२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अकुत सम्पत्ति मुद्दामा मनाङेलाई सफाइ

काठमाडौं- आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा 'गुन्डा नाइके' दीपक मनाङे भन्ने राजीव गुरुङले सफाइ पाएका छन्। विशेष अदालतले उनीसँगै श्रीमती  पासाङ डोमा गुरुङलाई समेत सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार आरोप पुष्टि हुन नसकेको भन्दै दुवै जनालाई सफाइ दिएको हो।

ठमेललाई आधार क्षेत्र बनाएर आपराधिक गतिविधिमा सक्रिय मनाङेको सम्पत्तिबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेका थिए। ब्युरो र विभागले मनाङेसहित ६ जना गुन्डा नाइकेको सम्पत्तिको अनुसन्धान गरेर २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थिए।

विशेष अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार आरोप पुष्टि हुन नसकेको भन्दै दुवै जनालाई सफाइ दिएको हो।

ब्युरो र विभागले मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति देखिएको र त्यसको स्रोत नखुलेको दावीगर्दै विशेषमा मुद्दा दायर गरेका थिए।

विशेषको फैसलामा 'आरोप दाबी सप्रमाण पुष्टि हुन नसकेकाले प्रतिवादीले आरोप दाबीबाट सफाइ पाउने' उल्लेख छ।

मनाङेसहित कहलिएका गुन्डा नाइके चक्रे मिलन, गणेश लामा, परशुराम बस्नेत र अभिशेक गिरीविरुद्ध विशेषमा अवैध सम्पत्तिको मुद्दा दायर भएको थियो।

अभियोगपत्रमा उनको नाममा कुनै पनि अचल सम्पत्ति फेला नपरेको उल्लेख थियो। उनकी श्रीमतीका नाममा काठमाडौंमा करिब तीन रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा रहेको, गोसाइँकुण्ड क्रसर रोडाढुंगाको नाममा मकवानपुरमा १४ कट्ठा जग्गा, विभिन्न बैंकमा उनको नाममा दुई हजार ५ सय ६२ रुपैयाँ रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ। उनकी श्रीमतीका नाममा ५६ हजार रुपैयाँ देखिएको थियो।

दीपकको नाममा गोसाइँकुण्ड क्रसर, ओम मल्टिपर्पोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगारोडामा गरी करिब ५० लाख सेयर लगानी रहेको र यी सबै लगानी उनले आपराधिक गतिविधिबाट आर्जन गरेको दाबी गरिएको थियो।

मुद्दा दायर भएपछि उनी पक्राउ परेका थिए। तीन महिना जेलमा बसेर उनी विशेषले मागेको धरौटी रकम बुझाएर छुटेका थिए।

चार जानको मुद्दा टुंगिन बाँकी

गुन्डा नाइकेहरुको अवैध सम्पत्तिबारे अनुसन्धान गर्न र मुद्दा अदालतसम्म पुर्‍याउन चार वर्ष लागेको थियो। विभागसँगको समन्वयमा ब्युरोले यी सबैको सम्पत्ति विवरणको अनुसन्धान गरेको थियो।  मनाङेको मुद्दा टुंगो लागे पनि अन्यको मुद्दा टुंगो लागेको छैन।

अनुसन्धानमा सम्पत्तिको लामो फेहरिस्त लामाको देखिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको देखिएको थियो।

लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गालगायत २७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।

बस्नेतका सहयोगी मुकेश बस्नेतको नाममा मोरङमा ४२ रोपनी जग्गा, तीनवटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्› निर्माण सेवालगायतमा लगानीसहित ११ करोड अवैध सम्पत्ति रहेको अभियोग छ।

चक्रे मिलनको नाममा काठमाडौंमा सात आना जग्गा र  उनको परिवारको नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड र अर्का गुन्डा नाइके गिरीको नाममा २ करोड ९४ लाखको अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।

प्रकाशित: ५ भाद्र २०७४ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App