१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कालीगण्डकी नदी किनारमा पैदलमार्ग

विश्वमा नै शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ। शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ।

कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ।

नगरपालिकाभित्र पर्ने नदी किनारै किनार पैदलमार्ग बनाउने योजना ल्याइएको नगरप्रमुख रमणबहादुर थापाले बताए। उनका अनुसार पैदलमार्गका लागि संघीय समपूरक कोषबाट ६० लाख, रामपुर नगरपालिकाबाट ६० लाख गरी एक करोड २० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ।

‘कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई संरक्षण गरी यसलाई पर्यटनसँग जोडियो भने आयआर्जन पनि हुनेछ’, नगरप्रमुख थापाले भने, ‘अब छिट्टै काम सुरु गरेर अबको एक वर्षभित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना छ।’

उनका अनुसार रामपुर नगरपालिका-१ को स्याउली बजारदेखि वडा नं. १० को सिद्धबाबा मन्दिरसम्म नदीको किनारै किनार पैदलमार्ग बन्नेछ।

पैदलमार्गमा पदयात्राका साथै साइकल मार्ग, ठाउँठाउँमा कोसेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगरप्रमुख थापाले बताए।

उनका अनुसार राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउने योजना छ।

‘पदमार्गसँगै पर्यटनको विकास गर्ने उद्देश्यले रामपुर नगरपालिकाले आफ्नो पालिकाभित्र पदमार्ग निर्माण सुरु गर्दैछ। रामपुर नगरभित्र मात्र नभई यसलाई राम्दीदेखि देवघाट क्षेत्रभित्र जोडिएका सबै पालिकाले आआफ्नो क्षेत्रमा पैदलमार्ग निर्माण गरेमा  पर्यटन विकासले धेरै फड्को मार्नेछ’, नगरप्रमुख थापाले भने।

नेपालमा कालीगण्डकी नदीको सभ्यता निकै नै पुरानो मानिन्छ। पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ।

लुम्बिनी र गण्डकी दुई प्रदेश बिचको साझा नदी भएकाले नदीको तटमा पैदलमार्ग निर्माण गरेपछि नदी वारिपारिको पर्यटन विकास, स्थानीयको दैनिक जीवनयापनमा धेरै फाइदा पुग्ने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए।

नेपालमा कालीगण्डकी नदीको सभ्यता निकै नै पुरानो मानिन्छ। पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ।

‘पैदलमार्ग निर्माणले कालीगण्डकीको संरक्षण हुनुका साथै स्थानीयको आयआर्जनको माध्यम बन्नेछ’, उनले भने, ‘काली नदीको प्राकृतिक पर्यावरणलाई जोगाएर पर्यटन विकासका क्षेत्रमा काम गर्दा यससँग जोडिएका स्थानीय तहको पर्यटन विकासमा टेवा पुग्नेछ।’

न्यौपानेका अनुसार पैदलमार्ग बनेपछि पर्यटकीय सहर पोखरा र लुम्बिनी आएका बाह्य पर्यटकपनि रामपुर भित्रिनेछन्।

पारिवारिक जलयात्राका लागि उत्तम मानिएको कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा नियमित सञ्चालन गर्ने नगर सरकारको योजना छ। जलयात्रा सञ्चालनका लागि नगरपालिकाले यसअघि नै परीक्षण गरिसकेको छ। परीक्षणका क्रममा विज्ञले यस नदीलाई व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गर्न सुझाव दिएका छन्।

कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो। दामोदर कुण्डदेखि बहेकी कालीगण्डकी नदीको महत्त्व र पर्यटन विकासका विषयमा बेलाबेलामा बहस हुने गरेका छन्।

मुक्तिनाथदेखि देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन्। कालीगण्डकी नदीलाई संरक्षण र संवर्द्धन गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने विज्ञको भनाइ छ। नदीको पर्यावरणीय अस्तित्वलाई जोगाइराख्न पनि पर्यटन विकाससँग जोडेर योजना अगाडि सारिएको नगरपालिकाले जनाएको छ।

पारिवारिक जलयात्राका लागि उत्तम मानिएको कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा नियमित सञ्चालन गर्ने नगर सरकारको योजना छ।

कालीगण्डकी मानिसको जीवनसँग जोडिनुका साथै यस क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको छ। कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालिग्राम शिलाबाट आकर्षित भई विभिन्न ऋषिगणले यस क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्तहरू भेटिन्छन्।  

प्रकाशित: ९ असार २०८० ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App