४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

एसियाकै ठूलो अस्पताल बनाउने योजना छ

बलभद्र दास, उपकुलपति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

प्राध्यापक डा. बलभद्रप्रसाद दास धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्। प्रतिष्ठान आर्थिक संकट र बेथितिले लथालिंग भएका बेला उनी उपकुलपति बनेका हुन् । उनलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नियुक्त गरेका हुन्। सप्तरी, धरमपुर निवासी दासले १९९३ मा प्रतिष्ठानको मेडिकल अफिसरबाट सेवा सुरु गरेका हुन्। नालन्दा मेडिकल कलेज, पटनाबाट एमबिबिएस दासले नयाँदिल्लीको एम्सबाट एमडी गरेका हुन्। ०६८ सालमा उपकुलपतिमा नियुक्त दाससँग प्रतिष्ठानका आरोह–अवरोहबारे अजित तिवारीले गरेको कुराकानी : 

उपकुलपति नियुक्त हुनुअघि प्रतिष्ठानको अवस्था कस्तो थियो?

०६०/०६२ सालमा म प्रतिष्ठान अस्पतालको डेपुटी निर्देशकबाट सेवा सुरु गरेको हुँ। ०६३ को जनआन्दोलनताका प्रतिष्ठान पदाधिकारीविहीन थियो। त्यसपछि सरकारले पूर्णचन्द्र कर्माचार्यलाई उपकुलपति नियुक्त गर्‍यो। उहाँले नै मलाई अस्पताल निर्देशकमा नियुक्त गर्नुभयो। त्यो अवधिमा प्रतिष्ठानको अवस्था निकै नाजुक थियो। दैनिक २–३ सय बिरामी उपचार गराउन आउँथे। प्रतिष्ठानका अन्य पदाधिकारी नियुक्त गर्न झन्डै ९ महिना  लाग्यो। प्रतिष्ठान आर्थिक समस्यामा थियो। बैंकबाट ऋण लिएर कर्मचारीको तलब भुक्तान भइरहेको थियो।

प्रतिष्ठानको आर्थिक अवस्था अहिले कस्तो छ?

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भेट्न खोजेको खबर आएपछि काठमाडौं पुगेर उहाँलाई भेटे। डेढ घन्टाको भेटमा उहाँले मलाई सोध्नुभयो, ‘प्रतिष्ठान लथालिंग छ, त्यसलाई बचाउनुपर्‍यो। के तपाईं सक्नुहुन्छ?’ मैले भने, ‘अहँ म एक्लैले सक्दिनँ तर, सबैले सहयोग गर्‍यो भने मसँग प्रतिष्ठानलाई बचाउनेमात्र हैन आर्थिकरुपमा सबल बनाउने योजना पनि छ। सरकारले पनि त्यसमा साथ दिनुपर्छ।’

प्रधानमन्त्रीलाई मेरो कुरा जच्यो। ४२ करोड रूपैयाँ आर्थिक भार, ६ महिनादेखि तलब खुवाउन नसकिएको र लगातारको कर्मचारी आन्दोलनले थिलथिलो बनेको प्रतिष्ठानको उपकुलपतिमा सरकारले मलाई नियुक्त गरेको थियो।

समस्याको पहाड नै थियो। सबैभन्दा पहिले ४२ करोड रुपैयाँ आर्थिक भारबाट प्रतिष्ठानलाई मुक्त गराउनु थियो। मैले कार्ययोजना बनाए। ५० जना एमबिबिएस विद्यार्थी अध्ययन गर्ने प्रतिष्ठानमा त्यसको संख्या १ सय पुर्‍याइयो। १ सय १० जना शिक्षक (डाक्टर) रहेकोमा १ सय ८० मा पुर्‍याइयो। विद्यार्थी संख्या बढेपछि प्रतिष्ठानमा आम्दानीको स्रोत बढ्यो। शिक्षक (डाक्टर) धेरै भएपछि स्वास्थ्य सेवा पनि विस्तार भयो, त्यतातिरबाट पनि आम्दानी हुन् थाल्यो।

त्यति गर्दा प्रतिष्ठानको आर्थिक हैसियत सुधि्रयो त?

यो त प्रतिष्ठानको आम्दानी बढाउने योजनामात्र थियो तर, प्रतिष्ठानमा सेवा–सुविधाको व्यापक दुरुपयोग थियो। इन्धन, साबुन, ग्लोब्स, स्टेसनरी सबै सामानमा लुट थियो। जसले जतिसक्यो लिएर जाने। प्रतिष्ठानको निर्देशक हुँदादेखि नै मलाई यो मन परेको थिएन्। उपकुलपति भएपछि सामानको प्रयोगमा सिलिङ तोकिदिएँ। सानो–सानो कुरामा लिमिट (कटौती) गर्‍यौैं।

स्फ्टवेयर नै बनाएर सामानको दुरुपयोगलाई रोक्यांै। काम नगर्ने, क्लास नलिने, उपचार नगर्नेलाई कडाइ गरियो। प्रतिष्ठान स्वायत्त भए पनि बजेटमा सरकारी कर्मचारीको तलव वृद्धि भएसँगै यहाँका कर्मचारी आन्दोलनमा उत्रिन्थे। कर, कर्मचारी सञ्चय कोष, पेनसन र अनुदानको पैसा समयमा चुक्ता हुँदैन्थ्यो। तलव वृद्धिको मागले प्रतिष्ठान बर्सेनि अस्तव्यस्त हुन्थ्यो। दुई वर्षअघि तलबसम्बन्धी एउटा नीति नै बनाइयो। सरकारी कर्मचारीको तलव वृद्धि होस् वा नहोस, त्यो नीतिअनुसार प्रतिष्ठानका कर्मचारीको तलब बढ्दै जान्छ। अनि बल्ल कर्मचारी आन्दोलन रोकियो। ४२ करोड रूपैयाँ आर्थिक भार प्रतिष्ठानले गत वर्ष नै चुक्त गरिसकेको छ। त्यसयता, कर्मचारीको तलब २०–३० प्रतिशतले वृद्धि भएको छ।

आर्थिक पाटो सुधारमा मात्रै ध्यान दिनुभयो भन्ने आरोप छ नि?

प्रतिष्ठानमा थिति बसेपछि र आर्थिक संकटबाट मुक्त भएपछि स्वास्थ्य सेवा प्रवाहमा पनि सुधार भएको छ। २३ वर्ष अगाडि (सन् १९९३) मा भारत सरकारले ५० जना एमबिबिएस विद्यार्थी पढाउन मिल्नेगरी प्रतिष्ठानको भौतिक पूर्वाधार बनाइदिएको थियो। विद्यार्थीको संख्या बर्सेनि बढेसँगै यहाँ एकेडेमिक ब्लकको अभाव भयो। भारत सरकारकै सहयोगमा प्रतिष्ठानमा सुविधासम्पन्न एकेडेमिक ब्लक निर्माण भयो। डिएम र एमसिएचको पढाइ पनि सुरु गरियो। डिएम र एमसिएच तहको पढाइ यहीं हुन् थालेपछि बिरामीले पनि त्यही लेबलको उपचार पाउन थालेका छन्।

न्युरो सर्जरी र ओपन हर्ट सर्जरी सेवा पनि सुरु भएको छ। दुई वर्षयता प्रतिष्ठान सुपर स्पेस्लिस्ट (अति विशेषज्ञ) सेवा उपलब्ध छ। विशेषज्ञ सेवा दिने डिग्री होल्डर डाक्टर यहाँ कार्यरत छन्। जसले गर्दा प्रतिष्ठानप्रतिको विश्वास र बिरामीको चाप बढेको छ। प्रतिष्ठानमा दुई सय बेडको क्यान्सर सेन्टर, दुई सय बेडकै कार्डियोलोजी सेन्टर र चार सय बेडको चाइल्ड सेन्टर थपिँदैछ। आठ सय बेडको अस्पताल छँदै छ। आठ सय बेड अझैं थपिँदैछ। १६ सय बेडको भएपछि एसियाकै ठूलो अस्पतालमध्येको हुनेछ यो।

तर, प्रतिष्ठानको अन्य भौतिक सम्पति त्यतिकै लथालिंग छ, सदुपयोग गर्ने केही योजना छ?

धरानको छाता चोकमा प्रतिष्ठानको २ बिघा जग्गा छ। त्यहाँ ५ सय बेडकोे पेइङ अस्पताल बनाउने योजना छ। स्वास्थ्यका सबै सेवा उपलब्ध हुने पेइङ अस्पतालमा प्रतिष्ठानकै डाक्टर कार्यरत्त रहनेछन्। काठमाडौंको बाँसवारीमा प्रतिष्ठानको ४ रोपनी जग्गा छ। त्यहाँ व्यावसायिक भवन बनाउने सोच छ। धरानमै प्रतिष्ठानको नाममा जंगल नै छ। त्यहाँ जडिबुटी खेती गर्ने योजना छ। मोरङको कोसीहरैचामा प्रतिष्ठानको आफ्नै सुवर्ण फर्मासिटिकल छ। त्यसलाई सञ्चालनमा ल्याउने तयारी हुँदैछ। यी कामले पनि प्रतिष्ठानलाई आर्थिकरुपमा सबल बनाउनेछ। सरकारकै मुखमात्र ताकेर बस्यो भने संस्था कमजोर हुँदै जान्छ। अब करपोरेट हिसाबले चल्नुपर्छ। प्रतिष्ठान स्वायत्त संस्था भए पनि निजी नभएकाले यसको आर्थिक उपार्जनको स्रोत आफैं जुटाउनुपर्ने बाध्यता छ।

प्रकाशित: १६ पुस २०७३ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App