५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अवैध रुख काटेको आरोपमा वन समूहका अध्यक्ष पक्राउ

सदाबहार सामुदायिक वनमा काटिएका अवैध रुखका टुना।तस्विरः महेश्वर

वन कार्यालयबाट अनुमति नलिई दर्जनौ सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका ३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्।समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।

कटान, छपान र निकासीको आदेश नलिएको तथा वार्षिक कार्ययोजना समेत नभएको अवस्थामा धमाधम रुख काटेको स्थानीयले भेटेर उजुरी दिएपछि अध्यक्ष घिमिरेलाई पक्राउ गरी कारबाही सुरु गरिएको डिभिजन वन कार्यालय त्रिबेणी कटारीले जनाएको छ।डिभिजन वन अधिकृत (डिएफओ) अनिरुद्ध साहले वैशाख तेस्रो सातातिर उजुरी परेपछि वन कर्मचारी टोली परिचालन गरी घट्नास्थलको अनुगमन गर्दा रुख काटेको ठहरिए अनुसार अध्यक्षलाई पक्राउ गर्नुपरेको उनले बताए।साहका अनुसार प्रारम्भिक बयान र स्थानीयको भनाई अनुसार वैशाख सुरुदेखि नै रुख ढाल्ने काम सुरु भएको खुलेको छ।

१५ दिनअघि नै काट्न सुरु भएकाले ४८ वटा ढालिसकेपछि मात्र खवर आएको डिभिजनले जनाएको छ।उपभोक्तालाई दिने भन्दै उनीहरुलाई नै परिचालन गरी रुख ढाल्ने काम भएको उनले बताए।‘अध्यक्ष आफैले कटान आदेश लिइसकेको भनेर उपभोक्तालाई वितरण गर्ने भन्दै रुख काट्न लगाएको सुरुवाती अनुसन्धानले देखाएको छ’ डिएफओ साहले भने ‘विस्तृत कुरा थप अनुसन्धानपछि मात्र खुल्दै जाला।अहिलेलाई डिभिजनको आदेश नलिइ अवैध रुपमा रुख काटेको पाइएकाले पक्राउ गरी कारबाही सुरु भएको छ ।’

घट्नाबारे विस्तृत कुरा पत्ता लगाउन डिभिजनकै सहायक वन अधिकृत अम्रेन्द्र यादवलाई अनुसन्धान अधिकृत तोकेर छानविन कार्य सुरु भएको छ।वैशाख ३१ गते पक्राउ घिमिरेलाई बिहीबार मात्र जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भएको यादवले बताएका छन्।उनका अनुसार समूहको विभिन्न क्षेत्रबाट ४८ वटा सालका रुख काटिएका छन्।जसमध्ये २ वटा ढला पडा र बाँकी सुख्खा खडा रुख रहेका छन्।ढालिएका रुखलाई टु्ना बनाएर २ सय ६५ वटा गोलीयामा परिणत गरिएको छ भने केही गोलीया चिरान गरेको पाइएको छ।यादवले ३५ थान चिरान बटम (कडी) पनि उपभोक्ताको घरबाट बरामद भएको बताए।जम्मा काठको परिमाण ३ हजार ९ सय ९१ क्युविक फिट रहेको छ। जसको सरकारी मूल्यांकन अनुसार २७ लाख ९३ हजार ७ सय हुन आउँने यादवले बताए।

वैशाख अन्तिमतिर टुना गोलीया काठ ट्याक्टरमा राखेर अज्ञातस्थलतर्फ लाँदै गरेको पाएपछि स्थानीयले कब्जा गरी डिभिजनमा बुझाउदै सोधखोज थालेका थिए।रातिराति काठ ओसारपसार गरेको पाएपछि स्थानीयले पक्राउ गरेको भोलिपल्ट जंगल गएर हेर्दा जताततै गोलीया टुना भेटिएपछि अवैध काठ कटानको ठहर गर्दै डिभिजन गुहारेको स्थानीय उपभोक्ता यज्ञ राईले बताए।राईका अनुसार मिर्चया–कटारी खण्डको सडक छेउछाउ रुखका टुना जताततै छरपस्ट अवस्थामा राखेको पाइएको छ।

प्रकाशित: ५ जेष्ठ २०८० १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App