५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सत्तापक्षका सांसदहरुको मागः सुन तस्करी नियन्त्रणमा संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्छ

सत्तारुढ राष्ट्रिय सभाका सांसदहरुले पनि सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।

सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टी, नेपाल सांसद मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले सुन तस्करी, ललिता निवासलगायतका भ्रष्टाचार काण्डहरुको तथ्य पत्तालगाई बाहिर ल्याउन संसद र संसदीय समितिहरुले कडा कदम चाल्नुपर्ने बताएका हुन्।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ काँग्रेस सांसद पौडेलले अन्तर्राष्ट्रिय जगतमा नै नेपालको अपमान हुनेगरी चर्चित सुनकाण्ड बाहिर आएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न संसदले प्रभावकारी कदम चाल्नुपर्ने बताए। पछिल्लो सुन काण्डले झनै मुलुकको मान, सम्मान घटेर जाने सम्भावना बढेर गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला सबै पक्षसँग बसेर छलफल गर्न आवश्यक्ता रहेको समेत उनले बताए।

सांसद पौडेलले भने,  ‘यो चर्चित सुनकाण्ड, ललिता निवास आदिइत्यादि। करप्सन र सुशासन भनेको यो ठिक अपोजिट कुरा हो। हामीले सुशासन कायम गर्न नसक्ने हो भने यो त हरेक दिन बढेको छ। अन्तराष्ट्रिय स्तरमा पनि नेपालको मान, सम्मान घट्ने सम्भावना बढेर गएको छ। त्यसप्रति पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ।’

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुनु मुलुकका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सम्बन्धित पक्षमाथि कडा छानबिन गर्नुपर्ने बताए। उनले सुन तस्करी, ललिता निवासलगायतको छानबिन गरी दोषीलाई उम्कन नदिने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्ने बताए।

यता, सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले मौद्रिक नीति र वित्तीय नीतिमा तालमेल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति वित्तीय नीतिसँग तालमेल नहुनु मुलुकका लागि गम्भिर विषय भएको उल्लेख गर्दै त्यस विषयमा सम्बन्धित पक्षसँग संसद र संसदीय समितिले छलफल गर्नुपर्ने बताए।  

प्रकाशित: १२ श्रावण २०८० १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App