७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अवैध रूपमा अमेरिका जान खोज्दा ठगिए युवा

रुकुम (पूर्व र पश्चिम) मा अमेरिका छिर्ने अभियानको होड चलेको छ। उक्त होडका कारण मानव तस्करी गर्नेलाई सघाउ पुगिरहेको छ। रुकुममा अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने होड आफ्नो घरको पहिले कि छिमेकीको भन्ने स्थितिसम्म पुगेको छ।

अमेरिका छिर्ने सपना पूरा हुन सहज छैन। तर पनि ज्यानको बाजी लगाई रुकुमका स्थानीय दिनप्रतिदिन अमेरिका छिर्ने प्रयासमा हुन्छन्। केहीको सपना पूरा नहुने पनि होइन तर निराश बनेकाहरूको संख्या पनि कम छैन। कानुनविपरीत अमेरिका प्रवेश गर्नेमा रुकुम पहिलो र दाङ दोस्रो स्थानमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवन श्रेष्ठ बताउँछन्। उनका अनुसार रुकुमका अधिकांश घरका सदस्यले अवैधानिक तवरले अमेरिका प्रवेश गरेर त्यहाँको ग्रिन कार्डसमेत हासिल गरेका छन्।

अमेरिका प्रवेश गर्ने चक्करमा रहेका रुकुमका २९ वर्षीय एक युवकले सामाजिक सञ्जालमा भेटिएका एक एजेन्टलाई अमेरिका प्रस्थान गराउने सर्तमा १९ लाख बुझाए। ‘मलाई अमेरिका पुर्‍याउने वाचासहित ती एजेन्टको घरमा बोलाएर खसी काटेर भोज पनि खुवाए। त्यही एजेन्टले कतिपय रुकुम तथा दाङका स्थानीयलाई अमेरिका पुर्‍याएका रहेछन्,’ उनले भने, ‘भाग्यमा हुनुपर्ने रहेछ अमेरिका छिर्न। म भने अभागी ठहरिएँ।’

अमेरिका छिर्ने सपना पूरा हुन सहज छैन। तर पनि ज्यानको बाजी लगाई रुकुमका स्थानीय दिनप्रतिदिन अमेरिका छिर्ने प्रयासमा हुन्छन्।

अमेरिका पुगेका साथीको भनाइ उद्धृत गर्दै युवकले भने, ‘घरबाट निस्किएको पाँचौं महिनामा करिब ४५ लाख खर्च गरेर अमेरिका पुगियो। गएको केही समयमै सबै ऋण चुत्ता पनि गरियो। नेपालबाट अमेरिका छिर्न सोचेजस्तो कठिन पनि थिएन। सहजै तरिकाले अमेरिका आएको पनि अहिले पाँच वर्ष बढी भइसक्यो।’ तिनकै भनाइलाई उद्धृत गर्दै उनले थपे, ‘नेपालमा भएका परिवार तथा आफन्तजन सबै खुसी छन्। पहिले आफन्तलाई बोलाउँदा नबोल्नेहरू अहिले बाबु यस्तो समस्या पर्‍यो भन्दै केही समयका लागि पैसा सापट माग्नेको कमी छैन।

’अमेरिका पठाउने भन्दै ऋण गरेर बुझाएको पैसा एजेन्टले खाइदिएको उनले बताए। ‘कुन एजेन्टले सरल तरिकाले अमेरिका पठाउँछ भन्ने नै थाहा नहुने। अवैध रूपमा गएका सयौं साथी अमेरिकामा नै स्थापित भइसकेका छन्,’ उनले भने। आफू ठगिएको भन्दै मानव बेचबिखन ब्युरोमा उनले उजुरी दिएका छन्।

त्यस्तै कतारको एक पेट्रोलपम्पमा सात वर्ष काम गरी फर्किएका दाङका ३२ वर्षीय एक युवक पनि अमेरिका जाने चक्करमा थिए। अमेरिका जाने सपना तुन्दै गर्दा २०७८ सालमा उनी दलालको फन्दामा परे।

दाङमा नाताले काका पर्नेका घरमा एक विवाहिता महिला बस्दै आएकी थिइन्। काकाको घर आउनेजाने क्रममा ती युवक र महिलाबीच कुराकानी हुन थाल्यो। ती महिलाले आफ्ना पति अवैध रूपमा अमेरिका पुगेको र अथाह पैसा कमाउन थालेको बताइन्। त्यसपछि ती युवक सामाजिक सञ्जालमार्फत ती महिलाका पतिसँग जोडिन पुगे। अवैधानिक रूपमा अमेरिका प्रस्थान गराउने कुनै एक एजेन्टको नाम बताउँदै आफू पनि त्यही एजेन्टमार्फत अमेरिका आइपुगेको युवकलाई सुनाए।

एजेन्टको भनाइलाई उद्धृत गर्दै पीडित युवकले भने, ‘कति नेपाली अमेरिका गइसकेका छन्। तीनचार वर्षमै ग्रिन कार्ड पाइन्छ। मैले पठाएको नेपालीले पुरै परिवार नै अमेरिकामा पुर्‍याइसकेका छन्। तिमी पनि जाने भए विचार गर। विभिन्न बाटो हुँदै अमेरिका जान ४५ लाख खर्च हुन्छ।’ एजेन्टको प्रलोभनमा परी ती युवक अमेरिका जाने सपनामा रुमलिँदै थिए।

मानव तस्कर र तिनका दलालहरूले काठमाडौंबाट दिल्ली, इथियोपिया, ब्राजिल, कोलोम्बिया, कपुरगाना, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्‍याउने गरेका छन्। ४५ देखि ८० लाखमा नै अमेरिका पुर्‍याउने सपना बाँड्ने र पैसा असुल्ने नियत एजेन्टहरूले राख्ने गरेको ब्युरोका एसएसपी श्रेष्ठले बताए।

दाङमा नाताले काका पर्नेका घरमा एक विवाहिता महिला बस्दै आएकी थिइन्। काकाको घर आउनेजाने क्रममा ती युवक र महिलाबीच कुराकानी हुन थाल्यो। ती महिलाले आफ्ना पति अवैध रूपमा अमेरिका पुगेको र अथाह पैसा कमाउन थालेको बताइन्।

एजेन्टले एक महिनामै अमेरिका पुर्‍याउने सपना देखाएपछि ती युवक अमेरिका जान तयार भए। ‘विभिन्न समयमा पटकपटक गरी एजेन्टले कहिले भारत त कहिले दुबई पुर्‍याई ३० लाख ९८ हजार रकम आफूसँग लिएको ती पीडित युवकले बताए।

भिजिट भिसामा दुबई पुर्‍याई केही समय फ्ल्याटमा राखी भाडासमेत तिर्न लगाएको युवकको भनाइ छ। अमेरिकाको सपनाले साथमा भएको पासवर्ड र एक हजार डलर पनि एजेन्टले लिएको उनको बयान छ। एजेन्टले युवकलाई अमेरिका लाने भन्दै धेरै समय दुबईमा नै बन्धक बनाए। उनलाई बाहिर कतै जाने अनुमति थिएन।

युवकले अमेरिका नजाने निर्णय लिँदै पासपोर्ट र पैसा फिर्ता माग्दै नेपाल फर्काइदिन अनुरोध गर्दा एजेन्टले कसरी नेपाल जाने हो जाऊ भनी गालीगलौजसमेत गरेको पीडित बताउँछन्। ती युवक नेपालबाट ६०० दिराम मगाई दुबईबाट भाग्न सफल भई भिसा सकिएको फाइनसमेत तिरेर केही साताअघि नेपाल आएका छन्।

नेपाल आएलगत्तै एजेन्टसँग माग्दा एजेन्टले नानाथरी कुरा गर्ने गरेको उनको भनाइ छ। ती युवकले भने, ‘हामीले तिम्रो पैसा खाएका छैनौं, पाकिस्तानी एजेन्टले खाएको हो, हामी दिन सक्दैनौं।’

नेपालबाट अमेरिका पठाई तीन/चार वर्षमा ग्रिन कार्ड पाइने सुनौलो भविष्यको प्रलोभनम परी नेपालबाट भारत, दुबई पुर्‍याइएर बन्धक बनेका ती युवक सकुशल फर्किएका छन्। तर अमेरिका जाने सपनाले एजेन्टलाई तिरेको लाखौं रकम भने फर्किएको छैन।

उनी त एक पात्र मात्र हुन्। एजेन्टको प्रलोभनमा परी अमेरिका हिँडेका सोझासिधा व्यक्ति कतिपयको आधा बाटामै जीवन चुँडिने गरेको छ। नेपालका विभिन्न स्थानबाट उनीहरूजस्ता हजारौं नागरिक अमेरिकी सपनाले चुर्लुम्म डुबेका छन्। पछिल्लो समय वास्तविक पीडक र रकम बुझाइएको व्यक्ति फरकफरक रहेकाले वास्तविक पीडकलाई न्यायको कठघरामा ल्याउन कठिन हुने प्रहरीको भनाइ छ।

अमेरिका जाने क्रममा बाटामै पक्राउ पर्ने, बिरामी हुने, हिमपात परी मृत्यु हुने, सवारीसाधनमा जोखिमयुक्त तरिकाबाट यात्रा गर्दा मृत्यु हुने, सागरमा डुंगा पल्टिने वा जंगलमा खान नपाई मर्नेजस्ता यावत् घटना हुने गरेका छन्। त्यति मात्र नभई पासपोर्ट, ट्राभल कागजातलगायत वैधानिक कागजात उनीहरूका साथमा हुन्न। बाटामा पर्ने सबै देशमा स्थानीय एजेन्टको उपस्थिति हुने गर्छ। यसरी अमेरिका पुर्‍याउने खेलमा अत्यन्तै ठुलो र संगठित समूहको जालो रहेको ब्युरोका एसएसपी श्रेष्ठले बताए।

भिजिट भिसामा दुबई पुर्‍याई केही समय फ्ल्याटमा राखी भाडासमेत तिर्न लगाएको युवकको भनाइ छ। अमेरिकाको सपनाले साथमा भएको पासवर्ड र एक हजार डलर पनि एजेन्टले लिएको उनको बयान छ।

अवैधानिक रूपमा अमेरिका जाने र लाने सहमति हुनु मानव तस्कर भएको। पीडितहरू अमेरिका सपनाले लाखौंलाख रकम डुबेको उजुरी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोमा आउने क्रम बढ्दो रहेको उक्त ब्युरोका एसएसपी श्रेष्ठले जानकार गराए।

यसरी वैदेशिक रोजगारीमा जाने पीडितहरूको ब्युरो तथा न्यायाधीकरणमा मुद्दा दर्ता भएपछि पीडितहरू विदेश जाने तथा सम्पर्क नं. परिवर्तन गरिदिँदा सम्पर्क स्थापित गर्न कठिनाइ हुने श्रेष्ठले बताए।

‘पीडितहरू उजुरी दिएलगत्तै फसेको रकम फिर्ता पाइन्छ भन्ने मानसिकताबीच समयमा न्याय निरूपण नहुँदा नैराश्य पैदा र मुद्दाको प्रक्रिया लाग्ने समयका बीच छिटो न्याय दिलाउने चुनौती रहेको,’ उनले भने।

गरिबी, बेरोजगार, गन्तव्य देशको आकर्षण र छिमेकी तथा साथी भाइको लहलहै मानव तस्करका कारक तत्वहरू हुन्। त्यति मात्र नभई भारतसँगको खुला सिमाना, मानव तस्करीसम्बन्धी कानुनको अभाव, गन्तव्य देशको नीति, वैदेशिक रोजगारीमा बेथिति, कूटनीतिक पहलको कमी र अनियमित आप्रवासनका कारण मानव तस्करी भइरहेको छ।

अधिकांश मानव बेचबिखन तथा ओसारपसार आपराधिक गिरोहमा आफन्त वा चिनजानको व्यक्ति पनि संलग्न हुने र कानुनी प्रक्रियामा जाँदा असर पर्न सक्ने भएकाले पनि पीडितहरूले उजुरी गर्न हिच्किचाउने गरेका छन्।

अवैधानिक रूपमा अमेरिका जाने र लाने सहमति हुनु मानव तस्कर भएको। पीडितहरू अमेरिका सपनाले लाखौंलाख रकम डुबेको उजुरी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोमा आउने क्रम बढ्दो रहेको उक्त ब्युरोका एसएसपी श्रेष्ठले जानकार गराए।

त्यस्तै पीडितको पासपोर्ट, टिकटलगायत कागजात सुरुमै एजेन्टले नष्ट गर्ने वा गर्न लगाउनेजस्ता कारण प्रमाण संकलनमा कठिनाइ उत्पन्न हुने गरेको उनले बताए।

व्यक्तिगत ठगीका मुद्दाहरूमा पीडक पक्राउ पर्न नसक्दा मुद्दाहरू अवरुद्ध भएको उनले बताए। यसरी अवैधानिक रूपमा अमेरिका पुगि अमेरिकाबाट हालसम्म १७४ पुरुष र ४ महिला नेपाली नागरिकलाई ‘डिपोर्ट’ गरिएको छ।

प्रकाशित: २९ असार २०८० ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App