प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच आज भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मेजर जनरल एण्डीको नेतृत्वमा नेपालको पाँच दिवसीय भ्रमणमा आठ सदस्यीय सीमा सुरक्षा टोली आजै आएको हो। उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए।
टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक सङ्ग्रहालय लगायतका सैनिक इकाइ तथा काठमाडौँ र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीयस्थलको भ्रमण अवलोकन गर्नेछ।
यसखाले भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नाका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।
प्रकाशित: ३१ श्रावण २०८० १२:२६ बुधबार