८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बँदेलको आक्रमणबाट पाँच घाइते

कञ्चनपुर –  जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो। 

नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए। 

घाइत पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

बँदेलका लागि थापेको पासोमा चितुवा 

यसैबीच, डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ। 

मंगलबार स्थानीयले इलाका वन कार्यालय, इलाका प्रहरी, इलाका प्रशासनलाई जानकारी गराएपछि जोगबुडाबाट गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र इलाका वन कार्यालय जोगबुढाबाट चितुवाको उद्धारमा खटिएको टोलीको सहयोगमा पासोमा फसेको चितुवालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी गराए। 

चितुवालाई मंगलबार नै गाडीमा तारजालीभित्र सावधानीका साथ राखी बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्नका लागि लगिएको इलाका वन कार्यालय, जोगबुडाका प्रमुख चिरिञ्जीवी थापामगरले बताए। 

थोरै संख्यामा रहेको लोपोन्मुख जनावर चितुवा हेर्नका लागि परिगाउँको बहादुरे बजार र जोगबुडाको लालढुंगा बजारमा निकै ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो। 

कृषकले जंगली जनावरबाट खेतबारी जोगाउनका लागि थापेको पासोमा सोमबार राति चितुवा परेको स्थानीयको भनाइ रहेको छ। 

मंगलबार बिहान स्थानीय बासिन्दाले पासोमा चितुवा परेको थाहा पाएपछि इलाका वन कार्यालय र प्रहरी कार्यालय तथा इलाका प्रशासन कार्यालय, जोगबुढालाई जानकारी गराएका हुन्। 

प्रकाशित: ४ आश्विन २०७४ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App