१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरामा सुरु भयो नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेष्टिभल

पोखरामा शुक्रबार सुरु भएको बोट रेस फेस्टिभल। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा फेस्टिभल शुरु भएको हो। दुईदिनसम्म चल्ने फेस्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे। 

दक्षिण एशियामै पहिलोपटक आयोजना गरिएको फेस्टिभलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले फेस्टिभलले नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने बताए। नेपाल र चीन बीचको सम्बन्ध सम्राट अशोक र भृकुटीको पालादेखि रहेको बताउँदै उनले भने, नेपालले सम्राट अशोकलाई बिर्सन सक्छ न त चीनले भृकुटी र अरनिकोलाई। यो त हाम्रो सदियौं देखिको सम्बन्ध हो। यो सम्बन्ध बरु थप बलियो र सुमधुर हुँदै जान्छ।’ 

मन्त्री किराँतीले चिनियाँ पर्यटकलाई हिमाल भन्दा अग्लो र सागरभन्दा चोखो माया दिएर स्वागत गर्न चाहेको बताए। उनले नेपाल चीनको एक नीति प्रति दृढ रहेको स्पष्ट पारे। उनले सयमसँगै सम्बन्धको सुत्रहरु थपिदै जाने बताए। 

नेपालका लागि चिनियाँ राजदुत छन सोङले चीनको परम्परागत फेष्टिभल नेपालमा ल्याउँदा सांस्कृतिक सम्बन्ध स्थापित गर्न मद्दत पुगेको बताए। ‘जनता जनताबीचको सम्बन्ध स्थापित गर्न सघाउ पुग्नेमा विश्वस्त छु,’उनले भने। फेष्टिभलले नेपाल र विशेष गरेर पोखराको पर्यटन प्रवद्र्धन गर्न कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे।

 पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिभलले नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने बताए। चिनियाँ संस्कृति नेपाल भिœयाउँदा नेपाल चीन सम्बन्धमा कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे। अन्ततःयसले पर्यटनमा पनि सघाउ पु¥याउँछ,’ उनले भने। उनले चीन छिमेकी देश भएको र नजिक पनि भएकाले चिनियाँ पर्यटकबाट आफूहरु आशावादी रहेको उनले बताए। साथै उनले चीनबाट अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुने विश्वास पनि व्यक्त गरे। 

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले फेस्टिभलले चीन र नेपालका जनता जनताबीच सम्बन्ध गास्न कडी बन्ने बताए। यसलाई प्रत्येक वर्ष गर्नुपर्ने र त्यसका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए। कोभिडको प्रभावले थलिएको पर्यटनमा यसले उत्साह थप्ने उनको विश्वास छ। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेष्टिभलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय फ्लाईट गर्ने अवसर जुराईदिएको बताए। उनले आगामी दिनमा प्रत्येक वर्ष राष्ट्रिय स्तरको एउटा र प्रत्येक २ वर्षमा अन्तर्राष्ट्रिय स्तरको एउटा प्रतियोगिता गर्ने प्रतिबद्धता जनाए। 

पोखरा पर्यटन परिषद (पिटिसी) र चाइना ओभरसीज एशोसिएसन सहआयोजक रहेको फेष्टिभलमा नेपाल र चीनका गरि १२० जना प्रतियोगी छन्। दुइसय र पाँचसय मिटरमा गरि दुई भागमा आठ वटा बोट रेस हुनेछ। प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने चिनियाँ पदाधिकारीले जनाएका छन्। 

फेस्टिभलको क्रममा दुवै देशका सांस्कृतिक प्रस्तुती र खानाको प्रदर्शनी गरिएको छ। जहाँ नेपाली र चिनिया खानाका परिकारहरु राखिएका छन। चीनले यसअघि यसप्रकारको बोट फेस्टिभल ५० भन्दा बढी देशहरुमा आयोजना गरिसकेको जनाएको छ। यो प्रतियोगितालाई एशियन गेममा पनि सहभागि गराइएको छ।

प्रकाशित: ८ असार २०८० ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App