आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण ५५ हात लामा लिंगो उठाउने कार्य बिहीबार राति सम्पन्न भएको छ। प्रत्येक वर्षजस्तै भक्तपुर नगरपालिका–५ स्थित ल्योसिंखेलमा ५५ हात लामो लिंगो राति पौने आठ बजे उभ्याइएको थियो। साँझ पाँच बजेदेखि सयौं युवाको सक्रियताले लिंगो उठाउन सफल भएको थियो।
बिस्का जात्राको सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो। जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौं जात्राप्रेमीहरू यो जात्रा पुगेका थिए। जात्रा हेर्न आउनेहरूको भीडकै कारण जात्रास्थल मात्रै नभई जात्रास्थल वरपरको एक किलोमिटरको दुरीसम्म सबैतिरका बाटोमै भीड लागेका थियो।
जात्राको क्रममा ५५ हात लामो लिंगोलाई डोरीको सहायताले तानेर उभ्याइने गर्छ। लिंगो तान्न सयौं युवाहरू स्वतस्फूर्त तयार हुन्छन्। घण्टांैको प्रयासपछि लिंगो उभ्याउन सफल भएका हुन्छन्। ठूलो भएका कारण कुनै वर्ष लिंगो उभ्याउन नसकेका पनि छ। तर पनि भोलिपल्ट उठाइन्छ।
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ यहाँ यसरी नै लिंगो उभ्याउने गरिन्छ। उभ्याइएको लिगोंलाई वैशाख १ गते ढाल्ने गरिन्छ। चैतको मसान्तमा उभ्याइने र वैसाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभ्भिएको हुने बुझाइ छ।
यसअघि बिहान भक्तपुरकै पोटरी स्क्वायरमा सानो हात नभएको लिंगो उभ्याइएको थियो। स्थानीयस्तरमा उभ्याइने यो लिंगो हेर्न पनि सयौं भक्तपुरबासीहरू जात्रा हेर्न पुगेका थिए। साथसाथै भक्तपुरको मध्यपुर थिमि बोडेमा पनि बिहानै हात नभएको लिंगो उठाइएको थियो। तर यी दुवै लिंगोहरू स्थानीयस्तरमा टोलबासीहरू मात्रैमा सीमित हुन्छ भने ल्योंसिंखेलमा उठाइने लिंगो लामो ठूलो भएका कारण त्यो हेर्न भने भक्तपुरभरिकाका साथै ठाउँठाउँबाट हजारांै मानिसहरू हेर्ने पुगेका हुन्छन्।
यसअघि नयाँ वर्ष चार दिनअगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँगै चैत्र २७ गतेबाट जात्रा सुरु भएको थियो।
प्रत्येक वर्ष नयाँवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीन तले भैरबनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।
इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्का जात्रा पूर्वमध्यकालतिर तीनसय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए। तर उपत्यकाको राजनीतिक विखण्डनलगायत विसं १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महŒव गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकलगायतका जिल्लाबाट सयौं मानिस आउने गर्दछन्।
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिरअगाडि नै रहेको यही भैरबनाथको रथ तानेर सम्पन्न हुने गर्छ। यो बेला पनि रथलाई दुवै साइडमा डोरी राखेर तानिन्छ। यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात् देवता (रथ) माथि सवारी हुने भनिन्छ। यसकारण यस दिन माथिल्लो साइडमा ६ वटा र अर्काे साइडमा चारवटा मात्रै डोरी राखिन्छ।
प्रकाशित: १ वैशाख २०८० ०१:५५ शुक्रबार