१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

उजाड देखिने बगर ‘गुलजार’ देखियो

वर्षभरि उजाड देखिने बकैया नदीको बगरमा काँस फुलेर गुलजार देखिएको छ। बगरभरि हिउँ जस्तै देखिने सेता काँसले बगरमा चमक ल्याइदिएको छ।

यतीखेर बगर सेताम्मे बनेको छ। वर्षभरि यस ठाउँलाई वास्ता नगर्नेहरू यतीखेरी तारिफ गर्न बाध्य भएका छन्। आफूलाई आकर्षित बनाउन नसकेको बगर अहिले आकर्षणको केन्द्र बनेको छ।

बगरको सुन्दरताले यहाँ आउने जोकोहीको मन मस्तिष्कलाई प्रफुल्लित तुल्याउँछ। बकैया मात्र होइन, बागमती नदीको बगरमा समेत काँसले नदीको सुन्दरता बढाइदिएको छ।

कैयौँ किलोटिरसम्म आँखामा अटाउन्जेलको सेताम्मे दृश्य देख्दा बगरको स्वरूप नै फेरिएको आवास हुन्छ। हल्का हावाले समेत छारो उड्ने बगरमा अहिले काँसको फूल भुवा बनेर उड्छ। 

असार महिनापछि पशुले नचरेका काँस नै दुई महिनामा हुर्केर असोजमा फुल्ने गर्दछ। अहिले सबै सानातिना खोलाको किनार तथा बगरमा काँस फुल्ने बेला भइसकेकोले सबैतिर सेताम्मे देखिएर खोला र नदीको किनार तथा बगरको दृश्य नै बदलिएको स्थानीयवासी बताउँछन्। 

एक स्थानीयले भने ‘कुनै उत्पादन नहुने बगरमा काँस उब्जेको छ।’

काँस धेरै फुलेर भुवा उडेको वर्ष बढी जाडो हुने विश्वास गरिन्छ। यसपालि काँस धेरै फुलेको देखिएकाले पहिलेको भन्दा यस वर्ष धेरै जाडो हुने मौलापुर नगरपालिका गम्हरिया गाउँका कामेश्वर साह बताउँछन्। ‘बकैयाको बगरभरि काँस फुलेर निकै रमाइलो देखिएको छ’ उनले भने।

काँस फुलेर भुवा उडेको दुई हप्तापछि काँस काट्न योग्य हुने स्थानीयको भनाइ छ। झार काटेर फुसको घर बनाउने, छाना छाउने तथा घरको टाटी बनाउने जस्ता काममा काँसको प्रयोग हुने गर्दछ।

यसै गरी काँसको झारको प्रयोग विवाहको लागि मण्डप बनाउन र मृतकलाई बोक्ने साधन बनाउन समेत प्रयोग गरिने जानकारहरु बताउँछन्। जनजीवनसँग जोडिएको काँस शुभ/अशुभ दुवै किसिमको काममा प्रयोग हुने उनीहरुको भनाइ छ।

‘निजी जमिन तथा खोलाको ऐलानी बगर दुवैमा काँस फुलेका छन्। काँसलाई काटेर बेच्दा राम्रै पैसा आउँछ। यस पटक दसैँको समयमा काँस काट्ने वेला हुन्छ।’ स्थानीय कामेश्वर साह भन्छन् ‘धान र गहुँको जस्तो आम्दानी काँस बेचेर नभए पनि काँसको उत्पादनमा कुनै खर्च लाग्दैन। जति पैसा आउँछ, सबै नाफा हो।’

प्रकाशित: १६ आश्विन २०८० १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App