२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दर्ता गरेर मात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

फाइल तस्बिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ।  

आइतवार गरिएको अनुगमनका क्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो।  

गैँडाकोट नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा दुई औषधि पसल दर्ता नै नगरी सञ्चालन भएको पाइएको जानकारी दिइन्।  

गैँडाकोट–११ भेडाबारीमा सुनील मेडिकल हल र गैँडाकोट–१३ बेल्डिहामा सञ्चालित जेनिशा फार्मेसी एवं मेडिकललाई एक साताभित्र दर्ता भएर सञ्चालन गर्न निर्देशन दिइएको भन्दै उनले अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराइएको बताइन्।  

अनुगमनका क्रममा गैँडाकोट–११ भेडाबारीमा सञ्चालनमा आएको सुनिल मेडिकल हल दर्ताबिनै सञ्चालन गरेको भेटिएको कोइरालाले बताइन्। दर्ता नगरी सञ्चालन गरिएको सो मेडिकल हललाई सात दिनभित्र दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिइएको उनले बताइन्। दर्ता नगरी सञ्चालित सुनील मेडिकल हलमा म्याद सकिएका औषधि अत्यधिक भेटिएको भन्दै उनले औषधि राख्ने ठाउँमा फिनेल तथा हारपिक पनि सँगै राखेको पाइएको बताइन्।  

अनुगमन समितिले सो मेडिकल हललाई मूल्यसूची राख्न एवं मापदण्ड पूरा गरी सञ्चालन गर्न सचेत गराएको हो। गैँडाकोट–१३ बेल्डिहाको जेनिशा फार्मेसी एवं मेडिकललाई म्याद नाघेका औषधि तुरुन्त हटाउन, फार्मेसी दर्ता गरेर थप काम गर्दै आएको मेडिकललाई इन्जेक्सन र ड्रेसिङ सेवा सात दिनभित्र दर्ता गरेर मात्र सञ्चालन गर्न, मूल्यसूची राख्न, ड्रेसिङ सेवाबापतको बिल काट्न निर्देशन दिइएको कोइरालाले बताइन्। गैँडाकोट–११ को कमल स्वास्थ्य क्लिनिकलाई क्लिनिकको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिएको छ।  

त्यस्तै गैँडाकोट–१४ मा रहेको अमरापुरी स्वास्थ्य क्लिनिक एवं निश्चल फार्मेसीको औषधि राख्ने स्थानमा हरपिक तथा फिनेल सँगसँगै राखिएको तथा म्याद सकिएका औषधि भेटिएको अनुगमन समितिका सदस्य एवं नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए।  

उक्त क्लिनिकमा बिरामी परीक्षण कक्ष व्यवस्थित नभएको, ल्याबको मापदण्ड पूरा नगरी सञ्चालन गरिएको पाइएपछि एक हप्ताभित्र सुधारका लागि निर्देशन दिइएको उनको भनाइ छ। गैँडाकोट–११ भेडाबारीको कमल स्वास्थ्य क्लिनिकलाई बहिरङ्ग सेवा (ओपिडी) जाँच स्थानको उचित व्यवस्थापन गर्न, ल्याबको मापदण्ड पूरा गर्न सचेत गराइएको पौडेलले बताए।  

त्यस्तै गैँडाकोट–१५ अमरापुरीको केशव औषधि पसल एवं हाम्रो अमरापुरी हेल्थ क्लिनिकलाई आकस्मिक कक्षको सरसफाइमा ध्यान दिन एवं सेवाको मूल्यसूची राख्न निर्देशन दिइएको पौडेलको भनाइ छ। अमरापुरीकै सीता हेल्थ केयर सेन्टर प्रालिद्वारा सञ्चालित सीता मेडिकल हलमा ल्याबको मापदण्ड पूरा नभएको, लेभल (औषधिको मूल्य, उत्पादन मिति र व्याच नम्बर) नभएका एवं म्याद सकिएका औषधि भेटिएपछि तीन सामान जफत गर्दै ल्याबको मापदण्ड पूरा गर्न निर्देशन दिइएको पौडेलले बताए।  

म्याद सकिएको औषधि अत्यधिक पाइएको गैँडाकोट–१६ को अमरापुरीमा रहेको पौडेल मेडिकल एण्ड हेल्थ क्लिनिकलाई म्याद सकिएका औषधिको तुरुन्त व्यवस्थापन र ल्याब व्यवस्थापन गर्न निर्देशन दिएको छ। मुकुन्दसेन डेन्टल केयर प्रालिलाई नगरपालिकामा समेत दर्ता गरी सञ्चालन गर्न र आवश्यक कागजातसहित छलफलका लागि बोलाइएको पौडेलले जानकारी दिए।

लाङ्घाली मेडिकल हल एवं फार्मेसीलाई ल्याब सेवा मापदण्ड पूरा गरी व्यवस्थित गर्न सचेत गराइएको छ। मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थाहरूलाई बन्द गर्ने क्षेत्राधिकार प्रदेशको अनुगमन टोलीलाई मात्रै भएकाले एक हप्ताभित्र दर्ता गर्दै मापदण्ड पूरा गर्न निर्देशन दिएर छोडिएको पौडेलले बताए।  

नगरका बाँकी स्थानमा सञ्चालनमा आएका औषधि पसल तथा स्वास्थ्य संस्थाको समेत क्रमशः अनुगमन गर्दै जाने उल्लेख गर्दै पौडेलले नगरको अनुगमन टोलीको निर्देशन नमानेको खण्डमा अनुगमन र कारबाहीका लागि प्रदेशलाई गुहार्ने बताए। नगरपालिकाभित्र हाल निजी क्षेत्रबाट सञ्चालित चार दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन्।  

प्रकाशित: १८ भाद्र २०८० ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App