८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

गाईघाट–बेलदोभान–हडर सडक २ दशकदेखि अलपत्र

मर्मत संभार नभएका कारण अलपत्र गाईघाट–बेलदोभान–डहर सडक। तस्विरः महेश्वर

सदरमुकाम गाईघाटदेखि जिल्लाकै प्रसिद्ध पर्यटकीयस्थल रौतापोखरी जोड्ने छोटो दूरीको गाईघाट–बेलदोभान–हडर कच्ची सडक निर्माण सुरु भएको डेढदशकभन्दा बढी भईसके पनि सरोकारवाला निकाय र व्यक्तिको नजर पुग्न नसक्दा अलपत्र परेको छ। १६ वर्षअघि स्थानीयतह पुनर्सरचना नभई नै निर्माण थालिएको झण्डै १५ किलोमिटर लामो उक्त सडकप्रति सरकारको चासो नहुनुकै कारण अहिले गाईबस्तु र पैदल हिड्ने गोरेटोमा सीमित हुन पुगेको हो।

गाईघाटदेखि रौतापोखरी हुँदै माथिल्लो भेगमा आउजाउ गर्ने पैदल हिड्ने साबिक बाटोलाई नै सुधार गर्दै सडकमा स्तरोन्नति गर्न थालिएको सो बाटो भएर ३ टण्टामा रौता पुग्न सकिन्छ। गाईघाट, बोक्से, बाबरी, बेलदोभान, सिद्रे, सालथुम्की हुँदै डहर निस्केर रौता पुग्ने छोटो दू्ररीको बाटो सडक बनाउन थालेपछि गोरेटोसमेत हराईसक्दा थप समस्या भएको छ। पैदल हिड्ने बाटोलाई सडक बनाउन खोज्दा गोरेटो नै हराएर स्थानीयलाई थप समस्या परेको स्थानीय जीवन राईले बताए। कच्ची सडकलाई सरतेन्नति गर्न नसक्दा अहिले झाडीले भरिएको छ भने गोरेटो बाटो जंगलमा परिणत हुँदै गएको उनी बताउँछन्।

सदरमुकामदेखि रौतापोखरी पुग्ने यति छोटो दूरीको बाटो नबनेका कारण हाल रौता पुग्न गाईघाटदेखि साउने–खाँबु–रानीबास हुँदै निर्माणाधीन गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग भएर जानेआउने गरिएको राईले बताए। उनका अन्ुसार गाईघाटदेखि यत्ति छोटो दूरीको सडक स्तरोन्नति गर्न नसक्दा १ घण्टामा पुग्ने बाटो अढाईघण्टा लगाएर हिड्नु परेको छ। राईले आवश्यक बजेट र स्तरोन्नतिको पहल नगर्दा यति महत्वपूर्ण सडक बन्नुको साटो खोलिएको ट्र्याकसमेत जिर्ण हुदै गएको गुनासो गरे।

सदरमुकामदेखि रौता पोखरीजस्तो प्रमुख पर्यटकीय तथा धार्मिकस्थल जाने सबभन्दा छोटो दुरीको सडकलाई बेवास्ता गर्दा त्यहाँ जान चाहने आन्तरिक तथा बाह्य पर्यटकहरु घण्टौँ लगाएर जानुपर्ने बाध्यता छ। यो भन्दा धेरै पछि निर्माण थालिएका सडकहरु ग्राभेल गरेर पनि कालोपत्रे भईसकेको तर, यसलाई कसैको नजर नपरेकोमा अर्का स्थानीय टोपबहादुर मगर पनि गुनासो गर्छन्। ‘गाईघाटदेखि बेलदोभान हुँदै रौतापोखरी पुग्न छिटो र छोटो सडक यही हो’ स्थानीय सरस्वति सामुदायिक वन समूहका अध्यक्षसमेत रहेका मगरले भने ‘तर, यो सडक बनाउने विषयमा कसैले ध्यान दिएको देखिएन। जनप्रतिनिधिहरुले पनि यसबारे उत्ति चासो दिएका छैनन्।’ सदस्य, वडाध्यक्षदेखि नगरप्रमुख, उपप्रमुख, प्रदेश सांसद र मन्त्रीसम्मलाई यो कुरा भन्दा पनि कसैको चासो नगएको मगरले गुनासो गरे।

त्रियुगा १६ जाँते सिद्रेस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक कुमार राईले पनि यो सडक सदरमुकामलाई पहाडीभेगका मध्यभेग हुँदै रौतापोखरीसँग जोडेर उत्तरी खण्डका भूभाग जोड्न धेरै महत्वपूर्ण रहेको बताए। धेरैवर्षअघि सुरु भएको यो सडकमा मोटरसाईकल आउजाउ गर्नसम्म सकिने अवस्था भएकाले सामान्य मर्मतसुधार गर्दा पनि काम चलाउ हुने राई बताउँछन्। मोड सुधार, ग्राबेलिङ र भत्केबिग्रेको ठाउँमा रिटेनिङ वालसहित नाला मात्र बनाउ पनि त्यसभेगका गाउँबस्तीबासीलाई सदरमुकाम आउजाउ गर्न सहज हुने उनले बताए। प्रअ राईका अनुसार गाउँघरमा उत्पादित कृषिजन्य उपभोग्य बस्तु तथा फलफुल बजार लगेर बिक्री बितरण गर्न तथा बजारदेखि उपभोग्य सामग्री गाउँघरतिर ल्याउन सो सडक सुधार हुनुपर्ने खाँचो छ।

सडक सुधार नहुदा त्यस ठाउँमा उत्पादित वस्तुले मुल्य नपाउनुका साथै बजारदेखि ल्याउनुपर्ने उपभोग्य सामग्री साउने, खाँबु घुमाउरो बाटो भएर ल्याउनुपर्ने बाध्यता छ। सडक नभएकै कारण गाउँमा उत्पादित अन्नवाली र फलफुल बेच्न नपाउँदा बाँदरको रजाई हुने गरेको र आम्दानी त्यत्तिकै गुिमरहेको छ। सो सडकले बोक्से हुँदै बाबरी, बेलदोभान, जाँते, सिद्रे, गहते, साल्थुम्की, हरोबोट, डहर हुँदै रौता पाखेरीलाई जोडेको छ। त्यसैले उक्त सडक स्तरोन्नति गर्न सके यसभेगका धेरैलाई फाईदा पुग्नुका साथै रौता जान चाहने पर्यटकका लागि छोटो दूरीको यात्रा तय हुने त्रियुगा १५ स्थित मावि बरुवा डहरका विद्यालय व्यवस्थपन समिति अध्यक्ष कमल राईले बताए।

राईले पहिलो नै खनिसकेको र मोटरसाईकल चल्न सक्ने सडक भएकाले स्तरोन्नति गर्न धेरै लागत पनि नलाग्ने बताए। एकैचोटी बजेट लगाउन नसके पनि वहुवर्षीय योजना बनाएर स्थानीय, प्रदेश र संघको साझेदारीमा निर्माण गर्न सकिने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको राईले बताए। उनले आवश्यक बजेट सरकारले दिए स्थानीयले श्रमदान गर्न पनि तयार रहेको उनले बताए। नगरपालिकाकै १५ र १६ नं. वडाले छोएको क्षेत्र भएकाले यसबारे नगरपालिकाले नै बढी चासो दिनुपर्नेमा नदिएको उनको गुनासो छ। यो सडक ग्राबेल र नालासहित स्तरोन्नति गर्न सके गाईघाटदेखि डेढ घण्टामा र कालोपत्रे गरे १ घण्टामै पर्यटकीयस्थल रौतापोखरी पुग्न सकिने राईले बताए। जवकि अहिले साउने, खाँबु, रानीबास, डहर भएर रौतापोखरी पुग्न कम्तीमा ३ घण्टा लाग्दै आएको छ।

हिउँदयाममा दुःखले सामान्य साना फोरह्विल जीप र मोटरसाईकल चले पनि वर्षायाम सुरु हुनेबित्तिकै पुरै सडक हिलोमा परिणत हुने गरेको छ। जाँते, डिहिटार हुँदै सिद्रेसम्म कठिनाईपूर्बक धुले सडकमा जीप मोटरसाईकल चले पनि सिद्रेभन्दा माथि गहते साल्थुम्की, हरोबोट हुँदै डहर पुग्ने सडक भने पूर्णरुपमा भत्केर पैदल हिड्न मात्र सकिने अवस्थामा पुगेको छ। सो सडक खण्डमा पर्ने बेलदोभानस्थित बरुवा खोलामा पुल त बनेको छैन नै, कजवेसम्म नहुँदा केही माथि सिद्रेसँग जोडेर झोलुंगे पुल बनाइएको छ। झोलुंगे पुलले पैदल यात्रा गर्न सहज भए पनि वर्षामा बाढी आएको बेला खोला तर्न नसकेर पारी तर्न सक्ने अवस्थै छैन।

त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईले करिब १६ वर्षअअघि खोलिएको उक्त सडकको समयमा मर्मत संम्भार नहुँदा बिग्रदैगएको बताए। उनले आफ्नो वडाले समेटेको बेलदोभान, जाँते, सिद्रेसम्म कच्ची सडक हिउदयाममा चल्ने गरी मर्मत गर्ने गरेको तर, अर्को वडातर्फ आफ्नो क्षेत्राधिारभित्र नपर्ने भएकाले त्यसबारे १५ नं. ले नै पहल गर्नुपर्ने बताए। आगामी वर्ष सो सडकलाई प्राथमिक्तामा राखेर बजेट छु्ट्याउन पहल गर्ने पनि वडाध्यक्ष राईले प्रतिबद्धता जनाए।

१५ नं. वडाध्यक्ष गणेश तिम्सिनाले निकै पहिले खनेको सडक आवश्यक बजेट अभावमा मर्मत र स्तरोन्नति गर्न नसकिएको बताए। गाईघाटदेखि खाँबु डहर हुँदै रौतापोखरी जान आउन छोटो दूरीको सडक भएको भन्दै तिम्सिनाले आगामी वर्षदेखि त्यसको स्तरोन्नति गर्नका लागि नगरपालिका, प्रदेश र संघीय सरकारसँग बजेट मागेको बताए। उनले वडाबाट पनि सक्दो पहल गर्ने र माथिल्लो तहसम्म पनि सकेसम्म कालोपत्रे हुनेगडरी बजेट छ्ट्याईमागेको बताएका छन्।  

प्रकाशित: २४ वैशाख २०८० ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App