४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरा बसपार्कमा यात्रुलाई सास्ती, झोला तान्नेदेखि गाडी स्कर्टिङसम्म

पृथ्वी होटल व्यवसायी समितिले आयोजना गरेको वृहत अन्र्तक्रियामा सहभागिहरु। तस्बिर: सन्देश/नागरिक

पोखराको पृथ्वीचोक पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार हो। चाहे सडक मार्गबाट आउने होस् वा हवाई मार्गबाट आउने, जोकोहि यहि चोकबाट पोखराको कोरसिटी प्रवेश गर्नुको विकल्प छैन। सडक मार्गबाट आउनेहरुको त झन् पृथ्वीचोक बसपार्क अन्तिम विन्दु हो। अनिमात्र उनीहरु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन्।

तर यो बसपार्क व्यवस्थित नबन्दा यहाँ आउने पर्यटकले हैरानी खेप्नुपरेको छ। यतिसम्म कि अव्यवस्थित बसपार्क हुँदा गाडीले बाटोमै ओराल्ने मात्र होइन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरुद्वारा परिचालित ट्याक्सी चालकहरुले झोला तान्नेदेखि पर्यटकलाई धकेलाधकेलसम्म गर्छन् भनेर स्वयम् सरोकारवालाहरुले बताएका छन्। त्यतिमात्र कहाँ हो र? बसपार्क लागूऔषध दुव्र्यसनीको जक्सनसमेत बनेको उनीहरुको आरोप छ।

पृथ्वी होटल व्यवसायी समिति पोखराले सोमबार पोखरामा आयोजना गरेको बृहद अन्र्तक्रिया कार्यममा बोल्ने वक्ताहरुले होटल व्यवसायी र ट्याक्सी चालकको व्यवहार लज्जास्पद भएको बताए। हुँदाहुँदा पहिल्यै पोखरा आएर बसेका एक पुरुष पर्यटकले श्रीमतीलाई आफू बसेको होटलमा बोलाएको तर बसपार्कमा भएको तानातानमा परेर उनी अर्कै होटलमा पु¥याइएको घटनासमेत बाहिर आयो।

एउटा पर्यटकलाई तीन तिरबाट तान्दा बसपार्कको मात्रै नभई समग्र पोखराको बेईज्जत भएको पोखरा बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशवबहादुर थापा बताउँछन्। 'बसपार्क भित्र यात्रु चढाउने र झार्ने गरिर्दैन। बाटोमा उत्रिएको यात्रुलाई तीन तिरबाट तान्दा पोखराकै बेईज्जत भयो।’ उनले ट्याक्सीले कमिसन खाएर बसपार्कमा उत्रिएका पर्यटकलाई जबरजस्ती लेकसाईड पु¥याउने गरेकोपनि आरोप लगाए।

स्थानीय थकालीले सडकमा रोक्ने, त्यहिं यात्रु तान्ने छिनाझम्टीले बसपार्क रमिता स्थल भएको टिप्पणी गरे। 'बसपार्कबाटै यात्रुलाई चढाउने र झार्ने गरियो भनेमात्र यस्तो प्रवृत्ति रोकिएला’ उनले भने।

स्थानीय होटल व्यवसायी अरुण पाण्डेले ट्याक्सीको मनोमानीले यात्रु ठगिने गरेको बताए। त्यसमाथि कमिसनको चक्करमा ट्याक्सी चालकले यात्रुको ईच्छाविपरित लेकसाईड लैजाने गरेको उनको आरोप छ।

पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष अमृत घिमिरे तानातानले यात्रुले हैरानी खेप्नुपरेको बताउँछन्। उनी भन्छन्,'यस्तो कृयाकलाप नियन्त्रण नगरे पोखराप्रति नै वितृष्णा जाग्छ।’

लेकसाईडका केहि होटलहरुले अमरसिंहचोकबाटै गाडीलाई स्कर्टिङ गरेर यात्रुलाई झर्न नदिई लेकसाईड लैजाने गरेको अर्का व्यवसायी ईन्द्र मगर बताउँछन्। 'यो त अति भो! यो विकृति रोक्ने हो भने रोक्नुस्, होईन भने हामी आफै लखेट्छौं’ उनले भने।

अर्का व्यवसायी प्रल्हाद मरासिनी बसपार्क सुधार्न अर्को बालेन चाहिएको बताउँछन्। 'यहाँको स्थानिय सरकार र छाता संस्था उद्योग वाणिज्य संघ त निदाएको छ, केहि थाहा पाउँदैन’ उनले भने।

लेकसाईडका होटलहरुको साझा संस्था होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले स्कर्टिङ गर्ने र तानातान गर्नेलाई आफूहरुले संरक्षण नगर्ने बताए। 'त्यस्तालाई कारवाही गर्नूस् सुरक्षाकर्मी साथीहरु, हामी त्यस्ताको संरक्षणमा लाग्दैनौं। भोलि पक्रेर लैजाँदा छुटाईदिनूस् भनेर प्रहरी कार्यालयमा मचाहिं आउँदिन’ उनले भने।

उठेका विषयको जवाफ दिदै पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बेथिती अन्त्यका लागि वडा गम्भीर रहेको बताए। तर त्यसका लागि स्वयम् व्यवसायी र स्थानिय सुध्रिनुपर्ने उनको भनाइ छ। 'एउटा संयन्त्र बनाएर एक्सनमा गयौं भने यो सबै नियन्त्रण गर्न सक्छौं’ उनले भने। बसपार्क पोखराको शान भएकाले यसलाई विकृतिमुक्त बनाउनु सबैको दायित्व भएको उनको भनाइ थियो।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले विकृति अन्त्यका लागि व्यवसायी आफैले 'मःमः’ भन्नुपर्ने बताए । उनले भने,'हामीसँग नियम कानूनको खाँचो छैन, खाँचो छ त केवल ईच्छाशक्तिको मात्र।’

जिल्ला ट्राफिक कार्यालय कास्कीका बरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले व्यवसायी लोभी हुँदा बसपार्कमा विकृति मौलाएको टिप्पणी गरे। 'एक जना भएपनि बढी यात्रु लैजान्छु भनेर बसपार्कमा रोक्नुपर्ने गाडी मूल बाटोमै रोकिन्छ। अनि आफ्नो गन्तव्यमा गएका यात्रुलाई व्यवसायी र ट्याक्सी चालकले तानातान गरिन्छ’ उनले भने ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे, निवर्तमान अध्यक्ष हरिप्रसाद पाण्डे र पूर्व अध्यक्ष कमलप्रसाद न्यौपाने, महासचिव महेशबाबु ज्ञवालीलगायतले बसपार्क क्षेत्रमा देखिएको विकृति रोक्न समितिले पहलकदमी लिइएको बताए। 'यसको अन्त्य जरुरी छ। यसका लागि हामी सबैले आवाज उठाऔं र हातेमालोपनि गरौं’ उनीहरुले भने।

प्रकाशित: १९ असार २०८० ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App