विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन्। आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन्। आठ वटाको पहिचान नखुलेको उहाँको भनाइ छ । उहाँका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ।
यस्तै आर्थिक वर्ष २०७२-०७३ मा एक, २०७३-०७४ मा चार, २०७४-०७५ मा छ, २०७५-०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६-०७७ मा तीन, २०७७-०७८ मा दुई र २०७८-०७९ मा छ वटा बाघ मृत भेटिएका थिए। चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ। सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताए। निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ।
प्रकाशित: २३ वैशाख २०८० ०३:३३ शनिबार