५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अलैँचीको नयाँ फसल बजारमा, ४ दिनमै मूल्यमा उतारचढाव

करिव ५ वर्ष अघिको रेकर्ड तोड्दै नयाँ फसल (उत्पादन) बजारमा आउँदा प्रतिमन (४० किलोग्राम) ६० हजार रुपैयाँबाट सुरु भएको अलैँचीको मूल्य एकसाता नबित्दै ओरालो लागेको छ।  

अलैँची व्यवसायी सङ्घका अनुसार शुक्रवार ताप्लेजुङमा सालाखाला अलैँचीको मूल्य प्रतिमन ५७ हजार रुपैयाँ कायम भएको छ। ४ दिन अघि अलैँचीको मूल्य प्रतिमन ६० हजार अर्थात् प्रतिकिलो १ हजार ५ सय रुपैयाँ रहेको थियो।  

अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले राम्रो गोलसाई प्रजातिको अलैँचीको मूल्य सालाखालाभन्दा प्रतिमन १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म बढी मूल्यमा खरिद बिक्री हुने बताए।  

बजारको सुरुमै प्रतिमन ६० हजार रुपैयाँबाटै मूल्य सुरु भएपछि यसपटक मूल्यमा साविकभन्दा बढी हुने अपेक्षा थियो’ रेग्मीले भने, ‘तर, बिक्री मूल्यमा एक साताभन्दा कम अवधिमै ३ हजार प्रतिमनसम्म गिरावट आयो।’  

रेग्मीले यो वर्ष अलैँचीका उत्पादनमा निकै गिरावट आएको अनुमान समेत लगाएका छन्। औलक्षेत्रको अलैँचीको उत्पादन भदौ पहिलो साताबाटै बजारमा आउने गरेको छ। अहिलेसम्म बजारमा आएको अलैँचीको मात्राका आधारमा साविकभन्दा यसवर्ष उत्पादनमा गिरावट आएको हुनसक्ने अनुमान व्यवसायीले लगाएका छन्।  

अलैँचीको मूल्य तेस्रो बजारमा निर्भर हुने गरेको छ । नेपालका लागि अलैँचीको तेस्रो बजारको प्राथमिक केन्द्र भारतीय बजार हुन्। भारत हुँदै अन्य मुलुकमा अलैँची निर्यात हुने गरेको छ।  

उत्पादनको कम मात्र परिमाण नेपाली बजारमा खपत हुने भएकोले अलैँचीको ठूलो परिमाण तेस्रो बजारमा जाने गर्छ। कुनै समय प्रतिमन १ लाख १० हजार रुपैयाँ सम्म पुगेको अलैंचीको मूल्यले त्यो रेकर्ड भने तोड्न सकेको छैन। मुलुक भर १२ हजार ५ सय ८ हेक्टरमा अलैँची खेती हुँदै आएको पाइएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।  

कूल खेतिमध्ये कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा मात्र ११ हजार ६ सय ७ हेक्टर क्षेत्रमा रहेको छ। अलैँचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार ५ सय २० मेट्रिकटन रहेको छ।  

कोशी प्रदेशमा मात्र ६ हजार ९५.९ मेट्रिकटन उत्पादन हुँदै पाइएको छ। कूल उत्पादनको ९३ दशमलव ४९ प्रतिशत अलैँची उत्पादन कोशी प्रदेशमा हुने गरेको छ। नेपालमा सबैभन्दा बढी अलैँची खेति र उत्पादन ताप्लेजुङमा हुने गरेको छ। ताप्लेजुङमा ४ हजार ५ सय हेक्टरमा अलैँची खेती हुने गरेको छ।  

ताप्लेजुङबाट मात्र बार्षिक २ हजार ४ सय ९० टन अलैँची उत्पादन हुने गरेको छ। यद्यपी उत्पादनमा सालिन्दा केहि तलमाथि हुने गर्छ। गतवर्ष राम्रो उत्पादन भएको ठानिएको अलैँचीको उत्पादन यसवर्ष घट्ने अनुमान किसान तथा व्यवसायी दुबैले गरेका छन्।  

प्रकाशित: १५ भाद्र २०८० ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App