२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराका निजी अस्पतालमा आँखाको निशुल्क उपचार

सर्वसाधारणमा आँखा पाक्ने रोग फैलिँदै गएपछि पोखराका विभिन्न निजी अस्पतालले निशुल्क उपचार र औषधि वितरण सेवा सुरु गरेका छन्। पोखरा महानगरपालिकाको समन्वयमा अस्पतालले निशुल्क आँखा परीक्षण तथा औषधी वितरण सेवा दिएका हुन्।  

आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिका भित्र बढिरहेकाले त्यो संक्रमणको चक्रलाई रोक्न विभिन्न अस्पतालले निशुल्क सेवा दिएका हुन्। यहाँको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, दृष्टि आँखा हस्पिटल र हिमालय आँखा अस्पतालले निशुल्क टिकट, आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी सेवा प्रदान गरेका छन्।  

महानगरबासिको आँखा उपचारमा सहजीकरण गर्नका लागि अस्पताल र पोखरा महानगरबीच सम्झौता भएको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र अस्पतालबीच सम्झौता भएको महानगरले बताएको छ। मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल, चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल, दृष्टि आँखा हस्पिटल प्रालिका अध्यक्ष महेश्वर पोखरेल तथा हिमालय आँखा अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा इलिया श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा बिच छुट्टाछुट्टै सम्झौता भएको महानगरले बताएको छ।  

महानगरका सूचना अधिकारी किरणप्रसाद कोइरालाका अनुसार महानगरभित्र आँखाका बिरामी बढिरहेकोल उपचारमा सहजीकरण र छिटो होस भनेर अस्पताललाई निशुल्क उपचारका लागि अनुरोध गरिएको थियो। महानगरको त्यही अनुरोधलाई स्वीकार गरेर अस्पतालले सेवा दिएको कोइरालाले बताए। ‘पोखराभित्र आँखा पाक्ने रोग निकै नै फैलिएको छ। एउटै अस्पतालको भरमा उपचारमा अप्ठेरो परेपछि अन्य निजी अस्पताललाई पनि उपचारमा सहजीकरण गर्न महानगरले अनुरोध गरेको थियो। महानगरको अनुरोधमा चारवटा अस्पतालले निशुल्क सेवा दिएका हुन,’ कोइरालाले भने, ‘बिरामीले छिटो र छरितो तरिकाले उपचार पाउन् भन्ने उद्देश्यले गरिएको हो।’

मुलुकका विभिन्न भागमा फैलिइरहेको आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकोले यसको संक्रमण चक्रलाई रोक्ने उद्देश्य राखिएको उनले बताए। व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि सो समझदारी गरिएको अस्पतालले बताएका छन्। यी अस्पतालमा गत बुधवारदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निशुल्क उपचार हुनेछ। टिकट सहित निशुल्क परीक्षण र औषधी समेत वितरण सुरु गरिएको छ। बिरामीले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सक्नेछन्।

यसअघि पोखरा महानगरपालिकाले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधवारदेखि शुक्रबारसम्म मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा पठनपाठन रोक्न निर्देशन दिएको थियो। यतिबेला पोखराका विद्यालयमा पठनपाठन बन्द छ।  

प्रकाशित: २६ श्रावण २०८० ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App