१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

यसरी लाग्दैछ बालविवाह विरुद्ध जुम्लाको बालसञ्जाल

जुम्लाको पातारासी गाउँपालिका-४ की सुनिता बुढाा १४ वर्षकै कलिलो उमेरमा छिमेकी किशोरसँग विवाह गरिन्। विवाह गरेको केही महिनापछि उनी गर्भवती भइन्। उमेर नपुगिकन विवाह भएकाले उनमा थुप्रै खालका स्वास्थ्य समस्या देखिए। बच्चा पनि जन्मियो तर उनलाई बच्चा जन्माउन निकै समस्या भयो।

उनको पहिलो सन्तान पाँच वर्ष र दोस्रो एक वर्षको काखमा छ।उनीमात्रै होइन, सोही गाउँकी सुर्पुना बुढा १५ वर्ष र  पुनि १४ वर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाँधिए। विवाहपछि दुबै जनामा थुप्रै स्वास्थ्य समस्या देखिएका छन्। सिङ्गै गाउँमै बालविवाह गर्ने लहर बढ्दै जाँदा बालविवाह विरुद्ध पछिल्लो समयमा पातारासी गाउँपालिका भित्रका बाल संजालहरु सक्रिय भएका छन्।

बालविवाह रोकी सवल समाज निर्माण गर्ने उद्देश्यले पालिका स्तरीय बालसंजालले बालविवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ।  बालविवाहका कारण सामाजिक र स्वास्थ्य क्षेत्रमा प्रतिकूल प्रभाव देखिनथालेपछि आफूहरु यो अभियानमा जुटेको पातारासी गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष रमेश बुढाले बताए।

अभियान सञ्चालन गरेपछि अहिले बस्तीमा बालविवाहमा कमी आएको उनको भनाइ छ। उनले भने,'विगत दुई वर्ष अघिसम्म गाउँमा बालविवाह गर्ने किशोर किशोरीको सङ्ख्या ह्वात्तै बढेको थियो तर अहिले त्यसमा धेरै कमी आएको छ। संजालका सबै सदस्यले गाउँमा बालविवाह, घरेलु हिंसालगायतका सम्बन्धमा सचेतना फैलाउने कार्य गर्छन्।'  

उक्त अभियानमा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा तथा किर्डाक नेपाल जुम्लाले समेत हातेमालो गरेको छ। महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बालविवाह रोक्ने अभियान तिव्र रुपमा अगाडि बढेको बताइन्।

उनले भनिन्, 'अभियानले अहिले गाउँमा बालविवाह कमी आउनुका साथै बालबालिका तथा अभिभावकमा समेत यस सम्बन्धी चेतना वृद्धि भएको छ।'

बालसंजालकी सदस्य विनिता बोहोरा बिगतमा शिक्षाकै कमीका कारण आफ्नो गाउँमा बालविवाह गर्ने प्रथा बढेको तर शिक्षा र चेतना वृद्धिसंगै अहिले बालविवाह हटेर गएको बताउँछिन्। उनले बालसंजालमा आवद्ध किशोर ,किशोरी र गाउँपालिका महिला शाखाको अभियानले गति लिएको बताइन्। गाउँमा किशोर,किशोरी एक जुट भएर अभियान थालेपछि बालविवाह विरुद्ध अभिभावक समेत सचेत हुन थालेका छन्। 

प्रकाशित: ३१ वैशाख २०८० १४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App