१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

तस्करका 'ट्रिक': महिलालाई पशुपतिनाथ दर्शन गराउने, सुनका ‘कचौरा’ र ‘अम्खोरा’ दिँदै पठाउने

नेपालमा सुन तस्करी कुन तहसँग भइरहेको छ भन्ने एउटा मात्र उदाहरण हो, तामा वा पित्तलको जलप लगाइएका तर सुनले बनाइएका ‘कचौरा र अम्खोरा’।

त्यसो त सुन तस्करहरूले पानी तान्ने पम्पदेखि मोटरसाइकलको ब्रेक सुमा समेत सुन ओसारिरहेकै छन्। र, त्यही सुनलाई घरेलु प्रयोजनका भाँडाकुँडा बनाउन पनि भ्याएकै छन्।

यसरी चिनबाट तस्करी गरिएको सुनलाई सजिलै र सुरक्षित तरिकाले  भारत पुर्‍याउन ‘कचौरा’ र ‘अम्खोरा’ समेत बनाइँदो रहेछ। सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस्तो तथ्य फेला पारेको छ। तर यससँग जोडिएका धेरै तथ्य सम्म भने अनुसन्धान अधिकृतहरू पुग्न सकेका छैनन्।

स्रोतका अनुसार सुन लैजान भारतीय नागरिकलाई ठमेलको एक होटेलमा राख्ने, खासगरी महिलालाई पशुपतिनाथको दर्शन गराउने, यताबाट जाँदा एक एकवटा कचौरा र अम्खोरा दिएर पठाउने गरेको पाइएको छ। त्यस्ता अम्खोरा र कचौरा भित्रपट्टि सुन राखेर बाहिर तामा र पित्तलको जलप हुने गरेकाले त्यसबारे कसैलाई शङ्का नहुने बताइएको छ।  

स्रोतका अनुसार नेपालकै कारखानामा तयार पारेर त्यस्ता सामान भारततर्फ लैजाने गरिएको छ।  

‘सुन ल्याउने समूह पहिचान भएको छ, त्यसमा चिनियाँ नै संलग्न छन् भन्ने यकिन गरेका छौँ। सुन भारततर्फ जान्छ भन्नेमा पनि यकिन छ तर त्यो कुन समूहले किन्छ, भारतीय व्यापारी कति संलग्न छन् भन्नेबारे अझै खुल्न सकेको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।  

सिआइबीको अनुसन्धानबाट चिनियाँ गिरोहले नेपाल ल्याएको तस्करीको सुन भारतबाट दर्जनौँ मानिस आएर लिएर लाने गरेको खुलेको छ। उनीहरूले सुन गालेर घरमा उपयोग हुने विभिन्न सामान बनाएर भारत लैजाने गरेको पाइएको छ। सिआइबीले अनुसन्धान गरिरहे पनि अन्तर्देशीय अपराधसमेत भएकाले विशेष ब्युरोले पनि यसलाई नजिकबाट हेरिरहेको छ।

ब्युरोका एक अधिकृतले दिएको जानकारीअनुसार नेपालमा सुन गालेर भारत लैजाने कार्यमा धेरैजसो महिला प्रयोग भएको र ती महिलाले घरायसी सामानका रूपमा सुन लिएर जाने गरेका थिए।

सिआइबीले सुन तस्करीबारे एसपी सञ्जय थापाको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। त्यसको अनुगमन डिआइजी यज्ञविनोद पोखरेलले गरिरहेका छन्। छुट्टै कार्यालय खोलेर अनुसन्धान गरिरहेको सिआइबीले अझै दक्ष जनशक्ति आवश्यक रहेको भन्दै केही प्रहरी अधिकारीलाई सिआइबीमा ल्याउन खोजेको छ।

यी घटनाक्रम हेर्दा अन्तर्देशीय सुन तस्करी दशकौँदेखि चलिरहेको अवैध धन्दा हो, यसमा शक्तिशाली र पहुँचवालाहरूको संलग्नता छ र अहिलेसम्म यसको जरोमा पुग्ने गरी अनुसन्धान भएकै छैन।  

तस्करीको माथिल्लो तहकाहरु कहिल्यै पक्राउ परेका छैनन्। यो अनुसन्धान निकाय र तीनका पदाधिकारीका लागि चुनौती बन्दै गएको छ ।

प्रकाशित: ८ भाद्र २०८० ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App