८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सिँचाइ पुगेपछि व्यावसायिक बन्दै भार्लाङका किसान

भरतपुर महानगरपालिका २९ स्थित भार्लाङमा खेतीपातीका लागि उपयुक्त जमिन छ। यद्यपि यहाँका किसानले पर्याप्त सिँचाइ नहुँदा राम्रो उब्जनी गर्न सकेका थिएनन्। हिजोआज सिँचाइ पुगेपछि त्यहाँका किसानले राम्रो उत्पादन लिन थालेका छन्। परम्परागत खेती गर्दै आएका किसान गत वर्षदेखि व्यावसायिक खेतीतर्फ अग्रसर छन्।

भार्लाङका चित्रबहादुर गुरुङ सिँचाइ आएपछि खेती विस्तार गर्न थालेका छन्। विगतमा जेनतेन दुई कट्ठामा मात्र धान रोप्दै आएका गुरुङले यसपटक नौ कट्ठामा रोपेका छन्। ‘सिँचाइ अभाव थियो। यहाँ कोदो, मकै, गहत, मास मात्र उब्जनी हुन्थ्यो’, ट्यांकी निर्माण गर्न जग्गासमेत दिएका गुरुङले हराभरा भएको खेत देखाउँदै भने, ‘यसपालि मकै भाँचेर धान रोपेको छु। धान काटेपछि तरकारी खेती गर्ने योजना छ।’ सिँचाइ आएपछि चैते धानसमेत रोप्ने योजना रहेको उनले सुनाए।

भार्लाङकै माया गुरुङले कहिल्यै धान नरोपेको ठाउँमा यस वर्ष रोपिन्। आकाशे पानीका भरमा खेती गर्दै आएकी गुरुङले खेतमै पानी आएपछि धान रोपेकी हुन्। विगतमा उनले धान रोप्न प्रयास नगरेकी होइनन्। तर, कठिन भएकाले रोप्न छाडेकी थिइन्।

सिँचाइ कुलो नहुँदा हिउँदे खेती लगाउन नपाएर पूरै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय ओमलाल श्रेष्ठ बताउँछन्। ‘मकै, कोदो लगाउँथ्यौं। तरकारी र धान रोप्न पानी नहुने’,उनले भने, ‘यस वर्ष आठ कट्ठामा धानसमेत रोपेको छु। अहिलेसम्म राम्रै छ।’ उनले तरकारी खेतीसमेत विस्तार गर्ने योजना रहेको सुनाए। पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने, मेहनत पनि खेर जाने समस्या अब हटेको बताए। प्रेम माया गुरुङ खहरे खोलाबाट पानी ल्याएर खेत रोप्ने गर्दथिन्। टाढाबाट पानी ल्याउँदा लागतसमेत उठाउन समस्या थियो। अहिले सिँचाइ सुविधा हुँदा सबैलाई सहज भएको उनले बताइन्।

भार्लाङमा सिँचाइ सुविधा पुगेको एक वर्ष भयो। भरतपुर महानगरको सहयोगमा करिब तीन किमि दूरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याएको स्थानीय सन्तोष श्रेष्ठले बताए। खोलाको पानी ट्यांकीमा संकलन हुन्छ। त्यहाँबाट पाइपमार्फत किसानका खेतखेतमा पानी पु¥याइएको छ। भार्लाङ सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका ६५ घरधुरी लाभान्वित भएका छन्। यसले करिब २० देखि २५ बिघा क्षेत्रफलमा सिँचाइ पुग्ने उनले बताए।

अहिले यहाँका सबै किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन्। ‘यहाँका किसानले तरकारीमा सिमी, काँक्रो, लौका, करेला लगाउँछन्’, उनले भने, ‘गत वर्ष किसानले ७० लाखको हाराहारीमा तरकारी बेचेका थिए।’ समितिले पानी प्रयोग गर्ने किसानबाट शुल्कसमेत उठाउने गर्दछ। सो पैसा दुईजना हेरालु र पानी मर्मतका लागि खर्च गरिने उनले जानकारी दिए।

भार्लाङ सिँचाइ योजना सम्पन्न गर्न महानगरले ७१ लाख रूपैयाँ खर्च गरेको इन्जिनियर विजयराज न्यौपानेले जानकारी दिए। उनका अनुसार, इन्टेक मेन पाइप लाइनमा ४३ लाख, ट्यांकी निर्माणमा २० लाख र शाखा पाइपलाइन विस्तारमा आठ लाख रूपैयाँ खर्च भएको छ। आयोजना २०७८ सालदेखि सुरु भएको थियो। गत वर्षदेखि किसानले पानी प्रयोग गर्न पाएका छन्।

ट्यांकीको क्षमता डेढ लाख लिटर छ। सिँचाइ सुविधा पुगेपछि गाउँ नै हराभरा भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन्। औपचारिक रूपमा आयोजना उद्घाटन गर्दै दाहालले महानगरले सिँचाइलाई प्राथमिकता दिएको बताइन्। ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले काम गरिरहेका छौं। सबै क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन महानगर लागिपरेको छ।’  

भरतपुर महानगरले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ। पाँच वर्षको अवधिमा विभिन्न आयोजनासँग समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइ व्यवस्था गरिएको महानगर प्रमुख दाहालले बताइन्।  

प्रकाशित: १२ भाद्र २०८० ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App