चम्पादेवीमा हाइकिङ गर्दा ललितपुर ग्वार्कोका मिलन बोहराले प्लास्टिकका थुप्रै रित्ता बोतल फ्याँकिएको अवस्थामा भेटे। साथीभाइको सहयोगमा ती बोतल जम्मा गरेर उनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा ल्याए। उनले त्यसलाई धुलो पारेर डन्डी अनि बेन्च बनाए। अनि त्यो बेन्च त्यहि बाटोमा लगेर थपक्क राखिदिए, जहाँबाट उनले फोहोर उठाएका थिए। ‘जसले रित्ता बोतल फ्याँकेका थिए, सम्भवतः तिनै साथीहरू पनि त्यही बेन्चमा आराम गर्दै हुनुहुन्छ होला,’ उनले मुस्कुराउँदै भने, ‘प्लास्टिक हाम्रो शत्रु मात्र होइन, मिलाएर व्यवस्थापन गरे मित्र पनि हो।’
यति बेला बोहरा आफ्ना साथी शशीकिरण थापा र निश्चल महर्जनसँग मिलेर कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानमा व्यस्त छन्। वातावरणका हिसाबले सहरको मात्र होइन, संसारकै सबभन्दा ठुलो समस्या मानिएको प्लास्टिकलाई कसरी सदुपयोग गर्ने भन्ने उनीहरूको मुख्य योजना छ। ‘अहिलेसम्म हामीले फ्याँकिएका प्लास्टिकबाट ३०० गमला, २७ बेन्च र ५० वटा प्लाई बनाएर बिक्री गरिसकेका छौं,’ उनले भने, ‘अब प्लास्टिकबाट कम्पोस्ट बनाउने योजनामा छौं।’ उनीहरूले फ्याँकिएका प्लास्टिकबाट बनाएका गमलाले अहिले धेरैको ध्यान तानेको छ। ‘फोहोरको थुप्रोबाट बनाएको गमलामा फूल फक्रँदा मन निकै खुसी हुन्छ,’ उनले भने, ‘आविष्कार केन्द्रले हामीजस्तालाई यस्तै फूलहरू फुलाउने अवसर दिएको छ।’
उनले भनेजस्तै कीर्तिपुरस्थित आविष्कार केन्द्रमा मुलुकका विभिन्न ठाउँबाट आएका युवाहरू समाजमा छरिएका काँढा बटुलेर ‘फूल’को आविष्कारमा जुटेका छन्। अनुसन्धान, नवप्रवर्तन तथा प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्य राखेर महावीर पुनले २०७६ सालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका हुन्। मुलुकमा सबैतिर भताभुंग र निराशाको अवस्था मात्र छैन। कहीँकतै आशाका किरण पनि देखिएका छन्। हेर्दा सानो देखिने ती आविष्कारका दियोले भोलि मुलुक झलमल पार्न सक्छन्। त्यस्तै झिल्काहरू देखिन्थे, कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा, जहाँ मुलुकका विभिन्न क्षेत्रबाट आएका युवाहरूले केही न केही बनाउँदैछन्।
‘फोहोरको थुप्रोबाट बनाएको गमलामा फूल फक्रँदा मन निकै खुसी हुन्छ,’ उनले भने, ‘आविष्कार केन्द्रले हामीजस्तालाई यस्तै फूलहरू फुलाउने अवसर दिएको छ।
केन्द्रको एउटा कुनामा बाराबाट आएका हरिशंकर कुशवाह सौर्यमण्डलको जानकारी दिने उपकरण बनाउँदैछन् त अर्को कुनामा दार्चुलाबाट आएका प्रकाश महता अगरबत्ती बनाउने मेसिन तयार गर्दैछन्। त्यस्तै कोही माछा खुर्किने उपकरण बनाउँदैछन् त कोही नेपाली सेनासँगको सहकार्यमा ५ किलोमिटर रेन्जको मिसाइल तयार गर्दैछन्। पुराना सामानहरूका खिचरमिचरमा जम्मा भएका आशालाग्दा युवाहरूको यो उत्साहसँगै मुलुकमा केही बन्दै गरेको आभास हुन्छ। लाग्छ, यहाँ टुथपिकदेखि रकेटसम्मको काम हुँदैछ।
‘हामीले केही गर्ने ठाउँ पाएका छौं,’भौतिकशास्त्रका विद्यार्थी हरिशंकर भन्छन्, ‘यसले हामीलाई आशावादी बनाएको छ।’राजधानीमा अध्ययन गरेका कुशवाहले विद्यार्थीलाई सौर्यमण्डलको जानकारी दिने उद्देश्यका साथ सानो उपकरण बनाउँदै गरेको सुनाए। ‘यो विद्यालयका नानीहरूलाई सौर्यमण्डलबारे जानकारी लिन सहज हुन्छ,’ उनले भने, ‘आज सौर्यमण्डलबारे जानकारी लिने नानीहरू भोलि त्यहाँसम्म पुग्ने लक्ष्य राख्न सक्छन्।’ अगरबत्ती बनाउने मेसिन तयार गर्दै गरेका प्रकाश महताले यसअगाडि धान रोप्ने मेसिन बनाएको सुनाए।
‘एउटा कामको सफलताबाट अर्को काम गर्ने जाँगर आउँदो रहेछ,’उनले भने, ‘यो केन्द्रबाट अगरबत्तीको बास्नाजस्तै सफलताको सुगन्ध आउनेछ।’ केन्द्रका जिएम सञ्जय झा आविष्कार केन्द्र मुलुकभरबाट केही गर्न चाहने युवाहरूको साझा चौतारी भएको बताउँछन्। यहाँ दैनिकजसो केही जान्ने तथा केही गर्न खोज्ने युवाहरूको लर्को आउने गरेको उनी सुनाउँछन्। नयाँ–नयाँ सोच भएका युवाहरूलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको वस्तुहरूको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी यो केन्द्र स्थापना गरिएको उनले बताए। यहाँ बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नयाँनयाँ अनुसन्धानको काम सुरु गरिएको उनले सुनाए।
सरकारबाट अझै पनि सहयोग पाउन सकेका छैनौं। तर हाम्रो यात्रा जारी छ। गण्डकी प्रदेशले आफ्नो बजेटमा १० करोड छुट्याए पनि कानुनी व्यवधानका कारण केही अप्ठेरो आएको छ। आशा गरौं सबै राम्रो भएर अगाडि बढ्नेछ। महावीर पुन, अध्यक्ष, राष्ट्रिय आविष्कार केन्द्र
आविष्कार केन्द्रबाट अध्ययन गरेका प्रोजेक्टहरूमा सोलार पावरमार्फत चल्ने टिचिङ ई बक्स, कृषि औजारका सामान, बिजुली या खनिज इन्धनको प्रयोगबिनै पानी तान्ने पम्प, कोदो र गहुँ झार्ने मेसिन, सूर्य र बिजुली दुवैको मिश्रणबाट फलफूल सुकाउने मेसिन, कफी भुट्ने मेसिन रहेको झाले सुनाए। अरू केके बनाउन सकिन्छ भनेर अध्ययनहरू हुँदै गरेको उनी बताउँछन्। मोटरबाइक, एम्बुलेन्स, खाद्यान्नमा ड्रिंक्स र वाइन तथा क्यान्डीहरू, बेबी वार्मर मेसिनहरू परीक्षणमा रहेको उनले बताए। बायोमेडिकल इक्युुपमेन्टहरूमा पनि केन्द्रको ध्यान रहेको उनले सुनाए। ‘हो, यहाँ विविध कुराहरूको अनुसन्धान र आविष्कार हुँदैछ,’ झाले भने, ‘बिस्तारै यसको विस्तृत नतिजा देखिनेछ।’
केन्द्रका अध्यक्ष एवं अभियन्ता महावीर पुन राज्यले अझै पनि आविष्कार केन्द्रलाई विश्वासका साथ हेर्न नसकेको गुनासो पोख्छन्। आविष्कार केन्द्रका लागि उनले वैशाखमा माइतीघरमा धर्नासमेत दिए। धर्नाको केही दिनपछि सरकारसँग सम्झौता पनि भयो। केन्द्रका संस्थापक पुनसँग सरकारले सोमबारै अनुसन्धान तथा आविष्कारका कार्य एकीकृत रूपमा सञ्चालन गर्न कोष स्थापनाको सहमति भयो। तर त्यसअनुसार माग पूरा हुन नसकेको उनको गुनासो छ। सम्झौतामा बजेटको १ प्रतिशत रकम छु्ट्याउने उल्लेख गरिए पनि निकै कम (एक अर्ब मात्र) विनियोजन भएको उनले सुनाए। ‘बजेटमा छुट्याएको पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड रूपैयाँको १ प्रतिशत भनेको ३ अर्ब २ करोड, ७० लाख रूपैया हुन्छ,’ बजेटलगत्तै महावीर पुन लेख्छन्, ‘कसरी १ अर्ब निकालियो, यसरी हाकाहाकी ढाँट्ने काम नगरौं।’
त्यस्तै आविष्कार केन्द्रलाई विश्वास गरेर गण्डकी प्रदेश सरकारले १० करोड बजेट छुट्याए पनि कानुनी व्यवधानका कारण विभिन्न अवरोध आएको पुन बताउँछन्। यिनै अवरोधका बाबजुद अनुसन्धान कार्य जारी रहेको उनले सुनाए। ‘आविष्कार र अनुसन्धान भनेको सिक्ने प्रक्रिया हो, जुन कहिल्यै पनि टुंगिँदैन,’उनी भन्छन्, ‘यो धर्तीमा मानिस रहुन्जेल खोज, अनुसन्धान र आविष्कार भइरहन्छ।’
सम्झौतामा बजेटको १ प्रतिशत रकम छु्ट्याउने उल्लेख गरिए पनि निकै कम (एक अर्ब मात्र) विनियोजन भएको उनले सुनाए।
केन्द्रले के गर्छ?
केन्द्रले पहिले कसैसँग राम्रो ‘आइडिया’छ भने त्यसलाई ल्याउन भन्छ। त्यो आइडिया कुनै व्यवसायको पनि हुन सक्छ वा कुनै अनुसन्धानको पनि हुन सक्छ। कुनै सेवा दिने काममा प्रयोग हुने आइडिया पनि हुन सक्छ। त्यस्तै कसैले नयाँ सामान बनाउँछु या आविष्कार गर्छु भने त्यसलाई पनि केन्द्रले स्वागत गर्छ। केन्द्रले सामान तथा उपकरण उपलब्ध गराउँछ, खानबस्न सुविधा दिन्छ।
‘खानाखाजा बनाउने मानिस छन्, राष्ट्रिय आविष्कार केन्द्रमा भुइँमा मेट्रेस बनाएर सुत र काम गर। तर पैसाको चिन्ता नगर भनेका छौं,’पुनः भन्छन्, ‘ढुक्क भएर गर भनेन भने काम गर्दैनन्। ढुक्क भएर काम गरेनन् भने आविष्कार नै हुन्न। हाम्रो उद्देश्य भनेको जसरी पनि त्यहाँ आएका युवालाई अनुसन्धानका लागि रोकेर राख्ने हो।’
त्यस्तै काम गर्दा ५ देखि २० लाखको चिन्ता नलिनू भन्ने गरेको पुनले सुनाए। राज्य भरपर्दो नहुँदा पैसाको स्रोत भनेको जनता नै रहेको उनले सुनाए। ‘यो केन्द्र स्थापना आविष्कार र अनुसन्धानमार्फत मुलुकको समग्र समृद्धिका लागि हो,’ उनले भने, ‘हाम्रो आशा र भरोसा भनेको पनि तपाईं जनता नै हो।’
प्रकाशित: १ असार २०८० ०१:०६ शुक्रबार