२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

वारि अपराध, पारि आश्रय

‘रोटी-बेटी सम्बन्ध’को दुरुपयोग

यही असोज १३ गते सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित पोखरीमा बोराभित्र सडेको अवस्थामा पुरुषको शव फेला पर्‍यो। पोस्टमार्टमपछि शव सोही ठाउँका १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको पुष्टि भयो। भदौ २१ गतेदेखि बेपत्ता मुद्दिनको प्रहरीले खोजी गरिरहेको थियो। प्रहरी स्रोतका अनुसार मुद्दिनको एक बालिकासँग प्रेम सम्बन्ध थियो। कृष्णाष्टमीका दिन गाउँमा लागेको मेला हेर्न मुद्दिन ६ जना साथीसँगै गएका थिए। साथीहरू घर फर्किए पनि प्रेमिका भेटेर आउने भन्दै उनी फर्केनन्। घरपरिवारले खोजी गर्दा नभेटेपछि तेस्रो दिन मात्रै प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले अनुसन्धानमा मुद्दिनको हत्या भएको संकेत मिलेपछि शंकास्पद व्यक्तिलाई पक्राउ गर्‍यो। तर पक्राउ परेकाले अपराध स्वीकार गरेनन्।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा बालिकाकी आमा विना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेकी ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भनिने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन्। प्रहरी स्रोतका अनुसार मुद्दिनको हीरा फेकनी निम्नमाध्यमिक विद्यालय बनौलीमा कक्षा ८ मा पढ्ने बालिकासँग प्रेम सम्बन्ध थियो।

असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मीनियामा अजितकुमार सिंहको गोली हानेर हत्या भयो। साँझ ६ बजे नेपाल–भारत सिमानाको ७ सय मिटर नेपालतर्फ लक्ष्मीनियास्थित पोखरीमा २२ वर्षीय सिंहको हत्या भएको थियो। मृतक भारत मोतिहारीका हुन्।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सिंहकी पत्नी २३ वर्षीया सोनम सहनीलाई पक्राउ गरेको छ। सहनीसँग मिलेर सुजितकुमार सिंहको समूहले अजितकुमारको हत्या गरेको अनुसन्धानबाट थाहा भएको बाराका एसपी सुरेश काफ्लेले बताए। सुटर २५ वर्षीय सुजितकुमार पनि भारतीय नागरिक हुन्।

हत्या अरोपित सुजितकुमार र सहनी विवाहोत्तर सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सहनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन्। घटना भएको दिन अजितकुमारले चलाएको मोटरसाइकलमा सुजितकुमार पछाडि बसेर आएका थिए। लक्ष्मीनिया आएपछि सुजितकुमारले मोटरसाइकल रोक्न लगाएर अजितकुमारलाई गोली प्रहार गरेका थिए।

अर्को मोटरसाइकलमा आएका तीनजना युवकले घटनास्थल रेकी गरेका थिए। करिब ३ वर्षअघि भारतको घोडासनमा अजितकुमार र सुजितकुमार मिलेर सुन लुटेका थिए। सुनको ८ लाख नगदबारे उनीहरूबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुन बेचेर आएको रकम उनीहरूले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए। छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितकुमारले सहनीसँग मिलेर अजितकुमारको हत्या गर्ने योजना बनाएको एसपी काफ्लेले बताए।

अजितकुमारको हत्यापछि सुजितकुमारले सिम्रौनगढस्थित डेरामा बस्दै आएकी सहनीलाई फोन गरेर काम फत्ते भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका थिए। हत्यामा संलग्न सुटर सुजितकुमारसहित चारजना फरार रहेको एसपी काफ्लेले बताए।

अजितकुमार र सुजितकुमार एउटै समूहका हुन्। पैसाको विषयमा विवाद भएपछि अजितकुमार एक्लै अगाडि बढ्न खोजेपछि उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुजितकुमारसहितको समूहले एक वर्षअघि भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। यही समूहले २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपूजन यादवलाई गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको पनि अनुसन्धानबाट खुलेको छ।

असोज ८ गते बाराको पचरौता नगरपालिका–१ पिपरपाती गाउँनजिकै नेपाल–भारत दसगजामा सशस्त्र प्रहरीका पूर्वसिपाही ३४ वर्षीय अमरेश सिंहको हत्या भयो।

६ महिनाअघि जागिरबाट राजीनामा दिएका पचरौता नगरपालिका–१ का ३४ वर्षीय सिंहको घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको थियो।

 सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय श्यामलाल महतो, ५६ वर्षीय शम्भु साह कलबार र भारत पूर्वी चम्पारण झझराका २१ वर्षीय राहुल साह कानुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको बाराका एसपी काफ्लेले बताए।

तीनैजनाले मिलेर सिंहको हत्या गरी शव नेपाल–भारत सीमानजिकै फालिदिएका थिए। सिंहले पचरौतासँग जोडिएको नेपाल–भारत सीमानजिकै रक्सी पसल सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानबाट भारतीय र नेपाली मदिरा व्यापारी मिलेर सिंहको हत्या गरेको बुझिएको एसपी काफ्लेले बताए।

भदौ २१ गते सप्तरीको कञ्चनरूप नगरपालिका–७ का २५ वर्षीय राहुलकुमार चौधरी मृत फेला परे। चौधरीको शव सुन्दरीखोला पुलदेखि सय मिटर दक्षिणमा निर्वस्त्र भेटिएको थियो। प्रहरीले घटना अनुसन्धान गर्दा चौधरीलाई लागुऔषध सेवन गराएर हत्या गरेको खुलेको छ।

हत्या आरोपमा कञ्चनरूप नगरपालिका–६ का पशुपति राम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले बताए। रामले चौधरीलाई सीमावर्ती भारतीय बजारबाट लागुऔषध किनेर सेवन गराएका थिए।

भारतीय बजारमा दुवैजना सँगै गएका थिए। त्यहाँबाट चौधरीलाई सुन्दरीखोलाछेउ ल्याई रामले हत्या गरेका थिए। हत्यापछि चौधरीको मोबाइल र घडी लिएर राम भागेको अनुसन्धानबाट खुलेको डिएसपी न्यौपानेले बताए।

असोज ९ गते भारत मोतिहारीका अजितकुमारको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई मात्र बारा प्रहरीले पक्राउ गर्न सक्यो। हत्यामा संलग्न भनिएका अन्य पाँचजना प्रहरी नियन्त्रणबाहिर छन्। कारण हो–उनीहरू नेपालमा अपराध गरी भारतमा गएर बस्नु। यस घटनामा संलग्न भारत मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सहनी बाराको सिम्रौनगढ बस्दै आएकाले प्रहरी तत्काल उनलाई पक्राउ गर्न सफल भएको हो।

अजितकुमारको हत्यामा संलग्न भएका २५ वर्षीय सुजितकुमार, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनीषकुमार सहनी, २० वर्षीय कामेश्वर सहनी, २० वर्षीय रञ्जीत मुखिया भारत मोतिहारीका हुन्। नेपालमा आएर हत्या गरेका उनीहरू भारत फर्केपछि प्रहरीले पक्राउ गर्न नसकेको हो।

खुला सिमानाका कारण अपराधीलाई वारि (नेपालमा) अपराध कर्म गरेर पारि (भारतमा) गएर बस्ने र र पारि अपराध गरेपछि वारि आएर लुक्न सजिलो भएको छ। अपराधी निर्धक्क घुमफिर गरेको थाहा पाए पनि प्रहरीलाई वारिबाट पारि र पारिबाट वारि आएर पक्राउ गर्न कानुनी रूपमा सहज छैन। यही कानुनी जटिलताको फाइदा उठाउँदै अपराधीले वारिपारि आश्रय लिने प्रहरी अधिकारी बताउँछन्। खुला सिमानाले अपराधीलाई वारिबाट भागेर पारि गई तथा पारिबाट भागेर वारि आई लुक्न सजिलो भएको छ।

नेपाली भूमिमा अपराध गरेर भारत गई लुक्ने र भारतमा अपराध गरेलगत्तै नेपाल आएर लुक्न सजिलो भएपछि अपराधीलाई पक्राउ गर्न अप्ठेरो परेको दुवै देशका प्रहरी अधिकारी बताउँछन्।

नेपाल–भारत सीमावर्ती क्षेत्रका बासिन्दाबीच नातासम्बन्ध छ। यो सम्बन्धलाई कतिपय अपराधीले दुरूपयोग गर्दै आएका छन्। अपराधीले नातेदारका घरलाई आश्रयस्थल बनाउँछन्। नेपाली सीमागाउँ–सहरका अधिकांश मानिसको नातासम्बन्ध सीमावर्ती भारतीयसँग जोडिएको छ।

भारतीय सीमावर्ती गाउँ–सहरका मानिसको नातासम्बन्ध नेपालका सीमावर्ती गाउँ–सहरका मानिससँग जोडिएको छ। नाता–सम्बन्धको यही आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ। दुवैतिरका अपराधीले दसगजा क्षेत्रका नाता–कुटुम्बकहाँ आश्रय लिने गरेको प्रहरी अधिकारी बताउँछन्।

‘उता (नेपाल) मा अपराध गरेको केही घन्टामै अपराधी यता (भारत) आइहाल्छन्, यताबाट अपराध गरेर लुक्न उता (नेपाल) पुग्छन्,’ एक भारतीय प्रहरी अधिकारी भन्छन्। सीमा काटेपछि अपराधीले आफूलाई सुरक्षित ठान्छन्। नेपालका प्रहरीले पारि (भारत) गएर सहजै अपराधी/आरोपितलाई पक्राउ गर्न मिल्दैन। यसका लागि कानुनी रित पूरा गर्नुपर्छ। भारतका प्रहरीलाई पनि यही जटिलता छ। यही कानुनी जटिलताले सीमावर्ती क्षेत्र अपराधीको आश्रयस्थल बन्दै गएको छ।

पछिल्लो समय मधेस प्रदेश अपराधको अखडा बन्दै गएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यस प्रदेशमा २६ जनाको हत्या भइसकेको छ। जसमा २६ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता छन्।

५२ जना प्रतिवादीमध्ये २२ जना पक्राउ परेका छन् भने ३० जना फरार छन्। दुई महिनामा सप्तरीमा ५, सिरहामा २, धनुषामा ४, महोत्तरीमा २, सर्लाहीमा ४, रौतहटमा ३, बारामा ४ र पर्सामा २ जनाको हत्या भएको तथ्यांक छ।

गत वर्ष मधेस प्रदेशमा ६८ जनाको हत्या भएको तथ्यांक छ। गत वर्ष पर्सामा ४, बारामा २, रौतहटमा ६, सर्लाहीमा ८, महोत्तरीमा ८, धुनषामा १५, सिरहामा १५ र सप्तरीमा १० जनाको हत्या भएको थियो।

प्रकाशित: १७ आश्विन २०८० ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App