२६ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

लघुबित्तबिरुद्धको आन्दोलनमा अश्रुग्यास र लाठी प्रहारबाट ३ घाईते

संस्थाको कार्यालय प्रवेशद्वारमा तैनाथ प्रहरी र आन्दोलनकारीले कार्यालय अगाडि विरोधस्वरुप झुण्ड्याएको जुत्ता । तस्विरः महेश्वर / नागरिक

गाईघाटस्थित जीवन विकास लघुबित्त बित्तीय संस्थको आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेपछि थप चर्केको छ। आईतबार साँझ शान्तिपूर्ण आन्दोलनमाथि लाठी र अश्रुग्याँस प्रहारबाट ३ जना घाईते भएको भन्दै सोमबार विहानैदेखि संस्थाबिरुद्ध आन्दोलन झन् चर्काइएको छ।  

आईतबार साँझ साढे ७ः०० बजेतिर प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा त्रियुगा नगरपालिका ७ चुहाडेका ३६ वर्षीय धनबहादुर मोते, त्रियुगा ६ जलजलेकी २७ वर्षीया देविका राई र मोरङ बेलबारी ७ की ४४ वर्षीया ललितादेवी खवास घाईते भएका छन्। मोतेको टाउकोमा चोट लागेको छ भने खवासको हात भाँचिएको छ। राईको शरिरका विभिन्न भागमा चोट लागेको आन्दोलनकारी लघुबित्त संघर्ष समिति केन्द्रीय उपाध्यक्ष सशिला थापाले बताईन्। उनका अनुसार जिल्ला अस्पतालमा उपचाररत खवासको भाँचिएको हात अप्रेसन गर्नुपर्ने भएको छ भने मोते र राईको पनि सोही अस्पतालमाउपचार भइरहेको छ।  

थापाका अनुसार केहीदिनअघि संघर्ष समितिको माग समेटिएको ज्ञापनपत्र बुझाउन जाँदा संस्थाका कर्मचारी विकास साहले च्यातेर फोहोर फाल्ने टोकरीमा हाल्दै तत्काल ननिस्के गलहत्याएर निकाल्ने अपमानजनक धम्की दिएपछि बिबाद सिर्जना भएको थियो। कर्मचारीले माफी माग्नुपर्ने माग राखेकोमा शाखा प्रवन्धक विकास साहले थप अपमानजनक भाषा प्रयोग गर्दै गालीबेइज्जतीको भाषा बोल्दै प्रहरी बोलाएर कार्यालय पस्न नदिएपछि आन्दोलन लम्बिएको उपाध्यक्ष थापाले बताएकी छिन्। स्थानीय सेवाग्राहीलाई बेवास्ता गरेपछि आन्दोलनमा सहयोग गर्न भन्दै मोरङ, सुुनसरी र सप्तरीका लघुबित्त समूहमा आबद्ध ५ सय बढी (अधिकांश महिला) दर्जन हाराहारी बस रिजर्भ गरेर गाईघाट आएका थिए।  

स्थानीय पीडितहरुसमेतको सहभागितामा कार्यालय अगाडि भेला भएका पीडितहरुले कर्मचारीले माफी नमागेसम्म छाडेर नजाने अडान लिएपछि विहानदेखि साँझसम्म संस्थको कार्यालय रहेको गाईघाट बैंकलाईन हुलहुज्जतमय रह्यो । दिउँसो वर्षा हुँदासमेत नाराबाजी भईरहे पनि शान्तिपूर्ण रहेको आन्दोलन साँझमा एकाएक खल्बलिएको संघर्ष समिति उदयपुरका अध्यक्ष मनोज पौडेलले बताए। आफुहरु शान्तिपूर्णं आन्दोलन गरिरहेकै बेला एक्कासी कार्यालय भवनको माथिल्लो तलाबाट पानीको बोतलले हिर्काएपछि त्यसो नगर्न आग्रह गर्दा सशस्त्र प्रहरीले एक्कासी लाठी प्रहार र धरपकड गरेको उनले बताए।  

प्रहरीको लाठी मोतेको टाउकोमै प्रहार हुँदा गहिरो चोट लागेको छ भने सोही क्रममा खवासको हात भाँचिनुका साथै राई घाईते भएको पौडेलले बताए । घाईते मोतेले पानीको बोतल माथिबाट फालेपछि आक्रोसित भएका आन्दोलनकारीलाइ अगाडि गएर थुमथुमाउदै गर्दा प्रहरीले उल्टै आफुमाथि लाठी प्रहार गरेर घाईते बनाएका गुनासो गरेका छन्। प्रहरी यसरी बिबेक गुमाएर अघि बढेपछि समूह तितरबितर भएको तर, खेदीखेदी लाठी प्रहार गर्दा चिया खाँदै गरेकी कवाडी संकलक सुनया खातुनको हातमा पनि चोट लागेको छ। उनले आफु लघुबित्तमा सरोकारै नभएको मान्छे चिया खान आउँदा प्रहरीले कुटेको गम्भीर दुखेसो गरिन्।  

मुठभेड भएपछि आन्दोलनकारीहरु राति संस्थाको कर्यालय अगाडि सडकमै सुतेर सोमबार विहानैदेखि आन्दोलन सुरु गरेका छन्। बित्तीय संस्थाको कार्यालयलाई सशस्त्र र जनपथ प्रहरीको ठूलो समूहले घेरा हालेर सुरक्षा दिइरहेको छ। विहानदेखि चर्केको आन्दोलन साम्य पार्न उनीहरुको मागबारे दोहोरो छलफल गर्ने प्रयास भईरहेको छ। त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष सुमन्त कोईरालाले आन्दोलनकारी र लघुबित्तका कर्मचारीलाई सँगै राखेर वार्ता गराउने प्रयास भईरहेको बताए। त्यसका लागि आन्दोलनकारीको तर्फबाट प्रतिनिधिमूलक रुपमा बढीमा १० जनासम्मको समूह प्रहरी कार्यालयमा आउन आग्रह गर्दै लघुबित्तका कर्मचारीलाइ पनि बोलाइएको उनले बताए।  

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले दिनभर शान्तिपूर्ण रहेको आन्दोलन एकाएक साँझमा प्रहरीमाथि ढुंगा प्रहार भएपछि स्थिति सामान्य बनाउन सामान्य लाठी प्रहार गरेको र त्यसबाट पनि साम्य नभएपछि ४ राउण्ड अश्रुग्याँस प्रहार गर्नु परेको बताएका छन्। एसपी फुयालले दुवैतर्फका सरोकारवाला व्यक्तिहरुलाई सँगै राखेर छलफल गरी समाधान निकाल्न लघुबित्तका कर्मचारी र आन्दोलनकारीपक्षलाई जिल्ला प्रहरी कार्यालयमै बोलाएर छलफलको तयारी भईरहेको बताएका छन्।  

प्रकाशित: ८ जेष्ठ २०८० ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App