२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामुदायिक वनमा ठूलो परिमाणको अवैध काठ कटान

क्याप्सनः काटिएको रुखको फेद नाप्दै वन कर्मचारीहरू। तस्विरः महेश्वर

कटारी नगरपालिका ३ च्याङास्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट ठूलो परिमाणको अवैध काठ कटान भएको स्थानीयले बताएका छन्। झण्डै २ सातायता समूहको जंगलक्षेत्रमा जताततै ४८ वटा रुख ढालेर गोलीया बनाई अज्ञातस्थलतर्फ लाने गरेको पाइएको छ।

केही दिनअघि मात्रै रातिको समयमा गोलीया काठ राखेर अन्यत्र लाँदै गरेको भेटेर स्थानीयले नियन्त्रणमा लिएपछि समूहको काठ अवैध रुपमा कटान भईरहेको रहस्य खुलेको स्थानीय उपभोक्ता यज्ञ राईले बताए। उनका अनुसार मिर्चया–कटारी खण्डको च्याङा आसपास सडकको दायाँबायाँ क्षेत्रमा बग्रेल्ती रुख ढालेको अवस्थामा पाइएको छ। सखुवाका रुख ढालेर गोलीया बनाई ट्याक्टरमा लोड गरी अज्ञातस्थलतर्फ लाँदै गरेको अवस्थामा २६ गते राति ९ः०० बजे स्थानीयले भेटेर नियन्त्रणमा लिई डिभिजन वन कार्यालय त्रिवेणी कटारीको जिम्मा लगाएका थिए। 

रातिको समयमा प्र २–०१–००–१ त १४३१ नं. को ट्याक्टरमा ४ वटा गोलीया काठ लोड गरेर अज्ञातस्थलतर्फ लाँदै गर्दा गाउँलेले भेटेर नियन्त्रणमा लिई डिभिजन कार्यालयमा बुझाएको राईले बताए। तर, सो काठ डिभिजनमा राखेर ट्याक्टर भने २७ गते समूहका कोषाध्यक्ष बच्चु दाहालको रोहबरमा छाडिएको स्थानीयले बताएका छन्। उनलाई डिभिजनले खोजेको बखत उपलब्ध गराउने गरी जिम्मा ट्याक्टर छाडेको बताइएको छ।  

डिभिजन वन अधिकृत (डिएफओ) अनिरुद्ध साहले अवैध रुपमा काठ काट्ने काम भएको पुष्टि गर्दै यसबारे अनुसन्धान सुरु भएको बताए। उनका अनुसार डिभिजनबाट चालु वर्षका लागि समूहले काठ कटान, छपान तथा निकासीको कुनै अनुमति लिएको छैन। डिभिजनको अनुमतिबिना रुख काट्नु गैर कानुनी भएकाले कारण खुलाउन २४ घण्टभित्र जवाफ दिन समूहलाई स्पष्टीकरण माग्दै पत्राचार गरिएको पनि साहले बताए। 

स्थानीये ४८ वटा रुख ढालेको भन्ने उजुरी दिएको भए पनि कति परिमाणको काठ काटिएको छ भन्ने यकिन भईनसकेको साहले बताए। त्यसका लागि बिहीबारदेखि कर्मचारी टोली घटनास्थलमा खटाएर कटान गरिएको काठको नापचाँज गरी परिमाण पत्ता लगाउन प्रहरी, जनप्रतिनिधि समेतको संलग्नतामा मुचुल्का उठाउने काम भईरहेको उनको भनाई छ।

डिएफओ साहले हरिया रुख भने कुनै नकाटिएको बताए। काटिएका ४८ वटा रुखमध्ये ४ वटा ढलापडा छन् भने बाँकी ४४ वट सुख्खा खडा रुख भएको उनले बताए। साहका अनुसार समूहका अध्यक्षकै निर्देशनमा रुख काटिएको र समूहभन्दा बाहिर कसैलाई दिइएको छैन। काटिएका रुखका टुनाहरू उपभोक्ताकै घरघरमा लगेर राखेको अवस्थामा पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घट्नामा संलग्नहरू अहिलेसम्म कोही पक्राउ भने परेका छैनन्। डिएफओ साहले व्यक्ति पक्राउ गर्नुभन्दा अदालतको आदेश अनुसार कारबाही गर्ने तयारी भईरहेको बताएका छन्। 

कटारी नगरपालिका ३ का वडाध्यक्ष पुष्कर खड्काले समूहले डिभिजनबाट अनुमति नलिई रुख काटेको पाइएको बताए। खड्काले यसबारे डिभिजन कार्यालयले छानबिन गरिरहेको र वन ऐन अनुसार कारबाही गर्न अनुसन्धान थालेको जानकारी आएको बताए।        


 

 


 

प्रकाशित: २९ वैशाख २०८० १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App