६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुन्तला उत्पादनमा स्याङ्जाको छलाङ

फाइल तस्वीर

यो बेला स्याङ्जाका धेरै किसान खेतबारीमा खाडल खन्न व्यस्त छन्। किनकि अहिले सुन्तलाका बिरुवा रोप्न किसानलाई भ्याइनभ्याइ छ। नयाँ बिरुवा रोप्नका लागि खाडल खन्ने, मल हाल्ने र बिरुवा रोप्ने काममा किसानलाई फुर्सदै छैन। नयाँ बिरुवा रोप्ने मात्र नभई यसअघि नै फल दिइसकेका बोटको पनि अहिले धमाधम काटछाट र ले–आउट डिजाइन भइरहेको छ। खेती हुन छाडेको बाँझो जग्गालाई पनि अहिले किसानले धमाधम सुन्तलाबारी बनाउँदै छन्।  

आखिर किसान किन यसरी सुन्तलाखेतीमा लागिपरेका छन् त ? सरकारी तथ्यांकका अनुसार स्याङ्जाले पछिल्लो समय सुन्तलाबाट यति धेरै आम्दानी भिœयाउन सक्यो कि सामान्य सुन्तला खेती गर्ने किसानले पनि कम्तीमा एक लाख रूपैयाँ सहजै कमाउन सकेका छन्। जिल्लाका सबैजसो गाउँका किसानले सुन्तलाबाट लाखौं रूपैयाँ आम्दानी गर्न थालेपछि यसअघि अन्नबाली फलिरहेको र वर्षाैंदेखि बाँझिएको जग्गालाई पनि किसानले सुन्तलाखेतीमा परिणत गर्न थालेका छन्। ती किसानको एकमात्र आश के छ भने आगामी केही वर्षमा सुन्तला फलाएर थप लाखौं रूपैयाँ घरमा भिœयाउने भन्ने रहेको छ।  

हुन त स्याङ्जामा सुन्तला खेती हुन थालेको धेरै नै वर्ष भयो तर पछिल्लो समय यसले यति धेरै व्यावसायिकता पाउँदै गयो कि सुन्तला खेती नगर्ने किसान भेट्टाउन मुस्किल हुन थालेको छ। स्याङ्जाले झन्डै चार दशकदेखि सुन्तला उत्पादन थालेको भए पनि यो वर्ष अहिलेसम्मकै बढी आम्दानी जिल्लाले भिœयाउन सकेकाले पनि किसानको आकर्षण बढेको सरकारी पदाधिकारीको भनाइ छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–सुन्तला सुपर जोनका प्रमुख माधव लम्सालका अनुसार यो वर्ष स्याङ्जाका किसानले अहिलेसम्मकै बढी कम्तीमा एक अर्ब रूपैयाँ घरमा भिœयाएका छन्। सबैगरी एक अर्ब ३८ करोड रूपैयाँ सुन्तलाबाट आम्दानी भए पनि किसानले मात्र कम्तीमा एक अर्ब रूपैयाँ भिœयाएका छन्। सबैगरी २२ हजार मेट्रिक टन सुन्तला जिल्लामा फलेको अनुमान छ। ‘सधैं एकैनासको मूल्य पनि हुँदैन। कतिपय आन्तरिक खपत पनि भयो। त्यसले गर्दा पनि किसानको हातमा कम्तीमा एक अर्ब रूपैयाँ पुगेको हाम्रो अनुमान हो,’ लम्साल भन्छन्, ‘तर अप्रत्यक्ष रूपमा जिल्लाले मात्र कम्तीमा एक अर्ब ३८ करोड रूपैयाँ कमाएको अनुमान छ।’ स्याङ्जाले पोहोर मात्र झन्डै ७५ करोड रूपैयाँको सुन्तला उत्पादन गरेको थियो।  

‘सुन्तला बेचेर वर्षमा १० लाख रूपैयाँ कमाउने किसान त सयौं छन्। एकैजना किसानले वर्षमा झन्डै ४० लाख रूपैयाँसम्म पनि सुन्तलाबाटै आम्दानी गरेका छन्। एक–दुई लाख रूपैयाँ कमाउने किसानको त यहाँ लेखाजोखा नै छैन,’ लम्साल भन्छन्, ‘यो वर्ष सुन्तला खेतीले यति धेरै किसानलाई लोभ्यायो कि धानमकै फल्ने खेतबारी समेत मासेर किसानले अहिले सुन्तलाका बिरुवा रोप्न थालेका छन्। वर्षांैदेखि खेती नभएर झाडी बनेको जग्गालाई पनि अहिले खनखोरस गरेर सुन्तलाखेती गर्न योग्य बनाएका छन्। किसानको लगाव सुन्तलामा बढेको छ।’ यतिसम्म कि कम्तीमा एक सयवटा बिरुवा फलाउन पाउने हो भने वर्षमा ७ लाख रूपैयाँ जति आम्दानी हुने देखेपछि किसान सुन्तलामा बढी आकर्षित भएका हुन्। ‘एक वर्ष रोपेपछि वर्षाैंसम्म आम्दानी दिने हो। अरू बालिलाई जस्तो धेरै रेखदेख पनि गर्नुपर्दैन, त्यही भएर पनि किसानको आकर्षण बढ्दो छ,’ उनले भने।

लम्सालका अनुसार अहिले स्याङ्जाका सबैजसो स्थानीय तहमा सुन्तला खेती हुन्छ। सबैगरी २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। त्यो मध्ये १३ सय हेक्टर क्षेत्रफलको खेतीले उत्पादन दिन्छ भने बाँकी सात सय हेक्टरको क्षेत्रफलका बिरुवा उत्पादन दिने तयारीमा छन्। केही आगामी सिजनमा र कतिपय बिरुवाले अझै केही वर्षपछि उत्पादन दिनेछन्। स्याङ्जामा प्रतिहेक्टर झन्डै १७ मेट्रिक टन सुन्तला फलेको अनुमान छ।

बिरुवा रोप्ने अभियान  

सुन्तला खेतीलाई प्राथमिकता दिने भन्दै पहिलापहिला सरकारी निकायले किसानलाई सुन्तलाका बिरुवा दिने चलन थियो। तर अहिले स्याङ्जाका सरकारी निकायले बिरुवा दिँदैनन्, बरु बिरुवा रोपेबापतको अनुदान भने उपलब्ध गराउँछन्। बिरुवा मात्र बाँड्दा कतिपयले रोपेको र कतिपयले नरोपेको थाहा पाएपछि पछिल्लो समय परियोजनामार्फत किसानलाई बिरुवा रोपेबापत अनुदान दिन थालिएको छ। परियोजना प्रमुख लम्सालका अनुुसार बिरुवा रोप्नका लागि खाडल खनेको, मजदुरलाई काम लगाएको, बिरुवा रोपेको र मल हालेको प्रमाण पेस गरेपछि अहिले अनुदान दिने गरिन्छ। सुन्तला खेती गर्दा एउटा बिरुवा रोप्दा कम्तीमा चार सय रूपैयाँ खर्च हुने अनुमान छ। अनुदानमध्ये सरकारले आधा बेहोर्ने हो, बाँकी किसानले बेहोर्नुपर्छ। एउटा बिरुवा रोपेबापत किसानले २ सय रूपैयाँका दरले अनुदान पाउँछ।  

सरकारले तोकेको मापदण्ड पूरा गरेपछि कुनै समुहमा आबद्ध भएपछि वा व्यावसायिक रूपमा सुन्तला खेतीका लागि भिन्दै फर्म खोलेमा किसानले अनुदान हात पार्छन्। ‘दुई सय बिरुवा रोप्यो भने ४० हजार रूपैयाँ अनुदान हात पार्छन्। बिरुवा मात्र दिँदा उत्तिसारो उपयुक्त नदेखेपछि सिधै किसानलाई नगद अनुदान दिन थालिएको हो। तर त्यो नगद हात पार्न किसान समुहमा वा फर्ममा दर्ता हुनुपर्छ,’ उनले भने।

किसान दंग

उत्पादनसँगै अम्दानी पनि पर्याप्त हुन थालेपछि स्याङ्जामा सुन्तला खेती गर्ने किसान निकै खुुसी छन्। पुतलीबजारका किसान बोधराज अर्यालले यो वर्ष मात्र सुन्तलाबाट १५ लाख रूपैयाँ कमाएका थिए। उनले अहिले हाइटेक नर्सरी नै बनाएर यो पटक ४० हजार बिरुवा उत्पादन गर्ने तयारीमा छन्। अर्यालका अनुसार सुन्तलाले यो वर्ष स्याङ्जामा ऐतिहासिक आम्दानी दिलाएको छ। जसले गर्दा अरू किसानलाई पनि उत्साहका साथ सुन्तला खेतीमा लाग्न प्रेरणा मिलेको अर्याल बताउँछन्। ‘सुन्तलाले अहिलेसम्मको ऐतिहासिक आम्दानी यो वर्ष दिएको छ। आम्दानी देखेरै उत्साहका साथ अहिले किसान बिरुवा रोप्न थालेका छन्। किसान आफैंले राम्रो बिरुवा खोजेर रोप्ने काम गरिरहेका छन्,’ उनले भने। अर्यालका अनुसार खेतीपाती नभएको, बाँझिएको भीरपाखा होस् वा पाखो बारी सबैतिर खाडल खनेर यो बेला सुन्तलाका बिरुवा लगाउन किसान व्यस्त छन्। त्यसबाहेक जग्गा भाडामा लिएर वा किनेरै पनि अहिले किसानले सुन्तलाका बिरुवा रोपेका छन्।  

‘हातमा ‘क्यास’ आएपछि बल्ल किसानको चेत खुलेको छ कि सुन्तलाले आम्दानी दिन्छ भन्नेमा, जसले गर्दा हेपिएको जग्गाले पनि अहिले माया पाएको छ। भीरपखेरामा समेत सुन्तलाका बिरुवा रोपेर हरियाली बनाउन थालिएको छ,’ उनले भने, ‘बरु अरू खेती नगर्ने, सुन्तला रोप्ने भन्नेमा किसान लागिपरेका छन्।’ सुन्तला उत्पादन बढेपछि अहिले रोजगारी पनि गाउँमै सिर्जना भएको छ। सिजनका बेला त सुन्तला टिप्न यहाँ जनशक्ति नै अभाव पनि हुने गरेको उनले बताए। ‘किसानले पनि धानमकै, कोदो भन्न छाडेर सुन्तला खेती गरेका छन्, युवा पनि बिदेसिन रोकिएर गाउँमै सुन्तला खेतीमै रमाएका छन्,’ उनले भने।

स्थानीय तहको भूमिका  

स्याङ्जाका सबैजसो स्थानीय तहमा सुन्तला खेती हुन्छ। त्यसमा पनि सबैभन्दा बढी योगदान पुतलीबजार नगरपालिकाले दिन्छ। परियोजनाका अनुसार स्याङ्जाको सुन्तला उत्पादनमा झन्डै ३० प्रतिशत हिस्सा पुतलीबजार नगरपालिकाको छ। नगरपालिकाका सबैजसो वडामा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुने गरेको छ।

सुन्तला उत्पादनमा वृद्धि हुँदै जान थालेपछि स्थानीय तहले पनि पछिल्लो समय यही खेतीलाई बढी प्राथमिकता दिन थालेको किसानको भनाइ छ। अगुवा सुन्तला किसान बोधराज अर्याल भन्छन्, ‘बलबुताले भ्याएसम्म स्थानीय तहले सुन्तला उत्पादनमा भूमिका खेलेका छन्। सुन्तला सुपरजोन लागु भएपछि झनै राम्रो भएको छ। स्थानीय तहले पनि अब सुन्तला खेतीको को विकल्प छैन भन्ने बुुझेका छन्। त्यसले गर्दा किसानको साथी बन्न थालेका छन्। यसअघि सडक, खानेपानी, विद्यालय जस्ता भौतिक पूर्वाधारमा ध्यान दिएका स्थानीय तहले अब कृषिमा काम गर्नुपर्छ भन्ने बुुझ्न थालेका छन्।’

‘स्थानीय तहले उत्पादन अनुसारको कृषि क्षेत्रमा ध्यान दिन थालेका छन्। यसअघि विकासका काममा मात्र स्थानीय तहको ध्यान थियो। स्याङ्जामा सुन्तला खेतीले पनि प्राथमिकता पाएको छ,’ उनले भने। स्थानीय तहले बढीजसो बिरुवा वितरणमा ध्यान दिएको उनले बताए। ‘अब त एक पालिकामा एक नर्सरी हुनुपर्छ भनेका छौं। त्यो भयो भने पालिकालाई चाहिने बिरुवा त्यही उत्पादन हुन्छ, बाहिरबाट ल्याउन पर्दैन। स्थानीय तहले त्यत्ति मात्र काम गरिदिने हो भने सहज हुनेछ,’ उनले भने।  

पुतलीबजार नगरपालिकाका प्रवक्ता मनोज पौडेल नगरभित्र युएनडिपीसँगको साझेदारीमा कृषि क्षेत्रमा काम भइरहेको छ। नगरपालिकाभित्र १ करोड ४० लाख नगरपालिका र युएनडिपीले १ करोड १५ लाख रूपैयाँ अनुदान दिनेगरी कृषि क्षेत्रमा काम भइरहेको उनले बताए। यो रकम अर्गानिक कृषि उत्पादन बढाउने योजनामा खर्च भइरहेको छ।  

त्यस्तै नगरपालिकाले मात्र सुन्तला बिरुवा उत्पादन गर्नका लागि झन्डै ३० लाख रूपैयाँ खर्चेर हाइटेक नर्सरी स्थापना गरेको छ। जहाँ सुन्तलाका झन्डै ४० हजार बिरुवा उत्पादन हुँदै छन्। यस्तै ‘एक घर, एक कागती’ विस्तार गर्नेगरी १० हजार ५ सय कागतीका बिरुवा नमुनाका रूपमा रोप्नका लागि किसानलाई आग्रह गरेको उनले बताए। त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका कोभिड प्रभावित १६ जना किसानलाई जनही २ लाख रूपैयाँ दिने र अनुदान पाउनेले ५० हजार रूपैयाँ थपेर कृषि क्षेत्रमा लगाउने योजना छ। केन्द्रीय ससर्त अनुदानबाट सुन्तला खेतीका लागि पोहोर पुतलीबजार–७ मा १४ लाख रूपैयाँ बजेट खर्चेर ६ हजार सुन्तलाका बिरुवा रोपिएकामा अहिले अहिले पुतलीबजार–६ मा १२ लाख रूपैयाँमा ४ हजार बिरुवा रोप्ने तयारी रहेको उनले बताए। किसानलाई ५० प्रतिशत अनुदान दिएर सुन्तला विस्तार परियोजना अघि बढिरहेको उनले बताए।  

‘स्याङ्जाका कुनै पनि स्थानीय तह अब सुन्तला उत्पादनबाट पन्छिन मिल्दैन। कुनै न कुनै रूपमा क्षमताले भ्याएसम्म सुन्तला खेतीलाई प्राथमिकता नदिई सुखै छैन,’ प्रवक्ता पौडेल भन्छन्, ‘अहिले त किसानले भएको वनजंगल फडानी गरेर सुन्तला रोपिरहेका छन्। भीरपाखामा समेत सुन्तला खेती भइरहेको छ। पालिकास्तरबाट सक्दो सहयोग गरेका छौं, किसानलाई कृषिभन्दा विकल्प छैन भन्ने बुुझाएका छौं। जहाँ जे उत्पादन हुन्छ, त्यहीँ उत्पादन नगरी सुखै छैन। स्याङ्जामा सुन्तलाको विकल्प छैन।’

विदेश निर्यात  

स्याङ्जाका अगुवा किसान अर्यालका अनुसार स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनारलाई चीन पठाउने भनेर नेपाल र चीन सरकारबीच सम्झौता पनि भएको हो। तर त्यो कार्यान्वनयमा आएको छैन। चीन निर्यात गर्न पाउने दिन स्याङ्जाले सुन्तला उत्पादनमा झनै फड्को मार्ने उनी बताउँछन्। ‘अहिले त हामीले स्वदेशभित्र मात्र बेचिरहेका छौं। यही उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न पाउने हो भने अझै धेरै कमाउन सकिन्छ। स्याङ्जाका किसान उत्पादनलाई विदेश निर्यात गर्ने दिनको पर्खाइमा छन्,’ उनले भने।  

अहिले नै आन्तरिक खपत हो। अब खाडी मुलुक, भारत र चीनमा निर्यात गर्न सक्ने हो भने यसले जिल्लाको मात्र नभई समग्र मुलुककै आर्थिक गतिविधिमा टेवा दिनेछ।’ सुन्तला बेच्नेबाहेक किसानले अहिले सुन्तलाबाट जाम, वाइनसहितका उत्पादन पनि गर्न थालेका छन्। यतिसम्म कि सुन्तलाको बोक्रालाई समेत उपयोग गर्ने योजना किसानको छ। अहिलेसम्म स्याङ्जाको उत्पादनले स्वदेशभित्रै बजार पाए पनि यसलाई अन्तर्राष्ट्रिय बजारमा पठाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ। ‘बजार अभाव छैन। हामीले स्वदेशमै बेच्न पाएका छौं तर केही गरी अन्तर्राष्ट्रिय बजारमा बेच्न पाउने हो भने यसले किसानलाई अझै हौसला थप्नेछ,’ उनले भने।

प्रकाशित: १९ वैशाख २०८० ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App