२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

घुम्न जान मन छ ? साथी बन्न सक्छ हेटौंडा हाइकर्स

नाकाबन्दीको समयमा घरमा बस्दाबस्दा दिक्क भएपछि मकवानपुरका दुईजना युवा मिलन ढकाल र सुजन मल्ल जिल्लाकै केही ठाउँमा घुम्न भनेर निस्किए। जिल्लाको उत्तरी क्षेत्र सिमभञ्ज्याङबाट पालुङ, बज्रबाराही हुँदै चित्लाङसम्म डुलेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनीहरुका साथीहरुले पनि अब घुम्न जाँदा खबर गर्नका लागि अनुरोध गरे।

पछि अन्य ठाउँमा डुल्न जाने क्रममा उनीहरुसँग अन्य युवाहरु पनि जोडिँदै गए। घुम्न मन पराउने युवाहरुले आफ्नो समूहको नाम हेटौंडा हाइकर्स राखे। यसरी सुरु भएको हेटौंडा हाइकर्स टिमसँग अहिले धेरै युवाहरु जोडिएका छन्। यद्यपी यो संस्था कहिँकतै दर्ता भने गरिएको छैन। हाइकर्सको कोर टिममा करिब १० जना युवाहरु छन्। उनीहरु कहिँकतै भेट भयो कि नयाँ ठाउँमा घुम्न जाने योजना बनाइहाल्छन्। यो टिमसँग घुम्न जान धेरै युवाहरु लालायीत हुने गरेका छन्। यतिसम्म कि नयाँ ठाउँमा पैदल यात्रा जानका लागि निश्चित संख्या निर्धारण गर्ने गरिएको छ।

‘करिब एक महिना अघि भएको पालुङ–आग्रा (उनिउ चौरसम्म) हाइकिङको क्रममा हामीले तोकेको संख्या भन्दा बढी सहभागी भएकोले ‘कोटा’ निर्धारण गर्‍यौंं’, हाइकर्सका संस्थापक मध्येका मिलन ढकाल भन्छन्, ‘आवश्यक व्यवस्थापनमा समस्या हुने गरेकोले अनलाइनबाट रजिष्ट्रेशन गर्नुपर्ने व्यवस्था गरेका हौं। नलगेको भन्दै रिसाउनेहरु पनि छन्। हामीसँग पदयात्रामा जान खोज्नेहरु धेरै छन्।’

जिल्लाको नयाँनयाँ स्थानको पदयात्रा आयोजना गरी हेटौंडा हाइकर्स समूहले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँदै आएको छ। दुईजना युवाबाट सुरु भएको हेटौंडा हाइकर्स अहिले यहाँका युवाहरुको साझा संस्था जस्तै बनेको छ। जहाँ घुम्न गएपनि त्यसक्षेत्रको सरसफाई र आफूले लगेको खानेकुरा लगायतको वस्तुको उचित व्यवस्थापनलाई विशेष प्राथमिकता दिने गरेका छन्। हेटौंडा हाइकर्स टोलीले थाहा नगरपालिकाको पालुङ–आग्रा पदयात्रा गरेपछि अहिले अन्य जिल्लाबाट पनि यस क्षेत्रमा पदयात्रा आउने क्रम बढेको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सुनाए। हेटौंडा हाइकर्स टोलीले हालसम्म जिल्लाका करिब १५ स्थानमा पदयात्रा गरिसकेको छ। नयाँ ठाउँको खोजी गरिरहेको हाइकर्सका प्रसुज मैनालीले जानकारी दिए।

‘केही साथीहरुले सुरु गर्नुभएको हेटौंडा हाइकर्समा अहिले यहाँका धेरै युवाहरु जोडिसक्नुभएको छ। विशेषगरी जिल्लाको विभिन्न स्थानीय तहसँग पनि समन्वय गरेर त्यहाँको ठाउँको प्रवद्र्धन गर्ने योजनामा रहेका छौं’, मैनाली भन्छन्, ‘तपाइँहरु हाम्रो ठाउँमा आइदिनुपर्यो भनेर अनुरोध गर्नेहरु पनि बढेका छन्। हाम्रो उद्देश्य यहाँकै घुम्न लायक ठाउँहरु घुम्ने र त्यसको प्रचारप्रसार गर्ने नै हो।’ पछिल्लो समय थाहा नगरपालिकाको पालुङ–आग्रा पदयात्रामा ११० जना भन्दा बढी सहभागी रहेका थिए। हेटौंडा हाइकर्स समूह र यसले आयोजना गर्ने पदयात्रालाई थप व्यवस्थित बनाउँदै लैजाने योजना रहेको हेटौंडा हाइकर्सका अध्यक्ष कमल पुडासैनीले बताए।

प्रकाशित: २२ भाद्र २०८० ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App