१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुतेकै स्थानमा विद्यार्थीको मृत्यु, होस्टेलमा तालाबन्दी

इटहरीको एक निजी विद्यालयमा सुतेकै स्थानमा एक छात्रको मृत्यु भएको छ। इटहरी वडा नं. ४ मा सञ्चालित सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएको हो।

दुई वर्षदेखि श्रेष्ठ सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेलमा बसेर  अध्ययन गर्दै आएका थिए। मोरङ बेलबारी वडा नं. २ घर भएका श्रेष्ठ शुक्रबार घर गएर आइतबार फर्केका थिए। घर गएर विद्यालयमा फर्कँदा बिहान १० बजेभित्र फर्किई सक्नुपर्ने नियम छ।

‘मृतक श्रेष्ठ आइतबार ११.४५ मा विद्यालयमा आएर सोझै कक्षाकोठामा पढ्न गएका रहेछन्,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक विष्णु खड्काले भने, ‘राति ९.४५ बजे सार सुहाउँदो सुतेका छात्र जस्तो सुतेको त्यस्तै अवस्थामा मृत भेटिए।’

उनका अनुसार राति १२.४५ बजेतिर पिसाब फेर्नका लागि साथीहरुसँगै उठेर फेरि सुतेकोमा सोमबार बिहान ३.३० बजेतिर भने अरुले उठाउँदा मृत अवस्थामा भेटाएको प्रहरी निरीक्षक खड्काले बताए। 

श्रेष्ठसहित होस्टेलमा २५ जना विद्यार्थी बस्दै आएका थिए। मृतक श्रेष्ठको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरे पश्चात् मंगलबार बिहान आफन्तले शव बुझेर अन्तिम दाहसंस्कार गरिएको छ।

प्रहरीले श्रेष्ठ मृत्यु प्रकरणबारे छानबीन थालेको जनाएको छ। अहिले सुरुवाती चरणमा सिसि क्यामेराका फुटेज अध्ययन गरी रहेको छ।

‘पोष्टमार्टम रिपोर्टको पनि पखाईमा छौं,’ प्रहरी निरीक्षक खड्काले भने, ‘अहिले प्रारम्भिक चरणमै भएकाले गर्दा यसै भन्न सकिने अवस्था छैन।’

मृतक श्रेष्ठमा अरू समस्या नभएता पनि पारिवारिक रुपमा भने तनावमा रहेर बेला बेलामा टोलाएर बस्ने गरेको उनीसँग होस्टेलमा बस्नेले बताएका छन्। उनका बाबुको निधन भई सकेको छ। आमाले केही महिनाअघि मात्र विवाह गरेकी थिइन्।

सेकेन्डरी माध्यमिक विद्यालयमा सुतेकै स्थानमा छात्र श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले होस्टेल अनुगमन गरेको छ। इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सेकेन्डरी माध्यमिक विद्यालयको किचन र होस्टेल अनुगमन गरिएको थियो।

जसमा किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था रहेको पाइएको उपमहानगरपालिका खाद्य निरीक्षक अनु अर्यालले बताइन्।

‘सेकेन्डरी विद्यालयको किचनमा पकाउने र छात्रछात्रालाई खुवाउने स्थान उपयुक्त नभएको पाइयो,’ उनले भनिन्।

होस्टेलको अवस्था पनि टीठलाग्दो रहेको पाइएको नगरप्रमुख पौडेलले बताए। उनका अनुसार आवश्यक मापदण्ड पूरा नभएकाले गर्दा होस्टेलमा तालाबन्दी गरिएको छ।

‘मापदण्ड पुरा नगरीकन सेकेन्डरी माध्यमिक विद्यालयले होस्टेल सञ्चालन गरेकाले तालाबन्दी गरिएको हो,’ नगरप्रमुख पौडेलले भने, ‘अब मापदण्ड पुरा गरेपछि होस्टेल सञ्चालन गर्न दिइनेछ।’

नगरप्रमुख पौडेल नेतृत्वको टोलीले पिसजोन माध्यमिक आवासीय विद्यालय, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको होस्टेल अनुगमन गरेको थियो। 

उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत फाल्गुणी काफ्लेका अनुसार ग्रिस पिस माध्यमिक विद्यालयको होस्टेलका छात्रछात्रालाई अलग अलग राख्न निर्देशन दिइएको छ। यस्तै, पिसजोन र मोर्डन प्रिपेटरी माध्यमिक विद्यालयमा सुधार गर्नुपर्ने पक्ष औल्याएर पत्रचार गरिने अधिकृत काफ्लले बताए।

इटहरी उपमहानगरपालिको अबको एक वर्ष शिक्षा क्षेत्र सुधारका लागि विशेष योजना ल्याएर अघि बढ्ने नगरप्रमुख पौडेलले बताए।

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेल होस्टेल अनुगमनका क्रममा शहीद स्मृति आवासीय माध्यमिक विद्यालयका छात्रासँग समस्या बुझदै।

‘शिक्षा क्षेत्रमा सुधार गर्ने योजना बनाइरहेका बेला एक जना छात्रको दुःखद निधन भएको छ। अब निरन्तर रुपमा शिक्षाको सुधारमा उपमहानगरपालिका सक्रिय रुपमा लाग्नेछ,’ उनले भने।

प्रकाशित: २६ असार २०८० १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App