१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

विमानस्थलबाट फर्काइएपछि अध्यागमन प्रमुखको राजीनामा माग

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ। वैदेशिक रोजगार संघ र म्यानपावर व्यवसायीले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन्।

विभिन्न प्लेकार्डसहित अध्यागमन विभाग पुगेका व्यवसायीले विनाकारण श्रमिकलाई दुःख दिएको भन्दै अध्यागमन विभाग प्रमुखको राजीनामा मागेका थिए। श्रम कार्यालयले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दियो। तर, विदेश उड्न विमानस्थल पुग्दा अध्यागमनले फर्काइदियो। कुबेत हिँडेका १ सय ३८ नेपाली कामदार सरकारी निकायबीच ‘समन्वय नहुँदा’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन्।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागतरूपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डन लगायतका देशमा जान लागेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विनाकारण फर्काएको दाबी गर्दै संघ र म्यानपावरवालाले विरोध गरेका छन्।

विभिन्न प्लेकार्डसहित अध्यागमन विभाग पुगेका व्यवसायीले विनाकारण श्रमिकलाई दुःख दिएको भन्दै अध्यागमन विभाग प्रमुखको राजीनामा मागेका थिए।

व्यवसायीले अध्यागमनका महानिर्देशकको राजीनामा माग गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विनाकारण अध्यागमनका कर्मचारीले कामदारलाई रोकेकाले विरोध गर्नुपरेको बताए। अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने भण्डारीले चेतावनी दिए। कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी दिए।

‘हालसम्म १ सय ९० जनाभन्दा बढीको संख्यामा विनाकारण अध्यागमनले फर्काइसकिएको छ। यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिकरूपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौं। कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ,’ अध्यक्ष भण्डारीले भने।

सबै प्रक्रिया पूरा गरे पनि श्रमिकलाई अध्यागमन कर्मचारीले दुःख दिने नियतले गन्तव्य मुलुक जान नदिएको उनले बताए। उनले भने, ‘यसमा अध्यागमन विभागका महानिर्देशकको एकल बदनियत देखिन्छ।’ कामदार भिसामा श्रम गरेर वैदेशिक रोजगारीमा उड्न लागेका नागरिकलाई अध्यागमनले फिर्ता पठाउने क्रम रोकिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार पनि ३७ जनालाई उड्न रोक लगाएको हो।

श्रमिकहरूको हवाई टिकटलगायत क्षतिपूर्ति अध्यागमनले बेहोर्नुपर्ने र उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग राख्दै विभाग घेराउ गरेका हुन्। माग पूरा नभए हामी वैदेशिक रोजगारीमा श्रमिक पठाउनै बन्द गर्छौं। त्यसबापत जति क्षति र असर पुग्छ त्यसको जिम्मेवार अध्यागमन हुनुपर्छ भन्दै भण्डारीको आक्रोश छ।

‘१ सय १७ जना फकाईएको मध्ये आज मात्र १५ जनाको भिसाको अवधि सकिएको छ। दुई पटक टिकट लिएर पठाइयो। एक जना बराबर १ लाख २० हजार गयो। ३७ जना दोहोर्‍याएर गएकालाई पनि फेरि फिर्ता गर्‍यो। रोक्नुपर्ने कारण पनि छैन। बकाइदा भिसा छ। श्रम स्वीकृति छ तर किन फर्काइरहेको थाहा छैन,’ म्यानपावर व्यवसायीले आक्रोश पोखे। यसरी श्रमिक फर्काउँदा श्रमिकहरूको एक करोड रूपैयाँभन्दा बढी घाटा भइसकेको पनि भण्डारीले जानकारी दिए। अध्यागमनले भने श्रमिकहरूको कागजात शंकास्पद भएका कारण फर्काइएको बताउँदै आएको छ।

सबै प्रक्रिया पूरा गरे पनि श्रमिकलाई अध्यागमन कर्मचारीले दुःख दिने नियतले गन्तव्य मुलुक जान नदिएको उनले बताए।

अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार मंगलबार बेलुकी ३७, बुधबार बेलुकी ८७ र बिहीबार बिहान १४ जनालाई कुबेत जान रोक लगाइएको हो। ती कामदारका श्रम गरिएको कागजपत्रमा शंका लागेपछि यात्रामा रोक लगाइएको ढकालले बताए।

संघका कर्मचारीले यसअघि पनि यस्तै भिसामा कुवेत लाखौं नागरिक गइसकेको समेत दाबी गरे। ‘यस्तै भिसामा यसअघि लाखौं नागरिक कुवेत पुगेका छन्। तिनलाई त्यहाँको सरकारले अवैधानिक भनेको छैन। यहाँको अध्यागमनले नाटक मात्रै गरेको छ। अध्यागमनले आर्थिक चलखेलका लागि नाटक गरेको,’ संघका कर्मचारीको भनाइ छ।

नेपाल सरकारको एउटा निकायले प्रमाणीकरण गरेको डकुमेन्ट अर्को निकायले नक्कली भन्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपालकै बेइज्जत हुने अवस्था आएको संघका कर्मचारीहरूको भनाई छ। सरकारका सबै प्रक्रिया पुरा गरी र श्रम लिएर वैदेशिक रोजगारीमा हिँडेका नागरिकलाई एयरपोर्टबाट पटकपटक फिर्ता गरिएपछि अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालको बेइज्जत भएको नेपाल वैदेशिक रोजगार व्यवसायीले जनाएको छ।

अध्यागमनको यस्तो कार्यले अन्तर्राष्ट्रिय बजारमा नेपाल सरकारप्रति अविश्वास पैदा हुने स्थिति आएको भन्दै संघका महासचिव मेघनाथ भुर्तेलले गुनासो गरे।

महानिर्देशकको निर्देशनमा वैदेशिक रोजगारमा जान हिँडेका श्रमिकहरूलाई दुःख दिने उद्देश्यले बिना कारण शंकाको भरमा विमानस्थलबाट फर्काएको आरोप उनीहरूको छ। कुवेत तथा जोर्डन हिँडेका श्रमिकहरूको भिसालगायत कागजात शंकास्पद भएको भन्दै अध्यागमन कार्यालयले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको भन्दै आएका छन्।

विमानस्थलमा छुट्टै डेस्क राखेर निगरानी बढाएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनामा ब्युरोको कुनै संलग्नता नभएको जनाएको छ। ब्युरोका सूचना अधिकारी कृष्णप्रसाद पंगेनीले भने ‘यो हामीले गरेको होइन, अध्यागमनले गरेको हो। अध्यागमनले रोकेको विषयमा ब्युरोलाई जानकारी छैन।’

वैदेशिक रोजगारीमा जान लागेका नागरिक मानव बेचबिखनमा पर्न नपरोस् भनेर ब्युरोले वैदेशिक रोजगारीमा जानेलाई चेकजाँच गर्दै आएको छ।

महानिर्देशकको निर्देशनमा वैदेशिक रोजगारमा जान हिँडेका श्रमिकहरूलाई दुःख दिने उद्देश्यले बिना कारण शंकाको भरमा विमानस्थलबाट फर्काएको आरोप उनीहरूको छ।

श्रम कार्यालयले भने सम्पूर्ण प्रक्रिया पुर्‍याएर मात्रै श्रम स्वीकृति दिइएको जनाएको छ। श्रम कार्यालय ताहाचल प्रमुख पार्वती अर्यालले भनिन्, ‘मागपत्र, ग्यारेन्टी पत्र, भिसा, दूतावासको प्रमाणीकरणलगायत ऐन, निर्देशिकाअनुसार श्रम गरेका छौं।’

आफूहरूले श्रम गरेको नागरिक अध्यागमनले फिर्ता गरेको सञ्चार माध्यमबाट थाहा पाए पनि औपचारिक जानकारी भने नभएको उनले सुनाइन्। म्यानपावर व्यवसायीअन्तर्गत सबै प्रक्रिया पूरा भएको हुँदा विभागमा म्यानपावर व्यवसायीका सबै कागत भएको अर्यालको भनाइ छ। उनले कुनै म्यानपावर व्यवसायीले नक्कली कागजपत्र पेस गरेको भए उनीहरू नै जवाफदेही हुने भएकाले घटनाको प्रवृत्ति थाहा नपाई केही भन्न नसकिने बताइन्।  

प्रकाशित: १ श्रावण २०८० ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App