१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

यस्तो छ तस्करले बनाएको सुनको अम्खोरा, यही बोकेर जान्छन् तस्करका भारतीय प्रेमिका

समाचार स्रोतले नागरिकन्यूजलाई उपलब्ध गराएको ‘सुनको अम्खोरा’। यो अम्खोरा राजधानीकै कुनै स्थानमा तयार गरिएको हो। सुन तस्करीमा संलग्न चिनियाँ नागरिकले यस्तो अम्खोरा बनाएर भारतीय महिला मार्फत भारत तस्कर गर्दै आइरहेका छन्।

सुन प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक पछि अर्को तथ्य फेला पारिरहेको छ।

सुन तस्करीमा संलग्न चिनियाँहरूले भारतीय महिलालाई प्रेमिका बनाएर काठमाडौँका क्यासिनोमा लैजाने र ठमेलका होटेलमा राख्ने गरेको तथ्य पनि सिआइबीले संकलन गरेको छ।

स्रोतका अनुसार चिनियाँ गिरोहले तीनै भारतीय महिला मार्फत तस्करीको सुन भारत तस्करी गरिरहेको पाइएको छ। तस्करी गरेर भित्राएको सुनलाई ‘कचौरा’ र ‘अम्खोरा’ बनाउने र भारत पुर्‍याउने गरेको पाइएको छ।

भारततिर सुन ओसार्न लगाइएका केही महिलालाई सिआइबीले पक्राउ समेत गरेको भए पनि उनीहरूले मूल कारोबारी खुल्ने बयान दिएका छैनन्। ‘सिआइबीका एक अधिकारीले भने, ‘अनुसन्धान हुँदैछ, उनीहरू भारतीय हुन्।’

अनुसन्धानरत स्रोतका अनुसार सीमापारि सुन पुर्‍याउन खासगरी भारतीय महिलालाई ठमेलका होटेलमा राख्ने, क्यासिनोमा लैजाने, पशुपतिनाथको दर्शन पनि गराउने र स्वदेश फर्कँदा एक एकवटा सुनसहितका कचौरा र अम्खोरा दिएर पठाउने गरेको पाइएको हो।  

त्यस्ता अम्खोरा र कचौराको भित्रपट्टि सुन राखेर तामा र पित्तलको जलपले छोपेर तस्करले सीमा कटाउने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले हङकङ र चीनका अधिकारीसँग पनि सुन तस्करी अनुसन्धानमा सघाउन अनुरोध गर्नुका साथै आवश्यक विवरण मागेको छ। हङकङस्थित केही नेपाली व्यवसायी र व्यक्तिले कार्यालय नै खोलेर सुन तस्करी गरिरहेको आशङ्का नेपाल प्रहरीको छ।

राजस्व अनुसन्धान विभागले सुरुमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वाङ लिन, याओ पुचेङ र ली वेन सुङलाई यसअघि भारतीय राजस्व गुप्तचर निर्देशनालयले पनि पक्राउ गरेको थियो। सन् २०१९ को सेप्टेम्बरमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट याओ पुचेङ ६ किलो सुनसहित पक्राउ परेको सिआइबीले स्रोतले जनाएको छ। उनीसँग भारतीय नागरिकताको प्रमाणपत्र र अन्य दुईसँग नेपाली नागरिकता र पासपोर्ट भेटिएको छ।

ली वेनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता र राहदानी लिएको स्रोतको दाबी छ। उनले छिरिङ लामाको नामबाट सन् २०२२ जनवरी १६ मा राहदानी विभागबाट राहदानी लिएको स्रोतले जनाएको छ। सिआइबी अनुसन्धानबाट चिनियाँ गिरोहले नेपाल ल्याएको तस्करीको सुन भारततिर पठाउने गरेको खुलेको छ।

सुन गालेर घरमा उपयोग हुने विभिन्न सामानमा राखेर पठाएको पाइएको छ। ‘अम्खोरा र कचौरा बनाएर लैजाने गरेको पाइएको छ’, स्रोतले भन्यो। सुन तस्करीमा सिआइबीले अनुसन्धान गरिरहेको छ। यो अन्तरदेशीय अपराधसमेत भएकाले नेपाल प्रहरीको विशेष ब्युरोले पनि अनुसन्धान गरिरहेको छ।

नेपालमा सुन तस्करी कुन तहसँग भइरहेको छ भन्ने एउटा मात्र उदाहरण हो, तामा वा पित्तलको जलप लगाइएका तर सुनले बनाइएका ‘कचौरा र अम्खोरा’। त्यसो त सुन तस्करहरूले घडीका पुर्जा, पानी तान्ने पम्पदेखि मोटरसाइकलको ब्रेक सुमा समेत सुन ओसारिरहेकै छन्। र, त्यही सुनलाई घरेलु प्रयोजनका भाँडाकुँडा बनाउन पनि भ्याएकै छन्।

यसरी चिनबाट तस्करी गरिएको सुनलाई सजिलै र सुरक्षित तरिकाले  भारत पुर्‍याउन ‘कचौरा’ र ‘अम्खोरा’ समेत बनाइँदो रहेछ। सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस्तो तथ्य फेला पारेको छ। तर यससँग जोडिएका धेरै तथ्य सम्म भने अनुसन्धान अधिकृतहरू पुग्न सकेका छैनन्।

प्रकाशित: १० भाद्र २०८० १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App