२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाको निर्णयविरुद्ध वडाका जनप्रतिनिधि आन्दोलनमा

सुनसरीकाे गढी गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै वडा नं. १ का जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु आन्दोलनमा उत्रिएका छन्।

गढी वडा नं. १ मा पर्ने मधेली बजारको सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा भत्काउने गाउँपालिका गरेको निर्णय कार्यान्वयन नभएको विरोधमा जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु आन्दोलनमा उत्रिएका हुन्।

बजार व्यवस्थापन गर्न गाउँपालिकाले २०७७ कार्तिक १८ गते सर्वदलीय बैठक बसी फागुन मसान्तसम्म घर–टहरा हटाउन ३० दिने सूचना जारी गरेको थियो। सो सूचनाको विरोधमा केही स्थानीयले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए। यद्यपि, गाउँपालिकाको पक्षमा फैसला आएको थियो। अदालतको फैसला कार्यान्वयनका लागि गाउँपालिकाले पटक–पटक सूचना जारी गर्दा पनि केही स्थानीयले गाउँपालिका अध्यक्ष आशनारायण चौधरीको संरक्षणमा घर नभत्काएको स्थानीय भद्र नारायण चौधरीले बताए।

वडा कार्यालयको पहलमा सडक क्षेत्राधिकार भित्र पर्ने २८ घर मध्ये नौ वटा घर भत्काए पनि बाँकी घर–टहराहरु हटाउन बाँकी छन्। बाँकी रहेका घर–टहरा हटाउन सुरक्षा निकायहरुसँग समन्वय गरी प्रक्रिया अगाडि बढाई सकिएको अवस्थामा गाउँपालिका अध्यक्ष चौधरीले अवरोध गरेको आरोप लागेको छ।

गाउँपालिकाको गत सोमबार बसेको कार्यपालिका बैठकले बहुमतका आधारमा निश्चित स्वार्थ समूहहरूलाई लाभ हुने गरी बाँकी घर–टहरा भत्काउन अगामी मंसिर मसान्त सम्म म्याद थप गर्ने निर्णय गरेपछि आफूहरू आन्दोलित बन्नुपरेको वडा अध्यक्ष प्रदिप कुमार चौधरीले बताए।

प्रकाशित: ३० चैत्र २०७९ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App