६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सुन्दर र स्वस्थ महानगरको उद्घोष

काठमाडौं- काठमाडौं महानगरपालिकाले उपत्यकालाई स्वच्छ र सुन्दर बनाउने कार्यक्रम ल्याएको छ। सोमबार बसेको महानगर २९औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/७५ का लागि बजेट प्रस्तुत गरी उपत्यकाको सौन्दर्यीकरण गर्ने कार्यक्रम उद्घोष गरेको हो।

पाँच अर्ब ३७ करोड १८ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्ताव गर्दै महानगरपालिका प्रमुख तथा कार्यकारीअधिकृत रुद्रसिंह तामाङले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्यीकरणका लागि भन्दै ८१ करोड बजेट समेत विनियोजन गरेको जनाएका छन्।

पछिल्लो समय धुलो, धुँवा, कंक्रिट र अव्यवस्थित फोहोरले उपत्यकाको सौन्दर्य दिनप्रति दिन बिग्रँदै गएको स्थानीयको गुनासोसँगै समाचार आइरहेको छ। महानगरपालिकालाई हरियाली कायम गरी वातावरण समेत स्वच्छ राख्ने भन्दै सौन्दर्यीकरणको क्षेत्रमा लगानी गर्न चाहेको महानगरले जनाएको छ।

‘बजेट योजना तथा कार्यक्रम तर्जुमा गर्दा सहरी सुशासन, प्रवर्द्धन, स्वास्थ्य र सौन्दर्यीकरणसँगै वातावरणमैत्री सहरमा केन्द्रित भएका छौँ,’ कार्यकारी अधिकृत तामाङले भने, ‘वातावरण सरंक्षण, हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्यीकरणका लागि ८१ करोड विनियोजन गरिएको छ।’

महानगरभित्रको पूर्वाधार विकास तथा सार्वजनिक निर्माण क्षेत्रलाई मुख्य मान्दै बजेटको विनियोजन गरिएको तामाङले बजेट वक्तव्य पढेर सुनाउने क्रममा जानकारी दिए। उनका अनुसार महानगरभित्रको सहरी पूर्वाधार तथा सार्वजनिक निर्माण क्षेत्रलाई मात्रै एक अर्ब ६२ करोड ९८ लाख रुपैयँ विनियोजन गरिएको छ। यो महानगरपालिकाले आव ०७४/७५ मा छुट्याएको बजेटमध्ये सबैभन्दा ठूलो रकम हो। सहरी पूर्वाधार विकासले महानगरवासीलाई थप सेवा दिने भन्दै महानगर धेरै बजेट यतातिर विनियोजन गरेको जनाएको छ।

यस्तै, जनस्वास्थ्य सामाजिक विकासको क्षेत्रमा ११ करोड ८० लाख, सम्पदा पुननिर्माण तथा विकासका लागि ४१ करोड २६ लाख, विपत् व्यवस्थापनका लागि ११ करोड ३१ लाख र सूचना तथा सञ्चार प्रविधि सेवा प्रवाहको क्षेत्रमा १० करोड विनियोजन गरेको छ।

त्यसैगरी, गत वर्ष नै सञ्चालित उज्यालो काठमाडौं कार्यक्रमलाई निरन्तरता दिँदै १० करोड, जग्गा एकीकरणका लागि ८१ करोड २५ लाख, टेकुस्थित महानगरको स्टिल स्ट्रक्चरसहितको भवन निर्माणमा ३१ करोड, उपत्यकामा व्यवस्थित वधशाला बनाउन पाँच करोड बजेट विनियोजन गरेको छ।

परिषद्का अवसरमा चालू आवभित्र काष्ठमण्डपको पुनर्निर्माण, एकीकृत बस्ती विकास आयोजना, वागदरबार प्रवलीकरण कार्य भने चालू आर्थिक वर्षभित्र सुरु गरिने महानगरले जनाएको छ।

प्रकाशित: २६ पुस २०७३ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App