धादिङ- भूकम्पपछि जंगलमा शिविर बनाएर बसेका उत्तरी धादिङको दुर्गम गाउँका पीडित अझै गाउँ फर्किन सकेका छैनन्। भूकम्पले जमिन चिरा परेर हिँडडुल गर्न पनि कठिन भएपछि उनीहरू गाउँ फर्कन नसकेका हुन्। जंगलमा शिविरमा बस्दै आएकी चपाङचेतकी रानीजोम तामाङले भनिन्, 'पहिरो झर्न छोडेकै छैन, कसरी फर्किनी गाउँ।' गाउँभन्दा तल र माथिबाट पनि सुक्खा पहिरो झर्ने क्रम नरोकिएको उनले बताइन्।
उनीहरूले बनाएको शिविरको चारैतिर जंगल छ। समथर ठाउँको बोटबिरुवा फाँडेर त्रिपाल र जस्ताले टहरा बनाएका छन्। अन्न थन्क्याउन बुनेको भकारीले टहरा बेरबार गरेका छन्। त्रिपाल र भकारी थोत्रिएर प्वालैप्वाल छन्। भूकम्पपीडित तिनै टहरामा चिसो रात बिताउन बाध्य छन्।
'भूकम्पपछि खेती गर्न सकिएन, पैसा भए पनि किन्ने ठाउँ छैन। हाम्रो त सरकार नै छैन जस्तो छ। सरकार भए त हाम्रो दुःख देख्थ्यो होला नि।'
लापा गाविस २ का तेन्चेत, कचेत, चपाङ र छुम्राङ गाउँका बासिन्दा भूकम्प गएदेखि नै गाउँमाथिको देजुमडाँडा जंगलमा शिविर बनाएर बसेका छन्। शिविर पुग्ने बाटोमा पनि जताततै पहिरो छ। देजुमडाँडा शिविरमा पुग्न गाउँबाट दुई घण्टा पैदल हिँड्नुपर्छ।
घर बनाउने स्थान निश्चित नहुँदा उनीहरू अहिले पनि जंगलमै बस्न बाध्य भएका हुन्। 'गाउँमा अहिले पनि पहिरो चलिरहेकै छ, घर कहाँ बनाउने, के गर्ने, समस्या सुनाएर साध्यै छैन', स्थानीय अगुवा सिलास तामाङले भने।
शिविरमा दिउँसो बालबालिका र वृद्धवृद्धामात्र भेटिन्छन्।
काम गर्न सक्ने बलिया बिहानबेलुकाको खानेकुरा जोहो गर्न कोही भारी बोक्न बेसी झर्ने र कोही ओल्लोपल्लो गाउँमा काम गर्न जाने गरेको स्थानीय टेकबहादुर तामाङले बताए। भूकम्पले जमिनसमेत चिरा परेको र पहिरोको जोखिममा रहेका तेन्चेत, कचेत, चपाङ र छुम्राङका करिब ५० परिवार अहिले त्यही शिविरमा बस्दै आएको तामाङले बताए।
भूकम्पपछि पुनर्निर्माण र पुनर्स्थापनाका लागि जिल्लामा थुप्रै संघसंस्थाले काम गरे पनि त्यहाँ अहिलेसम्म कुनै संस्था नपुगेको स्थानीयको भनाइ छ। गाउँमा खानेकुराको अभाव छ। 'भूकम्पपछि खेती गर्न सकिएन, पैसा भए पनि किन्ने ठाउँ छैन', पीडित भन्छन्, 'हाम्रो त सरकार नै छैन जस्तो छ। सरकार भए त हाम्रो दुःख देख्थ्यो होला नि।'
गाउँभन्दा तलबाट झरेको पहिरोले बस्ती नै तान्ने डरले भूकम्पपीडित शिविर छेउछाउकै जंगल फाँडेर जमिन सम्याउन थालेका छन्। गाउँमा फर्किएर खेती गर्न सक्ने अवस्था नभएपछि जंगलकै छेउमा तरकारी लगाउन ठाउँ बनाउन थालेको झाडी पन्छाउँदै गरेकी एक महिलाले बताइन्।
भूकम्पपछि केही टाठाबाठा सदरमुकामनजिकै धन्सारपाखा शिविरमा आइपुगेका थिए। अहिले उनीहरू पनि गाउँ फर्किएका छन्। सदरमुकाम नजिकको शिविरमा बस्दा खानेकुरा किनेर खाँदा ऋण लाग्न थालेपछि गाउँकै शिविरमा फर्किएको उनीहरू बताउँछन्।
बस्ती सार्ने सरकारी योजना अलपत्र
भूकम्पले चिरा परेको बस्ती सार्ने सरकारी योजना सुनेकाले पनि पीडित गाउँ फर्किएर पुनर्निर्माण थाल्न हिचकिचाएका हुन्। तर, सरकारी योजना एक पाइलो पनि अघि सरेको छैन। पहिरो र जमिन चिरा परेर जोखिमयुक्त बनेका धादिङका सात बस्ती अन्यत्र सार्ने सरकारी निर्णय अलपत्र पर्दा गाउँबस्तीका पीडित अन्योलमा छन्।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले बस्नै नसकिने गरी जमिन भासिएपछि भूगर्भविद्ले अध्ययन गरिएका मध्ये लापा र री गाविसका सात बस्ती तत्काल पुनर्स्थापना गर्न सिफारिस गरेको थियो। बस्तीको चारैतिर पहिरो आएका कारण लापा गाविस वडा नं. २ का चपाङचेत र छुम्राङ, री गाविस वडा नं. ५ का गम्राङ र रिचेत, वडा नं. का ९ किचेत, कराङ र अन्तरबस्ती अति जोखिममा रहेको ठहर गर्दै भूगर्भविद्ले ती बस्ती तत्काल अन्यत्र सार्न गृह मन्त्रालयलाई सिफारिस गरेका थिए। जिल्लास्थित दैवीप्रकोप उद्धार समितिको निर्णय र भूगर्भविद्को सिफारिसबमोजिम गृह मन्त्रालयले बस्ती पुनर्स्थापना गर्ने स्थान र परिवार संख्याबारे तत्काल सिफारिस गर्न पत्राचार गरेको थियो।
हराए भूगर्भविद्
जोखिममा परेका बस्ती सार्ने स्थान अध्ययन गरेर भूगर्भविद्ले नै सिफारिस गर्नुपर्ने भएकाले ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। पुनर्निर्माण प्राधिकरणले बस्ती सार्न सिफारिस भएका सबै स्थानमा एक डेढ महिनाअघि नै भूगर्भविद् पठाइसकेको भनेर पत्राचार गरेको थियो। 'तर, सम्बन्धित बस्तीमा भूगर्भविद् पुगे/पुगेनन्, जानकारी पाइएको छैन', उनले भने।
गाउँमा खटाइएका भूगर्भविद् कहाँ के गर्दै छन् भन्ने जिल्लास्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पर्क कार्यालयका कर्मचारीलाई पनि थाहा छैन। 'भूगर्भविद् फिल्डमा छ या छैन, कुनकुन गाउँबस्तीमा को गएका छन्, केही थाहा छैन', कार्यालयका रविचन्द्र पन्जियारले भने।
प्रकाशित: २५ माघ २०७३ ०५:२८ मंगलबार