१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङको मेहेलेमा गएको पहिरोमा परी ४ जना बेपत्ता

अबिरल बर्षाका कारण आएको पहिरोमा परी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा न ६ मेहेलेमा ४ जना बेपत्ता भएका छन्। 

मेहेलेको साविक वडा नं ५ को भालुुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीका श्रीमती भगिमाँया बुढाक्षेत्री,बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका हुन्। यादव भने सिरिजङ्गा गाउँपालिकाको पेदाङ गएका थिए।

 भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ समेत बेपत्ता भएको स्थानीय दिवस भण्डारीले जानकारी दिए। उता सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपमा ३ वटा घर पहिरोले बगाएको छ। सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार आङ्खोपमा प्रेम सेलिङ,उनका दाजु महेश्वर सेलिङ सहित थप एकजनाको घर बगाएको छ। उल्लेखित घरमा रहेका मानिसहरु भने भागेर बाँच्न सफल भएको  जानकारी आफुले पाएको पालिका अध्यक्ष राईले बताए।

 उनका अनुसार ईँखोलामा रहेको बिबिएसल पुल समेत पहिरोले बगाएको छ। उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटिय क्षेत्र दोभान बजार जोखिममा परेको छ। दोभान वारी–पारी हुने मोटरेवल पुल नजिक गएको पहिरोले सडक अबरुद्ध गरेपछि आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्क बिच्छेद भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिए। 

यस्तै सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारी गएको पहिरोले बाधथला देखि गाउँपालिकाको कार्यालयतर्फको क्षेत्र समेतको सम्पर्क बिच्छेद भएको स्थानीय इन्द्र घतानीले जानकारी दिए।  

मेची राजमार्ग अबरुद्ध

पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अबरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिए। तमोर करिडोरको बिभिन्न स्थानमा समेत बाढी र पहिरोको प्रभाव रहेकोले समन्वय गरेर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन्। हेंवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम–इलाम हुँदै झापा निस्कने सम्पर्क टुट्ने छ।  

प्रकाशित: ३ असार २०८० ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App