२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

नमुना गन्तव्य बन्दै जुम्लाको पट्मारा होमस्टे

पर्यटकीय सम्भावना बोकेको जिल्लाको रूपमा चिनिने जुम्ला रैथाने अर्ग्यानिक बाली उत्पादन हुने प्रमुख थलो मध्य एक हो।

जुम्ला घुम्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँको रमणीय पर्यटकीय स्थल घुमेर मात्र अघाउँदैनन्। रैथाने खाद्यान्नको स्वाद जीवनभरका लागि बोकेर फर्कन्छन्। रारा ताललाई प्राथमिकतामा राखेर घुम्न आउने पर्यटकहरू जुम्लाको बेग्लै तस्बिर लिएर फर्कन्छन्।

जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन्। ती मध्ये पातारासी गाउँपालिका पर्यटनका हिसाबले प्रमुख गन्तव्य मानिन्छ।

पर्यटनको प्रचुर सम्भावना रहेको यस गाउँपालिकाको -७ मा अवस्थित छ पट्मारा गाउँ। पछिल्लो समय पट्मारा सामुदायिक होमस्टेका लागि प्रख्यात छ।

पारिवारिक ग्रामीण वातावरण, आत्मीयता, स्वादिलो परिकार र किफायती आवासका कारण होमस्टेमा पर्यटकको आकर्षण बढ्दो छ। पट्मारा समुन्द्र सतही देखि २ हजार ,६ मिटर उचाइमा अवस्थित छ। जुम्लाको सदरमुकाममा खलङ्गामा देखि करिब ९ किलोमिटर दूरीमा रहेको यस गाउँ मुगुको राता ताल जाने बाटोको प्रवेशद्वार पनि हो।

गाउँमा १ सय ८० घर धुरी छन्। जसमा ६ वटा घरलाई होमस्टेका रूपमा रूपान्तरण गरिएको छ।

विगत तीन वर्षअघि देखि सञ्चालित होमस्टे स्थानीय जीवनशैली, संस्कृति र आत्मीयताका केन्द्र बनेको छ। यहाँ चुली हिमाल,चुम्लेली झरना ,मालिका पाटन,खाली पाटन,डाँफे लेख लगायतका सम्पदा रहेका छन्।

पछिल्लो समय होमस्टेमा उल्लेखनीय स्वदेशी तथा विदेशी पाहुनाहरू आउने गरेको होमस्टेकी अध्यक्ष राजकली रावत बताउँछिन्। पाहुनालाई सत्कार सम्मान, बोलीचाली कसरी गर्ने, लगायतका विषयमा तालिम समेत लिइरहेको उनी सुनाउँछिन्।

'पहिले त राम्रोसँग चल्दैन होला जस्तो लागेको थियो। गाउँमा को आउलान् भन्ने पनि थियो, तर अहिले अमेरिका, जापान, थाइल्यान्ड लगायत विभिन्न राष्ट्रहरु बाट पनि पर्यटकहरू आउने गरेका छन्। उनीहरू भाषा बुझ्न चाहिँ गर्हो नै पर्छ। हामीलाई भाषाको समस्या छ, अरू त खासै छैन।' उनले भनिन्।

होमस्टे कै अर्की सदस्य हस्तना थापाले प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे परिचित हुँदै गएको सुनाइन्।

'होमस्टे खोलेपछि यहाँको पर्यटन विकाससँगै यसले आम्दानीको स्रोत उच्चाईमा पुर्‍याउने काम गरेको छ। पाहुनाहरूलाई सक्दो आफ्नै हातले अर्ग्यानिक स्वाद दिने कोसिस गरिरहेकी छु। प्रतिक्रिया पनि राम्रै पाएकी छु। पूर्ण सर-सफाई, घरमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनको लागि खाल्डो, जुठेल्नोको पानी व्यवस्थापन, धारा टुटी सहितको बाल्टिनको व्यवस्थापन, सफा र वाटर सिल्ड प्यान सहितको साबुन पानी व्यवस्था भएको पक्की शौचालय, सफा र धुवाँरहित भान्साको व्यवस्था छ।' उनी भन्छिन्।

हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतले रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा होमस्टे बनाइएको बताए। उनका अनुसार मुगुको रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नका लागि आउने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको हो।

पातारासी गाउँपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको सहभागीतामा होमस्टेको अनुगमन समेत गरिएको छ। अनुगमनका क्रममा संचालकहरुले होमस्टेका लागि एउटा भवन आवश्यकता रहेको गुनासो गरेका थिए।

जवाफमा जनप्रतिनिधिलेहरुले होमस्टेलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। उनीहरूले यसको थप प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।

होमस्टेमा आउनेहरूलाई आरामदायी बाससँगै स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो,लोकल कुखुराको सुप र मासु, खरायोको मासु, आलु, कागुनो, चिनोबाट बनाएको ढिँडो, रोटी, काली मार्सीको भात, खुवाउने मह, घ्यू, दूध,र स्थानीय सांस्कृतिक रीतिरिवाजको प्रदर्शनी समेत गर्ने गुम्बा, मठ मन्दिर, हिमाल, वन्यजन्तु, वनस्पति अवलोकन समेत गराउने होमस्टे सन्चालकहरूको भनाइ छ।

प्रकाशित: ३ असार २०८० १६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App