल, किराना पसल, इलेक्ट्रोनिक पसल दर्ता बिना नै सञ्चालन भइरहेका हुन्। उक्त क्षेत्रमा आधा दर्जन मासु पसल, एक दर्जनभन्दा बढी होटल, केही इलेक्ट्रोनिक पसल रहेका छन्। अनुगमनका क्रममा सञ्चालन रहेका मध्ये ६ वटाले मात्र सम्बन्धित निकायमा आफ्नो व्यावसाय दर्ता गरेको पाइएको थियो।

त्यस क्षेत्रमा सञ्चालनमा रहेका व्यावसायमध्ये कमै मात्र स्थानीयबासीले सञ्चालन गरेका छन्। मासिक न्युनतम पाँच हजारदेखि ५० हजारसम्म भाडा तिरेर बसिरहेका उनीहरुले दर्ताबिना व्यावसाय सञ्चालन गर्दा राज्यले वार्षिक लाखाैँ राजस्व गुमाइरहेको छ।

टिमुरेका व्यावसायी कामी नुर्पु तामाङले जानकारी अभावमा दर्ता नगरेको बताए। ‘घरेलु कार्यालय र भ्याटमा पनि पसल दर्ता गरेको छु तर मदिरा बिक्रीका लागि पनि दर्ता गर्नुपर्छ भन्ने थाहा थिएन’, उनले भने। अनुगमनपछि व्यावसाय दर्ताबारे जानकारी लिएका उनले एक साताभित्र दर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासनको अनुगमन टोलीले व्यावसाय दर्ता नगरेकाहरुलाई एक साताभित्र व्यावसाय दर्ता गर्न निर्देशन दिएका छ।

मासुदेखि पेट्रोलसम्म एउटै पसलमा
टिमुरेमा सञ्चालनमा रहेका अधिकांस किराना पसलमा मासु, पेट्रोल, तरकारी र मदिरा एकै ठाउँबाट बेच्ने गरिएको छ। किराना पसलको अनुगमनको क्रममा भेटिएका सडेगलेका खाद्य पदार्थ एवं नाघेका पेय पदार्थ अनुगमन टोलीले नस्ट गरेको छ।

नियम विपरित राखिएका सामग्री तत्काल नहटाए कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले बताइन्।  ‘अनुगमनको क्रममा एउटा व्यावसाय दर्ता गर्ने अनि अरु नै सामग्री बेच्ने गरेको पनि भेटिएयो। कानुनअनुसार दर्ताका लागि यो अनगमन मितिले १५ दिनको समयसीमा दिएर आएका छौं। फेरि यो कार्य दोहोराएको पाइएमा कारवाही दायरामा ल्याउँछौं’, उनले भनिन्।

पछिल्लो पाँच महिनामा प्रशासनले चौथो पटक बजार अनुगमन गरेको हो।

प्रकाशित: १० कार्तिक २०७४ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App