२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

‘गैरदलितको अगुवाइमा थप प्रभावकारी’

छुवाछुत र विभेदविरुद्धको अभियान

कार्यक्रमअघि प्रभातफेरीको तयारी गर्दै। तस्बिर: महेश्वर

यहाँका सरोकारवालाले दलित अधिकारबारे अभियान चलाउन गैरदलित समुदाय अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। शनिबार आयोजित ‘४४औं सामाजिक सेवा दिवस’ का अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले दलित अधिकारको पैरवी दलितले गर्दा उपलब्धिमूलक नभएको भन्दै यसमा गैरदलित समुदायले अगुवाइ गर्नुपर्ने खाँचो औंल्याए।

जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाको छाता संगठन गैरसरकारी संस्था महासंघ उदयपुरको अगुवाइमा ‘दिगो विकास राष्ट्रिय प्रतिबद्धता, लक्ष्य प्राप्तिमा सघसंस्थाको सहभागिता’ भन्ने मूल नाराका साथ मनाइएको दिवसमा आयोजित कार्यक्रमका सहभागीले यसमा जोड दिएका हुन्।

गाईघाट बजारमा प्रभातफेरी, अन्तरक्रिया र मिडिया संवाद कार्यक्रम आयोजना गरी मनाइएको दिवसको अवसरमा सहभागीले नेपालमा अझै पनि छुवाछुत र विभेद कायमै रहेको भन्दै त्यसविरुद्ध लड्नुपर्ने भएकाले त्यसमा गैरदलित समुदायले अगुवाइ गर्नुपर्ने बताए।

दलित महिला संघ (फेडो) र मानव अधिकार र वाताविरण विकास केन्द्र (हुरेन्डेक) ले सम्भावित दलित महिला नेतृत्व र स्थानीय जनप्रतिनिधिसँग ‘नेपालमा मानव अधिकार दायित्व’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले यसमा जोड दिएका हुन्।

शनिबार आयोजित रेडियो उदयपुरसँगको सहकार्यमा सामाजिक अभियानसम्बन्धी रेडियो अन्तरसंवाद कार्यक्रमका सहभागीको पनि यसमा जोड दिएको महासंघकी अध्यक्ष सिर्जना पौडेलले बताइन्।

उनका अनुसार कार्यक्रमका अधिकतर सहभागीले संघीयता र गणतन्त्र प्राप्तिसँगै सामाजिक अभियानमा जोडिएका संघसंस्थाको भूमिका घट्दै गएकाले रचनात्मक क्रियाकलापमा जोड दिनुपरेको बताए। सहभागीले सामाजिक विभेद अन्त्यका लागि संघसंस्था मिलेर साझा अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका थिए। विभेद र विकृति–विसंगति समाजमा कायमै रहेकाले त्यसको निर्मूल गर्न पनि सामाजिक संघसंस्थाको खबरदारी र दायित्व अझै बाँकी रहेकोमा उनीहरूको मतैक्य थियो।

सहभागीले दलितमाथिको विभेद अझै पनि जस्ताको तस्तै रहेको भन्दै समाजमा जरो गाडेर बसेको यस्ता विकृतिविरुद्ध लड्न सके मात्र समानताको अनुभूति गर्न सकिनेमा जोड दिएका थिए।

जननिर्वाचित जनप्रतिनिधि पनि कतिपय ठाउँमा दलित भएकै कारण अपहेलना भोग्न बाध्य भएको उदाहरण दिँदै समानताका विषयमा नेपाल धेरै पछि रहेको बताएका थिए। दलित जनप्रतिनिधिले लक्षित समूहका लागि बजेट विनियोजन गर्नसमेत नसकेको बताउँदै उनीहरूले त्यस्ता विभेदविरुद्ध अधिकारकर्मीले बोलेर मात्र नभई व्यवहारमै उतार्ने गरी काम गर्नुपर्ने खाँचो औंल्याएका थिए।

दलित अधिकार र विभेदविरुद्धका अभियान दलितले भन्दा गैरदलितले सञ्चालन गर्दा मात्र प्रभावकारी हुनेमा पनि सहभागीको जोड थियो। अभियानकर्मीले समाज सेवामा मन, वचन र कर्मैदेखि लाग्न आवश्यक रहेको भन्दै उनीहरूले औपचारिक र झारा टार्ने काम गरेर कहिल्यै समाजमा न्याय र समानताको अनुभूति गर्न नसकिने ठोकुवा गरेका थिए।

प्रकाशित: ८ आश्विन २०८० ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App