१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

कटारीमा व्यक्तिगत घट्ना दर्ता घरबाटै

कटारी नगरपालिका।

उदयपुरको कटारी नगरपालिकाले घरैबाट व्यक्तिगत घट्ना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। नगरपालिकाले व्यक्तिगत घट्ना दर्ता गर्न यसअघि वडा कार्यालय जानुपर्ने बाध्यता हटाउँदै घरघरबाटै अनलाइनमार्फत भर्न मिल्ने प्रविधिको विकास गरेको हो।

इन्टरनेटको पहुँच भएका नगरबासीहरुले घरमै बसेर जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घट्ना दर्ता अनलाइनमार्फत फाराम भरेर गर्न सक्ने प्रबन्ध नगरपालिकाले मिलाएको छ। यो सुविधासँगै अहिलेसम्म व्यक्तिगत घट्ना दर्ता गर्न वडा कार्यालय पुग्नुपर्ने व्यवस्था कटारीमा हटेको छ।

कटारीले गरेको यो सेवा सम्भवतः देशमै पहिलो स्थानीय तह भएको हुनसक्ने अनुमान नगरपालिकाले गरेको छ। नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले कटारीले ल्याएको यो सुविधा सम्भवतः देशका ७ सय ५३ स्थानीयतहमध्ये पहिलो हुनसक्ने बताए। कटारीका बासिन्दाले वडा कार्यालय नआई घरमै बसेर आफ्नो मोबाइल वा ल्यापटप र कम्प्युटरबाट व्यक्तिगत घट्ना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको उनले बताए। व्यक्तिगत घट्ना दर्ता कानुनी सुविधाका लागि अत्यन्त महत्त्वपूर्ण विषय भएकाले सहज सेवा उपलब्ध गराउन यो तरिका अपनाइएको उनले बताए।

इन्टरनेटको पहुँच भएको ठाउँमा नगरवासी जो सुकैले आफ्नै मोबाइलबाट वा घरमा बसेर ल्यापटप र कम्प्युटरमार्फत जुनसुकै बेला व्यक्तिगत घट्ना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको उनले बताए। खराब मौसम, कामको व्यस्तता आदि कतिपय कारणले सबैलाई वडा कार्यालय धाउन समस्या हुने र कार्यालय आउँदा पनि कहिले काहीँ कर्मचारी नहुँदा घट्ना दर्ता गर्न ढिला हुँदा महत्त्वपूर्ण काम रोकिन सक्ने भएकाले यो विकल्प उत्तम व्यवस्था भएको मेयर श्रेष्ठले बताए।

घरबाटै घट्ना दर्ता गर्ने व्यवस्था मिलाइए पनि नगरवासीलाई घट्ना दर्ताको प्रमाणपत्र लिन भने वडा कार्यालय आउनुपर्ने छ। कुनै पनि व्यक्तिगत घट्ना भएको ३५ दिनभित्र दर्ता गर्दा शुल्क नलाग्ने कानुनी व्यवस्था सरकारले गरेको छ। तर, ३५ दिन नाघेपछि दर्ता गर्दा भने १० देखि ५० रुपैयाँदेखि आवश्यकता र औचित्यको आधारमा स्थानीय पञ्जिकाधिकारीले शुल्क लिन सक्ने प्रावधान छ।

घरघरबाटै व्यक्तिगत घट्ना दर्ता गर्ने व्यवस्था भएपछि नगरवासीलाई सहज भएको कटारी ६ का स्थानीय करण राईले बताए। उनका अनुसार यसअघि वडा कार्यालय धाउनुपर्ने बाध्यता यो व्यवस्थाले हटाउँदा सेवाग्राहीलाई सहज भएको छ। अहिलेको जमानामा हात हातमा मोबाइल र प्रविधिको पहुँच भएकाले त्यसको सदुपयोग गर्न नगरपालिकाले ल्याएको यो सुविधा स्वागतयोग्य भएको कटारी ८ का पूर्व वडाध्यक्ष कमल श्रेष्ठले बताए।

प्रकाशित: १४ भाद्र २०८० ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App