२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्प पीडितको दसैं यस पटक पनि टहरामै

सिन्धुपाल्चोक-  बिहानीको झुल्के घामसँगै नुवाइधुवाइ चित्त शुद्ध बनाएपछि बाँडेगाउँका भरतप्रसाद तिमिल्सिनालाई जमरा राख्ने हतारो सुरु भयो । सफा जमिनको मलिनो माटो धुलो बनाए अस्थायी टहरोको एउटा कुनामा खन्याएपछि उनी जमरा राख्न जुटे। दियो जगाए, कलश खडा गरेर गणेश पुजे । तामाको घडामा गोबरका ११ रेखा कोर्दै त्यसमा जौ टाँसेपछि उनले माटोमा गहुँ, जौ र मकै छरे।

५७ वर्षीय तिमिल्सिनाले उमंगका साथ बिधिसम्मत जमरा राखेर जस्ताको अस्थायी टहरोमा दसैँको स्वागत गरेका छन् । ‘जमरा त राखियो, उम्रने पो हो कि होइन !’ टहरोमा दसैँ भित्र्याएको उमंगसँगै उनमा चिन्ता थपियो, ‘उम्रिहाले पनि सप्रन्छ कि सप्रन्न !’ जमरा सप्रिहाले पनि हरियो होला भन्ने अर्को डर पनि रहेछ उनीसँग । इन्द्रावती गाउँपालिकाका तिमिल्सिना परिवारले टहरोमा दसैँ भित्र्याएको यो तेस्रो वर्ष हो ।

 ‘पोहोर दुःख गरेर बल्लतल्ल हुर्काएको जमरा हरियो भएर जात्रै भो,’ उनले कामना गरे, ‘यो साल त्यस्तो नहोस् ।’ टहरोमा शीत चुहिनुको साथै स्याँठ छिर्दा जमरा उमार्नै सकस पर्ने गरेको उनी सुनाउँछन् । उम्रिहाले हावा र घामको प्रकाश छिर्दा जमरा हरियो हुने उनको अनुभव छ । ‘निधारभरि रातो अक्षता टीकासँग झपक्क पहेँलो जमरा लगाउन पाइएन भने दसैँको के मज्जा !’ घर बनाउन नसक्दा यो दसैँमा पनि टहरोमै जमरा राख्न बाध्य भएको बताउँदै उनले भने ।

            भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले जस्तापाता, त्रिपाल र स्याउलाको अस्थायी टहरोमा जमरा राखेर दसैँको स्वागत गरेका छन् । टहरैमा भए पनि दसैँको उमंग भित्र्याउन तल्लिन छन् पीडित । २०७२ वैशाख १२ गतेको बिनासकारी भूकम्पपछि पीडितले टहरोमा दसैँ मनाउन लागेको यो तेस्रो पल्ट हो । घर बनाउन नसक्दा अधिकांश पीडितले अघिल्ला वर्ष झैँ यसपल्ट पनि टहरोमै दसैँ, तिहार जस्ता महत्वपूर्ण चाडबाड मनाउँदै छन्।

बिहीबार घटस्थापनासँगै शैक्षिक संस्थामा बिदा दिइएको छ । केटाकेटी चंगा फहराउँदै टहरोको माथि–माथि पुर्‍यायाइएर दसैँ बोलाउँदै छन् । पिङ थाप्न गाउँ–गाउँमा बाबियो, पैसा उठाउने लहर चलेको छ । बजारहरुमा किनमेल गर्नेको घुँइचो लागिरहेको छ। सातादेखि गाउँ, बस्तीमा दसैँ मशलाको मिठो बास्ना फिँजिइरहेको छ । भूकम्प पीडित तेल पिस्ने, चिउरा कुट्ने, नयाँ कपडा किन्न चटारोमा छन् ।

            शरद् ऋतुको आगमनसँगै बादल लखेट्दै आउने घमाइलो दिनले चाडबाडको माहोल ल्याएपछि पीडित दसैँको तयारीमा छन्। बाँडेगाउँकै माधवप्रसाद कोइरालाले पनि जमरा राखेर टहरोमा दसैँ भित्र्याएर। टहरोमै भए पनि गच्छेअनुसार हाँसीखुसी दसैँ मनाउने उनी बताउँछन् । ‘चाडबाड हो, टहरोमा पनि रौनक ल्याइहाल्ने रहेछ,’ उनले थपे ।

            जिल्लामा भूकम्पले ९५ प्रतिशतभन्दा बढी घरस ध्वस्त बनाएको थियो । अधिकांश पीडित अझै टहरोमा आश्रित छन्। जनजाति बाहुल्य जिल्ला भए पनि दसैँ, तिहार जस्ता चाडबाड बनाउने समुदाय हिस्सा धेरै छ । पुनर्निर्माणले गति नदिँदा अधिकांश पीडित टहरोमै दसैँ मनाउन बाध्य भएका हुन् । सहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार झण्डै ८० हजार लाभग्राही रहेका सिन्धुपाल्चोकमा पहिलो किस्ता लिने अधिकांशले पुनर्निर्माण थालेका छैनन् ।

            २०७३ वैशाख १२ गते पुनर्निर्माण अभियान सुरु भएयता आफू खुसीसमेत पुनर्निर्माण सकेको झण्डै १० हजार परिवारले मात्र घरमा चाडबाड मनाउँदै छन् । १७ हजार ९ सय ११ घरसंरचना मात्र निर्माणाधिन छन् । १३ हजार ३ सय ६० ले दोस्रो किस्ता पाउँदा १ हजार ८ सय १२ पीडितको हातमा मात्र तेस्रो किस्ता परेको छ । अझै पुनर्निर्माण थाल्न नसकेका ५० हजारभन्दा बढी पीडित परिवारले यो दसैँ टहरोमै बनाउँदै छन् ।

 

 

प्रकाशित: ६ आश्विन २०७४ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App