कुरकुरे बैँसमा बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउने गरेको पाइएको छ।उमेर नपुगी एक अर्काको आकर्षणमा परे पनि उचित अभिभावकत्वको कमीका कारण वैवाहिक बन्धनमा बाँधिने किशोर किशोरीहरू उमेर पुगेपछि श्रीमान् श्रीमतीबिच बुझाइको कमीले पछुताउनु पर्ने गरेको भेटिएको छ।
बाल विवाह गर्ने अधिकांश युवायुवतीको जीवनशैली उमेर पुग्दै गएपछि कष्टपूर्ण हुने गरेको एक तथ्याङ्कले देखाएको छ।महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले उदयपुरका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहमा गरेको बालविवाह गर्नेहरूको भोगाइमा आधारित खोज अनुसन्धानले यस्तो तथ्य फेला पारेको हो।अनुसन्धानको क्रममा देखिएको अवस्था र चुनौतीलाई समाधान गर्ने उपाय संकलन गर्न मंगलबार सरोकारवाला निकाय र व्यक्तिहरूसँगको गरिएको अन्तरक्रियात्मक कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले प्रस्तुत गरेको तथ्याङ्कमा यो कुरा उल्लेख छ।
दनुवारले प्रस्तुत गरेको तथ्याङ्क अनुसार ६५ प्रतिशतले १४ देखि १८ वर्षमा र ३५ प्रतिशत १८ देखि २० वर्षमा विवाह गरेको पाइएको छ। उमेर नपुगी विवाह गर्नेमध्ये ८२ प्रतिशतले उमेर पुगेपछि पछुताउनु परेको बताएका छन्। बेलैमा विवाह गर्दा पढाई छुटेको, गृहिणी जीवन बिताउन गाह्रो परेको, छोराछोरीको स्याहार सुसार, खेतीपातीको पेसा अपनाउनु परेको र आफुसँगैका साथी सँगी बिभिन्न तह तप्कामा पुगेर जागिर, व्यापार र पेसा व्यवसायमा रमाएको पाउँदा पछुतो लाग्ने गरेको गुनासो गरेको सर्वेक्षणले देखाएको छ।
अनुसन्धानका शोधकर्ताहरूले बिहे गर्ने कारण, भेटघाट र मायामोहबारेमा गरेको प्रश्नमा ५० प्रतिशतले एउटै विद्यालयमा पढ्दा चिनजान भएर, २९ प्रतिशतले गाउँघर र छिमेकी भएकाले र २१ प्रतिशतले सामाजिक सञ्जालमार्फत चिनजान र सामिप्यता बढेर बिहे भएको बताएका छन्। स्थलगत अनुगमन गरेर स्वयम् पीडित महिलाहरूसँग गरिएको कुराकानी र अन्तरवार्तामा उनीहरुले प्रेम गरेको परिवार र समाजले थाहा पाएपछि डरत्रासले उमेर नपुगी भागेर बिहे गर्नुपरेको बताएको तथ्याङ्कमा देखिएको छ।
भागी विवाह गर्ने अधिकांशको परिवारको अवस्था सामान्य रहेको र विवाहपछि घर गृहस्थी जीवन व्यतित गर्नुपरेको पाइएको छ। शैक्षिक अवस्थाको बारेमा ४४ प्रतिशतले ८ कक्षा र ३० प्रतिशतले माध्यमिक तहसम्म अध्ययन गरेको सोधकर्ताहरुको अनुसन्धानले देखाएको छ। तथ्याङ्कमा विवाह गरेको केही समयमै गर्भवती भएको र शिक्षक, साथीहरूबाट हेलाहोचो गर्ने, जिस्क्याउने, आर्थिक अवस्था कमजोरीका कारण परिवारले पढाई लेखाई गराउन नसक्ने बताएपछि विद्यालय छोड्नु परेको बताएका छन्।
प्रत्यक्ष संम्बादमा उनीहरुले साथीसँगको लहैलहै र हौसला, केटाले आत्महत्या गर्ने धम्की, परिवारले स्वीकार नगर्ने, विवाहपूर्व शारीरिक सम्पर्क, प्रेम सम्बन्धबारे परिवार र छर छिमेकले थाहा पाउँदा विवाह गर्न बाध्य हुनुपर्ने कारणहरू बताएको पाइएको छ। संस्थाले राष्ट्रिय जनगणना २०७८ को स्रोतलाई समेटेर तथ्याङ्क तयार गरिएको कार्यकारी निर्देशक दनुवारले बताएकी छिन्। जनगणनाको तथ्याङ्कले ५ वर्षयता ३ हजार ६ सय ८२ जनाले २० वर्ष अगावै विवाह गरेको देखाएको छ। युवा नेतृत्व र बाल विवाह अन्त्य सम्बन्धी रेडियो उदयपुर, युवा महिला सञ्जाल र सामाजिक गतिविधिको माध्यमबाट कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले बाल विवाहबारे यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले यो अनुसन्धान गरिएको अन्तरक्रियामा संस्थाकी अध्यक्ष ज्योति दनुवारले बताईन्।
कार्यक्रमकी प्रमुख अतिथि १ नं. प्रदेशकी उपसभामुख सृजना दनुवारले समृद्धिको आधार भनेकै बालबालिका भएकाले उनीहरूको संरक्षण र सम्र्बद्धनमा ध्यान दिनु आवश्यक रहेको बताईन्। कलिलो उमेरमा जे शिक्षा र ज्ञान दिन सक्यो त्यहीँ उमेर पुगेपछि परिवक्क अवस्थाको नागरिकको हैसियतले गर्ने भएकाले बालबालिकालाई कलिलै उमेरमा आधारभूत सामाजिक ज्ञान दिनुपर्ने उपसभामुख दनुवारले बताईन्। त्यसका लागि बालबालिकाहरूलाई असल, व्यवहारिक र संस्कारयुक्त शिक्षा आवश्यक पर्नेमा उनको जोड थियो।
उपसभामुख दनुवारले समाजमा विकृति, विसंगति धेरै बढ्दै गएको भन्दै त्यसको न्यूनीकरण र अन्त्यका लागि राज्य र सरोकारवाला गैरसरकारी सङ्घसंस्थाको समन्वयमा शिक्षा, स्वास्थ्य र मानव विकासमा लगानी गर्न सुझाइन्। भविष्यमा प्रतिफल देखिने गरी काम गर्न सके मात्र बालविवाहलाई निस्तेज गर्न सकिने उनको भनाई थियो।
कार्यक्रममा त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले बालविवाह न्यूनीकरण गर्न सर्वपक्षीय सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि सहकार्य गर्न नगरपालिका तयार रहेको बताईन्। प्रतिफल चाँडै निस्कने गरी कार्यक्रम लिएर आउन अनुरोध गर्दै उपमेयर राईले नगरपालिकाको तर्फबाट हातेमालो गर्न सधैँ तयार रहेको प्रतिबद्धता जनाइन्। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, एसपी ज्ञानेन्द्र फुयाल, वडाध्यक्षहरू र बिभिन्न सरोकारवाला निकायका व्यक्तिहरूले बालविवाह न्यूनीकरणका लागि एकीकृत योजना बनाएर सामूहिक अभियान सञ्चालन गर्न सुझाएका थिए। अलग–अलग अभियान सञ्चालन गर्दा प्रतिफल देख्न नसकिएको अनुभवबाट सिक्दै अव सामुहिकरुपमा काम गर्न उनीहरुको आग्रह थियो।
क्याप्सन:
प्रकाशित: २६ असार २०८० १४:२० मंगलबार